प्रविधिमैत्री कर्मचारीतन्त्र निर्माणका लागि एआई तालिम सुरू

हेटौँडा, असार १६ गते
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्मचारीहरूलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी दुईदिने तालिम सोमबारदेखि सुरू गरेको छ। सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप आधुनिक, छिटो र परिणाममुखी बनाउने उद्देश्यले आयोजित उक्त तालिममा प्रदेश मन्त्रालयका ४४ जना कर्मचारी सहभागी भएका थिए।

तालिम समापन कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव कृष्ण बहादुर शाहीले अबको कर्मचारीतन्त्र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिको ज्ञान नहुँदा कर्मचारी पछाडि पर्न सक्ने उल्लेख गर्दै कृत्रिम बौद्धिकताको प्रयोग अहिलेको आवश्यकता भएको बताउनुभयो।

“अबको कर्मचारीतन्त्र प्रविधिमैत्री हुनुपर्छ। प्रविधि नजानेर पछि पर्नु हुँदैन,” सचिव शाहीले भन्नुभयो।

उहाँले देशभर कृत्रिम बौद्धिकताको प्रयोग विस्तार भइरहेका बेला सरकारले एआईसम्बन्धी नीतिगत तयारी अघि बढाइसकेको उल्लेख गर्दै त्यसलाई विषयगत तथा क्षेत्रगत आवश्यकताअनुसार कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीहरूको समेत रहेको बताउनुभयो।

उहाँले सरकारद्वारा ल्याइएका प्रारम्भिक कानुनी तथा नीतिगत व्यवस्थालाई व्यवहारमा उतार्न सम्बन्धित निकायका कर्मचारीहरू प्रविधिमा दक्ष हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

दुई दिनसम्म सञ्चालन भएको तालिममा कृत्रिम बौद्धिकता (एआई) को आधारभूत अवधारणा, सरकारी कार्यालयमा एआईको सुरक्षित तथा जिम्मेवार प्रयोग, सेवा प्रवाहमा एआईको उपयोग, दस्तावेज तयारी, अनुसन्धान, तथ्य विश्लेषण तथा उत्पादकत्व अभिवृद्धिसम्बन्धी विषय समेटिएका थिए।

तालिममा एआई विज्ञ अजय शर्मा र शिव पुरीले सहजीकरण गर्नुभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले कर्मचारीहरूको व्यावसायिक दक्षता बढाउनुका साथै प्रविधिमैत्री प्रशासन निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया