खुल्ला सीमा कारण अपहरण फिरौतीको घटनामा वृद्धि

नेपाल–भारत खुला सिमाको फाइदा उठाउँदै तस्करी मात्रै होइन अपराधिक समुहले अपहरण, फिरौतीलगायतका गतिविधि समेत सञ्चालन गर्ने गरेको पुष्टि पछिल्लो घटनाले गरेको छ । भारतीय व्यापारीको नौ दिनपछि महोत्तरीको लोहारपट्टीबाट अपहरणमुक्त हुनु र नेपाली सुरक्षा निकायले यसको जानकारी समेत नपाउनुले यस्तो अपराधिक गतिविधिको पुष्टयाँई गरेको देखिएको छ ।

जेठ १८ गते (जुन १ तारिख) मा भारतको बेला परिहारबाट अपहरणमा परेका भारतीय कपडा व्यवसायी राजकिशोर चौधरी नौ दिनपछि महोत्तरीको लोहारपट्टीबाट सकुशल मुक्त भएपछि अपराधिक गतिविधिबारे पुष्टि भएको जनाइएको छ । यसले सीमानाकामा सुरक्षा चुनौती थपिएको जानकारहरु बताउँछन् ।

अपहरणपछि उनलाई नियन्त्रणमा राखेर फिरौती माग्ने उद्देश्यले नेपालतर्फ ल्याइएको हुन सक्ने आशंका गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको बेला परिहारबाट अपहरणमा परेका चौधरीलाई अपहरणकारीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत महोत्तरीको जलेश्वर–लोहारपट्टी नजिक छाडेको बताइएको छ । भारतीय अनलाइन लाइभ हिन्दुस्तानले भारतीय कपडा व्यापारी चौधरीलाई फिरौती लिएर नेपालको लोहारपट्टी नजिकबाट अपहरणकारीले मुक्त गरिएको उल्लेख गरेको छ ।

बेला थाना अन्तर्गत नोचा बजारमा कपडाको पसल खोल्नुभएका चौधरीलाई जेठ १८ गते राति पसल वन्द गरेर घर फर्किने क्रममा बाटोबाटै अपहरणकारीले अपहरण गरेका थिए । व्यापारी चौधरी राति घर नपुगेपछि परिवारजनले खोजतलाश गर्दै जाँदा बाटोमा उनको मोटरसाइकल र चप्पल वरामद भएपछि उनीहरु अपहरणमा परेको भन्दै भारतीय प्रहरी कहाँ पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक पञ्चलाल गोलेले भारतीय व्यापारी महोत्तरीको लोहारपट्टीबाट अपहरणमुक्त भएको जानकारी मिडियाबाटै आफुहरुलाई भएको बताउनुहुदै अहिलेसम्म आफुहरुसँग पिडित पक्ष वा भारतीय सुरक्षानिकायले कुनै जानकारी नगराएको बताउनुभयो ।
अपहरण गरिएको वा मुक्त गरिएको जानकारी आफुहरुलाई छैन, आफुहरुले पनि मिडियाबाटै नै जानकारी पाएका छौं जानकारी दिनुहुदै प्रवक्ता गोलेले भन्नुभयो, ‘अपहरण वा फिरौतीबारे आफुहरुलाई न त पीडितपक्षले कुनै जानकारी दिएको छ न त कुनै पक्षबाट भएको छ, उजुरी वा जानकारी आएपछि नै हामीहरुले अनुसन्धान गर्ने हो ।’

स्थानीय व्यवसायीहरुले अपहरण र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा थप निगरानी र सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने माँग गरेको छ । जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले नेपाली भूमिमा फिरौती माँग गरेर अपहरणमुक्त गर्नु र नेपाली सुरक्षानिकायलाई जानकारी नहुनुले सुरक्षा गम्भिरताको अवस्था देखाएको वताउनुहुदै सुरक्षा व्यवस्था मजवुत बनाउनुपर्ने वताउनुभयो ।

तपाईको प्रतिक्रिया