गर्मी बढेसँगै विद्यालय बन्द

केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो । अत्यधिक बढ्दो गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै मिति यही जेठ १९ गते शुक्रबारदेखि जेठ २६ गते शुक्रबारसम्मका लागि नगरपालिकाअन्तर्गतका बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, निजी तथा धार्मिक विद्यालयका पठनपाठन बन्द गरिएको हो ।
गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा उल्लेख छ । गर्मी यथावत रहिरहे आइतबारदेखि लागू हुने गरी सिरहाका अन्य पालिकाले पनि पठनपाठन बन्द गर्ने शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख शशीकुमार यादवले जानकारी दिनुभयो ।
सिरहामा जम्मा १७ वटा स्थानीय पालिका रहेका छन् । विगत केही दिनदेखि अत्यधिक गर्मीका कारण सिरहा, सप्तरी, धनुषासहित मध्य तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको लहानको बिहीबारको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ ।
झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।
दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ । आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।
यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिनुभयो । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।
धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।
घर बाहिर निस्कनै मुस्किल सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् । गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ ।
गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । बिरामी बढे गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् ।
पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा दासको भनाइ छ । डा दासले भन्नुभयो, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ ।” दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा. दासको भनाइ छ ।
बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो । बन्द हुँदै विद्यालय बन्द समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ ।
क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताउनुभयो । “अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।” समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको प्रअ यादवले बताउनुभयो । गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउनुहुन्छ ।
“विद्यालयमा पङ्खा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ”, गुप्ताले भन्नुभयो, “बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।” अभिभाव ज्योति झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताउनुभयो । “समयसमयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन”, झाले भन्नुभयो ।
चिसो पेय पदार्थको बिक्री बढ्यो गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले जनकपुरधाम बजारका होटल तथा चोकचोकमा लस्सीका साथै चिसो पेय पदार्थको व्यापार गर्नेको सङ्ख्या पनि बाक्लै देखिन थालेको छ ।
अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका सञ्चालक चन्दे साहले बताउनुभयो । दैनिक उखुको रस पेल्दै आएका जनकपुरधामका शम्भुप्रसाद गुप्ताले बिहानदेखि साँझसम्म चिसो पिउनेको भीड लाग्ने गरेको बताउनुभयो । महेन्द्रनगरका विशाल डेरीका सञ्चालक विजय यादवले कुल्फी, आइसक्रिमको बिक्री वितरण बढेको बताउनुभयो ।
पर्सा
विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।
विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको वीरगञ्जका व्यापारी रामकृष्ण साहले बताउनुभयो । यस्तै अत्यधिक गर्मीका कारण जिल्लास्थित अधिकांश सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् ।
अचानक बढेको तापक्रमका कारण जिल्लामा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । गर्मीका कारण झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्याबाट पीडित बिरामी बढेका वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक छ सयदेखि आठ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।
त्यसका कारण अस्पतालमा शय्याको अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको प्रवक्ता सिंहले बताउनुभयो । गर्मीका कारण सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा तथा मजदुरी गर्ने बढी प्रभावित भएका छन् । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सकको भनाइ छ । गर्मीका कारण बजारमा चिसो पेयपदार्थ, फलफूलको जुस र चिसो पानीको बिक्री बढेको व्यापारी बताउँछन् ।
बारा,
बढदो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले एक विज्ञप्तिमार्फत बिदाको जानकारी गराउनुभएको हो ।
गर्मीका कारण पठनपाठनमा समस्या सिर्जना हुनुका साथै खासगरी बालबालिकामा गर्मीका कारण स्वास्थ्यमा निकै नै प्रतिकूल असर पर्ने भएको हुँदा सहजताका लागि बिदा घोषणा गरिएको प्रमुख साहले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “निजी तथा सरकारी विद्यालयमा अत्यधिक गर्मीका कारण विद्यार्थीको चाप पनि घटेको हुँदा बिदा दिनुपरेको हो ।” तराई–मधेसका जिल्लामा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सिर्जना भएको थियो ।
कतिपय विद्यार्थी गर्मीका कारण कक्षाकोठामा बेहोस हुन लागेकाले बिदा स्वीकृत गरिएको शिक्षा शाखा प्रमुख वर्णवालले बताउनुभयो । तातो हावा (लु) चलिरहेको हँुदा गर्मीका कारण बाराको जनजीवन कष्टकर बनेको छ । सेवा प्रदायक सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ ।
यस्तो समयमा घरबाट निस्कन निकै नै समस्या हुने गरेको बारागढी गाउँपालिका–४ का श्रीचन्द्र साहले बताउनुभयो । अहिले सडकपेटी, हाटबजारलगायत स्थान प्रायः सुनसान देखिएका छन् । विद्यालय यही जेठ १९ देखि बन्द भई जेठ २५ गते खुल्ने शिक्षा शाखा प्रमुख वर्णवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया