श्रीमननारायणले गरे प्रदेशसभाका लागि उम्मेदवारी घोषणा

काठमाडौँ जेठ २१ गते । मधेशवादी दलमा लामो समयसम्म सक्रिय राजनीति गरेर पछिल्लो समय निस्कृय रहनु भएका श्रीमननारायण मिश्र प्रदेशसभा सदस्यका प्रत्यक्षमा चुनाव लड्ने घोषणा गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुकमा भन्नुभएको छ, ‘३२ वर्ष भन्दा पनि लामो सक्रिय राजनीतिक यात्रा पश्चात् पहिलो पटक यसपालि रौतहटको आफ्नो गृह निर्वाचन क्षेत्रबाट प्रत्यक्ष मै चुनाव लडने निस्चय गरेको छु।सबै महानुभावहरुसित आशिर्वाद, स्नेह, शुभकामना, सहयोग, समर्थन, सुझाव एवम सदभावको निम्ति हार्दिक आग्रह गर्दछु ।’

राजनीतिबाट निस्कृय भएर उनी लेख रचना तथा अनुसन्धानमा सक्रिय हुनुहुन्छ । विभिन्न अनलाइनदेखि राष्ट्रिय दैनिक पत्रिकाहरुमा उहाँको लेखहरु प्रकाशन भइरहेका छन् । यसैक्रममा उहाँले आफू चुनाव लड्ने घोषणा गर्नुभएको छ । फेसबुकमा यस्तो घोषणा आइसकेपछि सहारा टाइम्सले श्रीमननारायण मिश्रसँग सम्पर्क गर्दा उहाँले रौतहटको क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षमा लड्ने सोच बनाई सकेको छु त्यसको तयारीमा लागेको प्रतिकृया दिनुभयो ।

यद्यपी उनी कुन पार्टीबाट चुनाव लड्ने भनि घोषणा गर्नुभएको छैन । लामो समय मधेश राजनीतिमा काम गरेका लेखक मिश्र पछिल्लो समय ह्रदयश त्रिपाठीले गठन गरेको जनता प्रगतिशिल पार्टीमा उहाँ आवद्ध हुनुभएको छ । तर त्यही पार्टीबाट चुनाव लड्ने कि अन्य कुनै पार्टी वा स्वतन्त्र लड्ने त्यो कुरा खुलाउनु भएन । उहाँले भन्नुभयो, ‘अहिले म जनता प्रगतिशिल पार्टीसँग आवद्ध छु, सम्भवत त्यही पार्टीबाट चुनाव लड्छु नभए अरु कुनै पार्टी वा स्वतन्त्र पनि लड्नसक्छु तर अहिलेसम्म प्रगतिशिल पार्टीबाट नै सम्भावना देखिएको छ ।’

उहाँ नेपाल सद्भावना पार्टीबाट लामो समय राजनीतमिा सक्रिय हुनुहुन्थ्यो । नेपाल सद्भावना पार्टी विभिन्न टुक्रामा विभाजित हुन थालेपछि उहाँ विरक्तिएर पार्टी छाडेर स्वतन्त्र बन्नुभएको थियो । उहाँ कुनै पार्टीमा सक्रिय हुनुहुन्थेन ।

रौतहट क्षेत्र नम्बर १ बाट लोसपाका कार्यकारिणी सदस्य अनिलकुमार झाले चुनाव जित्नु भएको हो भने क्षेत्र नम्बर १ (ख) मा अहिले जसपाबाट योगेन्द्रराय यादवबाट प्रदेशसभा सदस्यमा चुनाव जित्नु भएको हो । यद्यपी योगेन्द्र राय यादवको घर क्षेत्र नम्बर १ को (ख) मा पर्दैन । गत चुनावमा तत्कालिन संघीय समाजवादी पार्टी फोरम र राजपाबीच चुनावी गठबन्धन हुँदा योगेन्द्र राय यादवको भागमा क्षेत्र नम्बर १ को (ख) परेको थियो । श्रीमननारायण मिश्र लामो समय अनिल झाको साथमा रहेर काम गर्नुभएको हो । तर दुईजनामा कुरा नमिल्दा श्रीमननारायणले अनिल झाको साथ छाड्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया