Khadya Bibhag

जनमतमा ‘राइट टु कल’ : दुई जना सांसदलाई बोलायो फिर्ता

काठमाडौँ जेठ १२ गते । जनमत पार्टी नेपालका अध्यक्ष सिके राउतले आफ्नो पार्टीमा ‘राइट टु कल’ नीतिलाई कार्यान्वयनमा ल्याउनु भएको छ ।
सांसद, मन्त्री, जनप्रतिनिधि वा पार्टी पदाधिकारीलाई जुनसुकै बेला पदबाट फिर्ता बोलाउने सकिने नीति जनमत पार्टीले बनाएको छ । सोही अनुसार आज आफ्ना पार्टीबाट समानुपातिकबाट सांसद बनाएको दुई जनालाई उहाँले संसदबाट फिर्ता बोलाउनु भएको हो । आज सम्पन्न केन्द्रिय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद मोरङका सोनु मुर्मुर र सिरहाका विनिता सिंहलाई सांसदबाट पदबाट हटाउने निर्णय गरेको छ ।
उहाँहरुले अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गरेको हो । मुर्मुर दलित कलस्टरबाट सांसद बन्नुभएको थियो भने सिंह जनजाति कोटाबाट सांसद बन्नुभएको थियो । मुर्मुरको ठाउँमा कपिलवस्ुतका दुर्गावत्ती धोवीलाई ल्याउने निर्णय गरेको छ भने सिंहको ठाउँमा कसलाई ल्याउने अहिले निर्णय नभएको स्रोतले जनाएको छ ।
सिके राउतले बैठकपछि सार्वजनिक गर्नुभएको निर्णयमा यो कारवाहीको विषय उल्लेख गर्नुभएको छैन तर उहाँले संगठन संचालनमा आइपरेका विभिन्न समस्याहरूमा छलफल गर्दै अनुशासन कडाईका साथ पालन गराउने, पदमा भए जिम्मेबारी बहन गर्नु पर्ने अन्यथा पद छोड्नु पर्ने, जनप्रतिनिधिहरूलाई कडाईका साथ पार्टी र जनताप्रति उत्तरदायी बनाउने, पार्टीको निर्देशन पटक–पटक नमान्ने, अटेरी गर्ने, गूटबन्दी गर्ने, पार्टी फुटाउन षड्यन्त्र गर्नेहरूलाई कारबाही गर्ने स्पष्ट नीति लिएको उल्लेख गर्नुभएको छ ।
साथै पार्टी विस्तारको लागि आवश्यक विधान÷नियमावली संशोधन प्रस्तावित गर्नुका साथै केन्द्रिय समिति विस्तार गर्ने निर्णय गरेको पनि उहाँले जानकारी गराउनु भएको छ ।
जनअपेक्षा ठूलो भएको हुँदा पार्टीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू सो अनुरूप काम गर्नु पर्ने अपरिहार्यता रहेको उल्लेख गर्दै उहाँले पदाधिकारी र जनप्रतिनिधिहरू पार्टीप्रति जिम्मेबार बन, या कारबाही भोग भनि चेतावनी पनि दिनुभएको छ । जनमत पार्टी अर्को निर्वाचनको लक्ष्य लिएर संगठन सुदृढिकरणमा लाग्ने अगाडिको योजना तथा कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया