एकतीरले दुई निशान

नेपाली काँग्रेसले एउटै तिरले दुईटा निशाना लगाएको छ । नेपाल काँग्रेसले सर्वोच्च अदालतको परमादेशबाट सरकारको मात्र नेतृत्व गरेन, देशका दुई शक्तिलाई कमजोर बनाउन सफल पनि भएको छ । काँग्रेसले गठबन्धन बनाएर परिवर्तनकारी शक्ति कम्युनिष्ट पार्टी र मधेशवादी दललाई कमजोर बनाउन सफल भएको छ । विगतमा माआवादी केन्द्र र एमाले मिलेका थिए भने उता जनता समाजवादी पार्टी नेपाल (फोरम) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (राजपा) मिलेका थिए । यी दुई शक्ति एक अर्कासँग मिलेको कारण नेपाली काँग्रेस कमजोर भएको थियो ।

जसरी यसपाली गठबन्धन बनाएर एमालेलाई एक्लाइएको छ त्यसरी नै गतवर्षको चुनावमा काँग्रेसलाई एक्लाइएको थियो । त्यही कारणले काँग्रेस निकै कमजोर भएको थियो । यति कमजोर भयो कि न संघमा सरकारमा हिस्सेदार बन्न सकेको थियो न कुनै प्रदेशमै । एमाले र माओवादीको वाम गठबन्धनका कारण सात प्रदेशमध्ये ६ वटा प्रदेशमा कम्युनिष्टको सरकार थियो भने जसपा र लोसपाको गठबन्धन हुँदा मधेश प्रदेशमा सरकार बनाउन सफल भएको थियो । तर अवस्था यस्तो सृजना भयो कि अहिले काँग्रेसले दुईटा प्रदेशको नेतृत्व गर्न सफल भएको छ । संघीय सरकारमा एकलौटी रुपमा सरकारी नियुक्तिहरु गरेका छन् । देश काँग्रेस भएको छ । जब कि एमाले र माअ‍ोवादी गठबन्धनले कम्युनिष्टको दुई तिहाई सरकार बनेको थियो । तर काँग्रेसले यस्तो दाउ चाल्यो र सबै भताभुङ भयो ।

एमाले र माओवादी मिल्यो भने यसपटक पनि कमजोर हुने भनि बुझेर नै काँग्रेसले जोड दिएर गठबन्धन बनाएको हो । गगन थापा, विमलेन्द्र निधि, शेखर कोइराला लगायतका केही नेताहरुले गठबन्धन बनाउन चाहनु भएको थिएन । तर विगतको उदाहरण दिएर पार्टीका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरवहादुर देउवाले गठबन्धन गरेन भने विगतभन्दा पनि बुरा हाल हुने, कोही पनि जित्न सक्दैन, पार्टी तेस्रो, चौथो पोजिसनमा गएर बस्छ भन्दै जोडबल गरेर गठबन्धन बनाउन लगाउनु भयो ।

यदि काँग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरेको भए पुनः एमाले–माआवादी केन्द्र गठबन्धन बन्ने खेल सुरु भइसकेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीबीच आन्तरिक रुपमा छलफल पनि सुरु भइसकेको थियो । यो कुरा थाह पाएर प्रधानमन्त्री देउवाले आफ्नो व्यक्तिगत दवाव दिएर भएपनि गठबन्धन बनाउनु भयो ।

त्यस्तै, जसपा र लोसपालाई मिल्न नदिन काँग्रेसको ठूलो भूमिका रहेको छ । काँग्रेसको शक्ति भनेको मधेश हो । जबजब मधेशमा काँग्रेसको कम मत आउँछ अनि देशैभरि कमजोर हुन्छ । काँग्रेसले जब मधेशमा बलियो हुन्छ अनि देशकै ठूलो पार्टी बन्छ । जबजब मधेश केन्द्रीत दलहरु गठबन्धन गर्छन् तबतब काँग्रेस कमजोर हुन्छ ।

जब ती दलहरुको बीचमा फुट हुन्छ तब काँग्रेस बलियो हुन्छ । यो सुत्र काँग्रेसले थाह पाइसकेको छ । त्यही भएर यसपटक कुनै पनि हालतमा जसपा र लोसपालाई मिल्न दिएको छैन । काँग्रेस यतिसम्म चलाक भएको छ कि माओवादी–एमाले बीचमा झगडा लगाएर आफू माओवादी केन्द्रसँग मात्र होइन, एमालेसँग पनि सम्पर्क बनाएको छ । त्यस्तै जसपा–लोसपा बीचमा झगडा लगाएर आफू जसपासँग मात्र होइन, लोसपासँग पनि सम्पर्क बढाएको छ । काँग्रेसले एकातिर माओवादी–एमाले गठबन्धन बन्न नदिन माओवादीलाई च्यापेको छ भने अर्कोतिर जसपा–लोसपा गठबन्धन बन्न नदिनका लागि जसपालाई च्यापेको छ ।

यिनिहरु एक आपसमा नमिलेसम्म काँग्रेस बलियो हुन्छ भने कुरा निश्चित छ । काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बीच एकीकरण भएको छ । अलिअलि सीटमा यी सबै दललाई फाइदा भएपनि समग्रमा सबभन्दा बढी फाइदा काँग्रेसलाई हुने भएको छ । जति फाइदा एमाले–माओवादी गठबन्धन बनाएर यी दुई दललाई फाइदा हुन्थ्यो त्यति फाइदा काँग्रेससँग गठबन्धन गरेर हुँदैन ।

जति फाइदा जसपा–लोसपा गठबन्धन गरेर हुन्थ्यो त्यति फाइदा काँग्रेससँग गरेर हुँदैन । तर एमालेलाई हराउन माओवादी केन्द्र र लोसपालाई हराउन जसपाले काँग्रेसलाई समातेको छ । यी दुवै दललाई तत्कालको इख रहेको छ । माओवादी र एमाले भर्खर भर्खर अलग भएका छन्, त्यही भएर एक अर्काको विरोधी भएका छन् । त्यस्तै जसपा र लोसपा भर्खर भर्खर अलग भएका छन्, त्यही भएर एक अर्काको विरोधी भएका छन् । र त्यसको फाइदा काँग्रेसले लिइरहेको छ । ‘फुट डालो और राज करो’ यसैलाई भन्छ तर माओवादी र जसपाले यो कुरा बुझेको छैन । चुनावको परीणाम पछि मात्र यो यी कुरा छर्लङ हुन्छ ।

तपाईको प्रतिक्रिया