उपेन्द्र यादवलाई सप्तरी मोह !

जनता समाजवादी पार्टी नेपालकाव अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा चुनाव हारेपछि सप्तरीप्रति उहाँ निकै कठोर बन्नुभएको थियो । चुनाव हारेपछि जनतालाई धन्यवाद दिन समेत जानु भएन । सप्तरीबाट काठमाडौँ फर्किनु भएका उपेन्द्र यादव कहिले सप्तरी फर्केर जानुभएन । उहाँले सप्तरीको नाम पनि सुन्न चाहनु भएको थिएन । तर बारा–२ को उपनिर्वाचनबाट चुनाव जितेपछि उहाँमा सप्तरी–२ प्रति एकाएक मोह जागेर आयो । यो मोहलाई सप्तरीबासीले अनौठो रुपमा लिनुभएको छ ।
बैशाख १२ गते आफू चुनाव जितेको परिणाम सुनि सकेपछि थप पाँच दिन त्यही रहेर बाराका मतदातालाई भेट्नु भएका उपेन्द्र यादव अन्तिम दिन कलैयामा चाँदीको मुकुट लगाएर सिधै सप्तरी पुगेर गजेन्द्र नारायण सिंहको सालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यसपछि उहाँले मधेश आन्दोलनमा सहिद भएका सहिदहरुलाई मल्यार्पण गर्नुभयो । सप्तरीमा उपेन्द्र यादवको यस्तो स्वागत र सत्कार प्राप्त भयो मानौं उहाँ बाराबाट होइन सप्तरीबाट नै चुनाव जित्नुभएको हो ।
चुनावमा पराजित भएर काठमाडौ आउनु भएका उपेन्द्र यादव बारा–२ बाट चुनाव जितेर एकैपटक सप्तरी जानुले दुईटा संकेत गर्दछन् । ‘पहिलोः सप्तरीवासीले मलाई चुनाव हराए पनि चुनाव जिताएर देखाई दिए । दोस्रोः सप्तरीबाट चुनाव हारेपनि अगामी निर्वाचनबाट पुनः यहींबाट चुनाव जितेर देखाई दिन्छु ।’ पहिलो संकेत स्पष्ट रुपमा आएको छैन तर दोस्रो संकेत उपेन्द्र यादवले दोस्रो पटक सप्तरी पुगेर आफै स्पष्ट गर्नुभएको छ ।
बैशाख १८ गते सप्तरीबाट काठमाडौँ फर्किनु भएका उपेन्द्र यादव बैशाख १९ गते प्रतिनिधि सभा सदस्यको रुपमा सपथ लिनुभयो । ४–५ दिन राजनीतिक भेटघाट तथा गठबन्धनको बैठकहरुमा सहभागी हुनुभएका उहाँ बैशाख २७ गते पार्टीको कार्यकारिणी समितिको बैठक सकाएर उहाँ सिमरा एयरपोर्ट हुँदै पर्सा पुग्नुभयो । त्यसको भोलीपल्ट बाइरोड उहाँ जनकपुर पुग्नुभयो । पार्टीका बैठकहरु सकाएर भोलीपल्ट पत्रकार सम्मेलन गरी सिरहा हुँदै सप्तरी पुग्नुभएका उपेन्द्र यादवलाई त्यहाँ जसपाका नेताहरुले बारामा चुनाव जितेका अवसरमा बैशाख ३१ गते सम्मान गर्नुभएको थियो ।
पर्साबाट बारा हुँदै जनकपुर र जनकपुरबाट सिरहा हुँदै सप्तरी पुग्नुभएका उपेन्द्र यादव बारा जानु भएन । जबकी बाराका जनताले ताजा ताजा उहाँलाई त्यहाँबाट चुनाव जिताएको हो । तर बारा नगएर जहाँबाट दोब्बर भन्दा बढी मतले हार्नुभएको सप्तरी पुग्नु भयो जहाँ बारा जितको खुशीयाली मनाइयो ।
उहाँ डेढ हप्ताको भित्रमा दुई पटक सप्तरी पुग्नुभयो । र, उहाँ त्यहाँ पुगेर यसअघिको संसदीय कार्यकालमा निर्माण गराउनु भएको कृषि विश्व विद्यालयको पठन पाठनलाई शुभारम्भ गराउनुभयो । पटक पटक सप्तरी पुगेर उहाँले स्पष्ट संकेत दिनुभएको छ कि २०८४ को संसदीय चुनाव सप्तरी–२ बाट नै लड्ने हो । ‘राजनीति एउटा खेल जस्तै हो । खेलमा खेलाडीहरुको बीचमा तालमेल नमिलेपछि जस्तोसुकै राम्रो खेलाडी भएपनि खेल हार्छन् भन्दै उपेन्द्र यादवले २०७९ मंसिरमा भएको चुनावमा दलका केही नेताहरुको बीचमा तालमेल नमिलेको कारण चुनाव हारेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘टिमको तालमेल मिलाउन अभ्यास गरेपछि पुनः जित्न सकिन्छ यो कुनै ठूलो कुरा होइन, संगठनात्मक सुधार हुन जरुरी छ चुनाव फेरि जित्न सकिन्छ ।’ अर्थात उहाँले समान्य त्रुटीका कारण चुनाव हारिएको हो, त्यसलाई सुधार गर्न सकियो भने चुनाव पुनः जित्न सकिन्छ भनि आफू पुनः यहाँ चुनाव लड्न आउने स्पष्ट संकेत दिनुभको त्यहाँका नेताहरु बताउनु हुन्छ ।
जसपाका एक जना जिल्ला समितिका सदस्यले भन्नुभयो, ‘बारामा चुनाव जितेपछि उपेन्द्र यादव सप्तरी दुई पटक आइपुग्नुभयो । जब कि उहाँ चुनाव हारेपछि ६ महिनासम्म सप्तरी आउनु भएन, सप्तरीको नाम पनि उहाँले लिनुभएको थिएन, सप्तरीको मान्छेलाई हेरेपछि उहाँलाई रिस उठ्थ्यो तर अहिले आएर एउटा चुनाव जितेको सांसद जस्तै नेताहरुसँग भेटघाट गर्नु क्षेत्रको समस्याको बारेमा चासो लिने काम गरिरहनु भएको छ, यसको मतलब अगामी चुनाव उहाँ यहीबाट लड्नु हुन्छ ।’
चुनावै लड्छु भनि खोलेर भन्नुहुन्न तर सप्तरी–२ मा आफूले अधुरा छाडेका सबै कामहरु पुरा गराउने पटक पटक उहाँले भन्नुभएको बताउँदै ती नेताले उपेन्द्र यादवलाई बारा भन्दा सप्तरी नै सजिलो लागेको बताउनुभयो । जनमत पार्टीका अध्यक्ष सिके राउतले त्यहाँबाट पुनः अर्कोपटक चुनाव लड्ने मुडमा हुनुहुन्न किनभने त्यहाँबाट कोही पनि दोहोर्याएर चुनाव जित्नुभएको छैन । त्यही भएर उहाँ अगामी चुनावमा त्यहाँबाट चुनाव नलड्ने संकेत आफ्नो पार्टीका बैठकहरुमा दिइ सक्नुभएको हो । सिके राउतले त्यो क्षेत्र छाडे पनि नछाडे पनि उपेन्द्र यादव त्यहीबाट चुनाव लड्ने सम्भावना रहेको सप्तरी जसपाका नेताहरु बताउनुहुन्छ ।
(सहारा टाइम्स पत्रिकाको जेठ १ गतेको अंकमा प्रकाशित समाचार)

तपाईको प्रतिक्रिया