सहारा टाइम्स
बारा कात्तिक १४ गते
बारा कात्तिक १४ गते
बारा जिल्लाको कलैयास्थित करण राज प्यालेसमा सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामाजिक अभियन्ता सञ्जय यादवको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा मधेश आन्दोलनको इतिहास, उपलब्धि, चुनौती तथा आगामी दिनमा मधेशले लिनुपर्ने बाटोका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले मधेशको एजेण्डा यो सरकारले पुरा गरेन भने मधेशी युवाले कसैको मुख नताकी आफै मधेशको नेतृत्व लिनु पर्ने कुरामा जोड दिनु भयो । त्यस्तै मधेश प्रदेशका पूर्व सांसद विक्की यादवले मधेशको विकल्प मधेश नै भएको तथा मधेशको लागि ओली सरकार र बालेन सरकारमा कुनै फरक नभएकोले अब मधेशी युवागरूले आ-आफ्नो ठाउँबाट नेतृत्व लिनु पर्ने तथा मधेशी राजनीतिमा पनि पुस्तान्तरण हुनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा समाजिक अभियन्ता अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलन पछि देश कै राजनीति परिवर्तन भएको तथा पुराना दल तथा नेतृत्वको विश्वसनीयता कमजोर भएको अवस्थामा मधेशको माग पुरा गराउन मधेशी युवाले सरकारलाई दबाव दिनु पर्ने तथा माग पुरा नभए अब मधेशको नेतृत्व नया मधेशी युवाहरूले संगठीत भई लिनु पर्ने कुरामा जोड दिनु भयो । वहाँले अब मधेशमा मधेशी युवाहरूले मधेशी राजनीतिलाई पुनर्जीवित, पुर्नगठीत र पुर्नपरिभाषित गर्न संगठीत हुनु पर्ने कुरा उठाउनु भयो ।

त्यस्तै अभियन्ता ओमप्रकाश चौधरीले मधेश नै आधार क्षेत्र रहेको नेपाली काँग्रेसको महाधिवेशनमा कुनै पनि मधेशी जनजाति दलितले खुलामा चुनाव लड्न र जित्न साहस नगरेकोले मधेशी राजनीति मधेशीले नै गर्नु पर्ने कुरामा जोड दिनु भयो । वहाँ अब पुराना मधेशी नेताको ठाउँमा नयाँ अनुहारलाई प्रोत्साहन गर्नु पर्ने कुरा बताउनु भयो । स्थानीय महिला नेतृ हिरमति कुशवाहाले मधेशमा पनि स्वच्छ छविको नेताको आवश्यक्ता रहेकोले युवाहरू अगाडि आउनु पर्ने कुरामा जोड दिनु भयो ।
समाजिक अभियन्ता सौरभ चौगाईंले सबै भन्दा बढी जनसंख्या रहेको मधेशले सबै भन्दा बढी शिक्षक, डाक्टर तथा इन्जिनियर उत्पादन गरे पनि मधेशमा राम्रो विद्यालय, मेडिकल तथा इन्जिनियरींग कलेज नरहेकोमा दुःख व्यक्त गर्दै अब नयाँ पुस्ताले मधेशको नेतृत्व लिदै अबको बाटो समाजिक न्याय, सुशासन सहित विकास भएको बताउनु भयो ।
शहीद हिफाजत मियाँ अन्सारीकी श्रीमती शोभा राजवंशी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य शहीद परिवारका आमा-बुवा तथा परिवारका सदस्यगणलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा राजेश पटेल, सनी जयसवाल, अधिवक्ता प्रेम चौधरी, रामचन्द्र यौधरी, प्रभु पटेल, राधिका न्यौपाने, श्याम गुप्ता, जगत कुशवाहा लगायत दर्जनौ वक्ताहरूले मधेशले बारम्बार आन्दोलन गरी सयकडौं मधेशी शहीदहरूले सहादत दिए पनि शहीदको सपना अहिले पनि साकार नभएको तथा वर्तमान सरकारले पनि मधेश आन्दोलनको जगमा स्थापित संघीयतालाई पनि धारापमा पार्ने षडयन्त्र भइरहेकोले मधेशी जनता सजग हुनु पर्ने बताउनु भयो ।
अधिकांश वक्तागले सरकारले गर्दा रोटीबेटीको सम्बन्ध रहेको भारतसँग जोडिएको सीमा नाकाबाट सामान्य खाद्यान्नसमेत ल्याउँदा सर्वसाधारण मधेशी जनताले दुःख र सास्ती भोग्नुपरेको तथा राज्यका विभिन्न प्रतिबन्धका कारण सीमावर्ती जनजीवन प्रभावित भएको विषय उठाइएको थियो।
त्यसैगरी मधेश आन्दोलनका सहिदहरूको राज्यबाट अपेक्षाअनुसार सम्मान र कदर हुन नसकेको तथा मधेश सरकारले समेत मधेशी शहीदहरूको रगतलाई भजाई भ्रष्टाचारमा लिप्त भएकोले मधेशमा शुन्यमा झरेको कुरा अधिकांश वक्ताहरूले स्मरण गराउनु भयो तथा अब पुराना मधेशी दल तथा नेतृत्वमाथि जनताको भरोसा नहरेकोले नयाँ मधेशी युवाहरूले संगठीत रूपमा मधेशको नेतृत्व लिनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा मधेशका कलाकारहरूले साँस्कृतिक कार्यक्रम मार्फत मधेश आन्दोलनका विभिन्न झाकी प्रदर्शन गरेका थिएँ ।

तपाईको प्रतिक्रिया