प्रचण्ड तीन पटक सरकारको नेतृत्व गर्नुभयो । तीनै पटक उपेन्द्र यादव प्रचण्डको सहयात्री मात्र होइन, मुख्य हर्ताकर्ता नै हुन्थ्यो ।
नेपाल राजनीतिकलाई फर्केर हेर्ने हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तीन पटक मात्र अलग अलग रहनुभएको छ । पहिलो पटक २०६३ चैत ७ गते गौर कण्ड हुँदा माओवादीले भौतिक कारवाही गर्ने भनि उपेन्द्र यादवलाई खोज्न थालेपछि, दोस्रो, संविधान निर्माणको क्रममा २०७२ जेठ २५ गते १६ बुँदे सम्झौता हुँदा र तेस्रो, २०७९ को प्रतिनिधि सभा चुनावमा २०७९ असोज २१ गते उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेपछि ।
त्यसबाहेक प्रचण्ड र उपेन्द्र यादव बीचको दोस्तीमा सानोतिनो ब्रेकर बाहेक कहिले ब्रेक लागेन । भारतमा माओवादीका नेता सुरेश आलेमगर मोहन वैद्य किरणलाई पक्राउमा उपेन्द्र यादवमाथि आशंका गरिएको बेला पनि प्रचण्ड उहाँमाथि सफ्ट नै हुनुहुन्थ्यो । सुरेश, किरण र उपेन्द्र एकैपटक पक्राउ पर्नुभएको थियो तर उपेन्द्र तुरन्तै रिहा भएपछि माओवादीले उहाँमाथि नै आशंका गरिएको थियो ।
गौर कण्डामा प्रचण्ड र उपेन्द्र बीचको सम्बन्धमा नराम्रो गरि चिरा पर्यो । त्यही गौर काण्डका कारण मधेश आन्दोलनमा माओवादी र तत्कालिन फोरमबीच द्वन्द थियो र लहानको घटना भयो । मधेश आन्दोलनको क्रममा १३ बुँदे र २२ बुँदे सम्झौता सरकारसँग हुँदा पनि प्रचण्ड र उपेन्द्रको सम्बन्धमा सुधार आएको थिएन ।
तर राजनीतिक विकासक्रमले दुई जना नेतालाई नजिक ल्याउन काम गर्यो । २०६४ फागुन ८ गते बालुवाटारमा भएको आठ बुँदे सम्झौतापछि दुई जना बीचको सम्बन्धमा आएको सुधारले कहिले पनि एक अर्काको साथ छाड्नु भएन ।
आन्दोलन होस् या सरकार उपेन्द्र यादव हरहमेसा प्रचण्डको साथमा हुनुहुन्थ्यो । उपेन्द्र यादवलाई अप्ठ्यारो पर्दा प्रचण्डले सघाउने, प्रचण्डलाई अप्ठ्यारो हुँदा उपेन्द्र यादवले सघाउने दुई जनामा समझदारी नै हो जस्तो लाग्छ । एउटै स्कूलिङबाट राजनीतिमा आएका हुनाले हुनसक्छ जस्तोसुकै प्रतिकुल अवस्थामा पनि उहाँ दुवै जनाको बीचमा कुरा मिलिहाल्छ र सहकार्य हुन्छ । लाग्छ अब एक अर्काबिना दुवै जना अधुरो हुनुहुन्छ । प्रचण्डले आफ्नो नेतृत्वमा बनाएको सरकार होस् या आन्दोलनको मोर्चा अथवा चुनाव गठबन्धन त्यसमा उपेन्द्र यादव अनिवार्य नै हुन्छ ।
सप्तरी–२ बाट चुनाव हार्नुभएका उपेन्द्र यादवलाई जिताएर संसदमा ल्याउन आफ्नो भागमा रहेको उपराष्ट्रपति समेत उहाँलाई दिनुभयो ।


तपाईको प्रतिक्रिया