चिनियाँ विदेशी मन्त्री आइरहेको बेला जसपाको नेता सुमनले भन्नुभयो, ‘हामी चिनियाँ ऋण लिने पक्षमा छैनौ’

काठमाडौँ चैत ५ गते । जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले आफूहरु चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताउनु भएको छ ।
रिर्पोटर्स क्लवमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामी पञ्चशीलको आधारमा सबै विदेशसँगको सम्बन्धलाई स्विकार गर्छौं । सबै देशसँग समान व्यवहार गर्छौं ।’ भारत र चीनसँग विशेष सम्बन्ध रहनुपर्छ भन्नुहुँदै उहाँले भारत र चीन नजिकका छिमेकी हुन्, विश्वमै एउटा उदयीमान शक्ति चीनका विदेशमन्त्रीको नेपाल भ्रमण हुँदैछ, जसपाले उहाँको आगमनलाई विशेष रुपमा लिएको बताउनुभयो ।
भारतजस्तै चीन पनि नेपालको लागि विशेष मुलुक भएको बताउँदै उहाँले भन्नुभयो ‘तर, उहाँहरुको नेपालको राजनीतिमा आन्तरिक हस्तक्षेप नहोस् । चिनियाँ राजदूतले सक्रिय भूमिका खेलेको कुरा अहिले उठेको छ, उहाँले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने कुरा बाहिर आएको थियो, अहिले प्रचण्डले पनि कहीँ कहीँ बोल्न थाल्नुभएको छ, चीनको विदेशमन्त्रीको भ्रमणलाई ईंगित गर्दै यस्तो कुरा बोलिएको छ ।’
दलगत रुपमा चीनसँग विशेष सम्बन्ध हुन्छ । विशेष समबन्ध हुँदैमा कुनै पनि देशको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न नहुने भन्नुहुँदै नेता सुमनले नेपालमा कम्युनिष्टहरुको एउटै पार्टी हुनुपर्छ भन्ने राजदूत यान्छीको भनाई आएको थियो । यो आपत्तिजनक कुरा रहेको बताउनुभयो ।
नेपाल सरकारले परराष्ट्र नीति सही तवरले सञ्चालन गर्नुपर्ने र देशको समृद्धिको लागि सबैले काम गर्नुपर्ने उहाँको भनाई थियो ।
उहाँले नेपालको संसद्मा एमसीसी पारित हुँदै गर्दा चिनियाँ विदेश मन्त्रालयले निकालेका विज्ञप्ती र अभिव्यक्तिलाई आफूहरुले गम्भीर रुपमा लिएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘बीआरआईको ऋणबारे चर्चा छ कि ऋण तिर्न नसकेर कतिपय देश टाट पल्टेका छन् । हेर्नुहोस, नेपालले चीनको ऋण वा सहयोग लिँदा अमेरिकाले हस्तक्षेप गर्न मिल्दैन अनि नेपालले अमेरिकाको एमसीसीको अनुदान लिँदा चीनले पनि हस्तक्षेप गर्न मिल्दैन् ।’
उहाँले आफूहरु चिनियाँ ऋण लिने पक्षमा नरहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी कुनैपनि ऋणको पक्षमा छैनौं । चीनले दिएको ऋण कम ब्याजदरमा छैन् । जसपा त्यस्तो कुनै ऋणको पक्षमा छैन् । बरु अनुदानको कुरा हामीले आफ्नो सार्वभौमसत्तालाई ख्याल गरेर लिनुपर्छ । ऋणको पक्षमा हामी छैनौं ।’

तपाईको प्रतिक्रिया