लोसपाका लागि एमालेसँग सहज छैन गठबन्धन

एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन हुने भनि अहिले राजनीतिक चर्चाले ठाउँ लिएको छ ।

पाँच दलीय गठबन्धनसँग कुरा नमिलेपछि लोसपा एमालेसँग चुनावी तालमेलका लागि कुरा अगाडि बढाएको सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताउनु भएको छ ।

पाँच दलीय गठबन्धनमा नलिने तर तीनवटा सिट दिएर आफूसँग राख्ने काँग्रेसले प्रस्ताव गरेपछि लोसपा बिच्किएर एमालेतिर लागेको हो । गठबन्धन गर्ने भनि दुवै दलबीच सैद्धान्तिक सहमति पनि भइसकेको नेता महतोले विभिन्न सञ्चारमाध्यमलाई जनाउनु भएको छ ।

एमाले–लोसपाबीच गठबन्धन हुने लगभग निश्चित छ । कुन प्रकृया र आधारमा गठबन्धन बनाउने त्यसका लागि दुवै पार्टीबीच एउटा कार्यदल बनाउने सहमति भएको पनि भएको छ ।

अगामी चुनावका लागि समानुपातिक उम्मेदवार छनौट गर्नुपर्ने भएका हुनाले अहिले दुवै पार्टीबीच वार्ता र संवाद टुगिंएको छ । तर केही दिन पहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा दिनुभएको एक भाषणले लोसपासँग गठबन्धन गर्न कठिन रहेको संकेत गर्नुभएको छ । लोसपाकै नेताहरुलाई धमाधम आफ्नो पार्टीमा भित्र्याउन थालेपछि गठबन्धन बन्नेमा शंका छ तर लोसपाका नेताहरुले एमालेसँग गठबन्धन हुने सम्भावना अझै कायम रहेको बताउनुभयो ।

चुनावमा एमालेसँग गठबन्धन गर्दा लोसपालाई कति सहज हुन्छ भनि प्रश्न मधेशमा उठेको छ । मधेश आन्दोलनदेखि नै मधेश र एमालेको सम्बन्ध राम्रो छैन । पछिल्लो समय नागरिकता विधेयकको विषयमा लिएको अडानका कारण मधेशमा एमालेप्रति नाकारात्मक सोच बन्दै गएको छ । यसअघि पनि मधेश आन्दोलनको क्रममा मधेश बारे गरेको टिप्पणीका कारण एमाले बदनाम थियो ।

स्थानीय चुनाव र त्यसअघि लोसपासँग गरेको सहकार्यका कारण मधेशमा एमालेले स्पेश पाएको थियो । पछिल्लो समय नागरिकता विधेयकको बारेमा लिएको अडानका कारण एमालेको बारेमा नकारात्मक टिप्पणी भइरहेको छ । त्यस अवस्थामा एमालेसँग गर्ने गठबन्धनले लोसपालाई कति फाइदा हुन्छ त्यसको बारेमा मधेशमा टिप्पणी सुरु भएको छ ।

एमाले लोसपाका शक्ति
एमाले र लोसपाबीच खासगरि मधेश प्रदेशमा गठबन्धन हुनेछ । लोसपाको देशैभर संगठन छैन । मधेश प्रदेशसहित प्रदेश–१ र लुम्बनी प्रदेशमा पनि जसपाको समान्य संगठन रहेको छ । स्थानीय चुनावमा प्रदेश–१ मा लोसपाले एउटा वडा मात्र जितेको छ ।

लुम्बनी प्रदेशमा लोसपाले रुपन्देही र कपिलवस्ुतमा एक–एक गरी दुईवटा पालिका जितेको छ । रुपन्देहीमा ११ वटा, कपिलवस्ुतमा तीनवटा र नवलपरासी (वर्दघाट सुस्तापश्चिम) मा एउटा वडा गरी लुम्बनी प्रदेशमा लोसपाले १५ वटा वडा जितेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा लोसपा शुन्य छ । यी प्रदेशमा लोसपा संगठनदेखिए पनि भोटमा त्यसको प्रभाव छैन ।

यस हिसाबले एमाले र लोसपाबीच पूर्णरुपमा मधेश प्रदेशमा संगठन हुने देखिएको छ । मधेशमा लोसपाले सिट बाँडफाँट गरेपनि अन्य प्रदेशमा एमालेलाई नै सघाउने सो पार्टीका एक नेताले बताउनु भयो ।

लोसपाले प्रदेश–१ र लुम्बनी प्रदेशमा पनि एक–एकवटा सीट प्रतिनिधिसभा र प्रदेशसभामा दावी गरेको स्रोतले जनाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, चन्दा चौधरी, अकवाल मियाँ, शेखरकुमार सिंह, विमल श्रीवास्तव, सुरिता साहलगायतका नेताहरु सबै मधेश प्रदेशकै हुनुहुन्छ ।

सर्वेन्द्रनाथ सुक्ला, अकवाल अहमद लुम्बनी प्रदेशका हुन् । यी सबै प्रत्यक्षबाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ । एमालेसँग गठबन्धन गर्दा यी सबै नेतालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

२०७४ को प्रतिनिधिसभाको चुनावलाई आधार मान्ने हो भने मधेश प्रदेशमा लोसपा एमालेभन्दा निकै बलियो देखिन्छ । मधेश प्रदेशको ३२ वटा सीटमध्ये एमालेले २ (सिरहा र धनुषामा एक एक सीट) वटा सीट मात्र प्रत्यक्षमा जितेको थियो भने लोसपा (तत्कालिन राजपा) ले ९ वटा सिट जितेको थियो । चुनावपछि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीको नेतृत्वमा सरकार बन्यो ।

ओलीले तीन वर्ष प्रधानमन्त्री भएर सरकार चलाउनुभयो । त्यतिबेला उहाँले मधेशवादी दलसँग सम्बन्ध राम्रो बनाएर मधेश प्रवेश गर्न सफल हुनुभएको थियो । त्यसैको नतिजा हो स्थानीय चुनावमा एमालेले मधेशवादी दलभन्दा राम्रो नतिजा ल्याउन सफल भयो ।

२०७९ को स्थानीय चुनावलाई आधारमा मान्ने हो भने लोसपाभन्दा एमाले निकै बलियो देखिएको छ । पालिका प्रमुख, अध्यक्ष र वडा अध्यक्षमा जितेकालाई आधार मान्दा मधेश प्रदेशमा एमालेले ३० वटा पालिका र २७४ वडा जितेको छ भने लोसपाले १४ पालिका र ८७ वटा वडा मात्र जितेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तहको परिणामका आधारमा मधेश प्रदेशको आठवटा जिल्लामध्ये लोसपा महोत्तरीमा मात्र एमालेभन्दा बलियो देखिन्छ । महोत्तरी लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य चन्दा चौधरीको गृह जिल्ला हो । उहाँहरु त्यहीबाट चुनाव जित्नु भएको छ ।

महोत्तरीमा एमालेले १८ वटा वडा जितेको छ भने लोसपाले ३१ वटा वडा जितेको छ । एमालेले त्यहाँ एउटा मात्र पालिका जितेको छ भने लोसपाले पाँच पालिका जितेको छ । त्यसबाहेकका अन्य जिल्लामा एमाले नै बलियो देखिएको छ ।

सप्तरीमा एमालेले तीनवटा पालिका र २४ वटा वडा जितेको छ भने लोसपाले पनि तीन पालिका र तर वडा १२ वटा मात्र जितेको छ । सिरहामा जहाँ लोसपा शुन्य छ, त्यही एमालेले ४८ वटा वडा र नौवटा पालिका जितेको छ ।

सिरहा मधेश आन्दोलनको उद्गमस्थल मानिन्छ । धनुषामा लोसपा नौवटा वडामा मात्र सिमित भएको छ । धनुषा–३ बाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभाको सदस्यमा चुनाव जितेका छन् । एमालेले त्यहाँ तीनवटा पालिका र ३७ वटा वडा जितेको छ ।

सर्लाही वरिष्ठ नेता महतोको गृह जिल्ला हो । यसअघि लोसपा अध्यक्ष महन्थ ठाकुर पनि त्यहीबाट चुनाव लड्दै आउनुभएको छ । तर त्यहाँ पनि एमाले बलियो देखिन्छ ।

त्यहाँ एमाले र लोसपाले एक–एक वटा पालिका जितेका छन् भने एमालेले ३४ वटा वडा र लोसपाले १५ वटा वडा जितेका छन् । रौतहटमा एमालेले तीनवटा पालिका र ३४ वटा वडा जितेको छ भने लोसपाले दुई पालिका र आठवटा वडा मात्र जितेको छ ।

रौतहट जिल्ला लोसपाका कार्यकारिणी सदस्य अनिलकुमार झाको गृह जिल्ला हो । बारा जिल्लामा एमालेले पाँचवटा पालिका र ४९ वटा वडा जितेको छ भने लोसपा दुईटा पालिका र नौवटा वडा मात्र जितेको छ ।

त्यस्तै पर्सामा एमालेले ३० वटा वडा र पाँचवटा पालिका जितेको छ भने त्यही लोसपाले तीनवटा वडा र एक पालिकामा सिमित भएको छ । लोसपाका कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तवको गृहजिल्ला हो पर्सा । उनीहाँ त्यहीबाट चुनाव पनि जित्नु भएको हो ।

गठबन्धन बनेपछि सिट बाँडफाँट गर्दा २०७४ को चुनावलाई आधार मान्यो भने लोसपाको उपस्थिति बलियो देखिन्छ । तर त्यही हालै सम्पन्न स्थानीय तहको चुनावको परिणामलाई आधार मान्ने हो भने एमाले बलियो देखिन्छ ।

यी दुवै चुनावलाई आधार मानेर बीचको बाटो निकाल्दै एमाले र लोसपाले सहमति गर्दै अगाडि बढ्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया