जसपाले गर्यो मधेश प्रदेशमा विधान संशोधनको मस्यौदामाथि छलफल (फोटो फिचर)

काठमाडौँ चैत ११ गते । जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आफ्नो पार्टीको विधान संशोधनको मस्यौदामाथि छलफल सुरु गरेको छ ।
मधेश प्रदेश समितिले गरेको कार्यक्रम आयोजनामा विधान संशोधनका लागि तयार पारेको मस्यौदामाथि नेता तथा कार्यकर्ताहरुले आआफ्नो धारणा राखि रहेका छन् ।
पार्टीको विधान अधिवेशन चैत २६ गतेदेखि हुने भएको छ । त्यसैको तयारीका लागि प्रदेश तथा जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रमहरु सुरेको छ । प्रदेश तथा जिल्लाहरुबाट विधानमाथि सुझाव आइसकेपछि विधान अधिवशेनमा प्रस्तुत गरिने बताइएको छ ।

पार्टीले तयार पारेको विधानको मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ भने हालको विधानमा ७०१ सदस्यीय कार्य समिति रहेको छ । विधान मस्यौदामा त्यसलाई घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएको छ ।

चैत २६, २७ र २८ गतेका लागि विधान अधिवेशन बोलाइएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान तयारी समितिले मस्यौदा अध्ययनका लागि पार्टीका अन्य निकायलाई चैत १ गते नै पठाई सकेको छ ।

सो मस्यौदामा नेताहरुको उमेर निश्चित गरेको छ । मस्यौदाअनुसार केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गर्दै ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी पार्टी सदस्य सँख्याको अनुपातमा मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, खस आर्य, मुस्लिम र अल्पसँख्यक समुदाय जातीय, सामाजिक समूहहरुबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरु निर्वाचित हुने भनि मस्यौदामा उल्लेख छ ।

विधानबाट पहिचानका राष्ट्रिय समिति हटाइने प्रस्ताव गरिएको छ । पार्टीमा मधेश राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, किराँत राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, थारुवान राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति र शिल्पी दलित राष्ट्रिय समिति रहेका छन् । नयाँ बन्ने विधानमा यो राष्ट्रिय समिति नरहने देखिएको छ । मस्यौदामा यसको व्यवस्था नै छैन । त्यस्तै संघीय परिषद्को व्यवस्था पनि हटाउने भएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण गरी समाजवादी पार्टी बनाएपछि संघीय परिषद्को संरचना बनाएर भट्टराईलाई त्यसको अध्यक्ष बनाइएको थियो ।

भट्टराई पार्टी छाडेर गएपछि अहिले संघीय परिषद्को अध्यक्षमा अशोक राइ छन् । विधानको मस्यौदा अनुसार अब संघीय परिषद्लाई पार्टीको संरचनाबाट हटाउने भएको छ ।

तपाईको प्रतिक्रिया