पूर्व उपराष्ट्रपति परमानन्द झाले भन्नुभयो, अन्तरिम संविधानमा कसैलाई जानकारी नदिइ धर्मनिरपेक्ष घुसाइयो
१० असार २०८०, आईतवार २२:०६
काठमाडौँ असार १० गते । पूर्व उपराष्ट्रपति परमानन्द झाले दोस्रो जनआन्दोलनपछि निर्माण गरिएको अन्तरिम संविधानमा कसैलाई जानकारी नै नदिई धर्म निरपेक्षता घुसाइएको बताउनु भएको छ ।
अभियानको अवधारणा पत्र सार्वजनिक गर्न आइतबार आयोजित कार्यक्रममा उहाँले आफू त्यतिबेला उपराष्ट्रपति भएपनि त्यसकिो बारेमा सुइको नपाएको बताउँदै देशमा संघीय हिन्दू गणतन्त्र स्थापना गर्न राष्ट्रिय एकता अभियानले अगाडि सारेको एजेन्डा सबै नेपालीको हृदयमा छुने खालको भएको बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले देश बन्नु अघिदेखि नै सनातन संस्कार, संस्कृति र हिन्दूत्वको पदार्पण भएको बताउनुभयो । तर, आफ्नो संस्कार र संस्कृतिलाई भुल्दै जाँदा दुःख पाउने अवस्थामा नेपाल र नेपाली पुगि सकेको उहाँले दावी गर्नुभयो । ‘हामीले हाम्रो सनातन धर्म, संस्कार, संस्कृतिको रक्षा गर्न सक्यौं भने संसारको सबैभन्दा शक्तिशाली मुलुक नेपाल बन्नेछ,’ उहाँले भन्नुभयो ।
लोसपा नेता तथा पूर्वमन्त्री अनिल झाले अभियानले संघीय हिन्दू गणतन्त्रको नयाँ अवधारणा ल्याएकामा बधाई दिनुभयो । ‘विगतमा हिन्दू धर्मलाई राजतन्त्रसँग जोडेर हेर्ने गरिएको थियो । वीरगञ्जमा नेपाल गेट बनाउँदा एकजना शंकराचार्यले दिएको मन्तव्यपछि सबैले त्यसलाई आ–आफ्नै प्रकारले परिभाषित उहाँले गर्नुभयो ।
त्यही विन्दुबाट यो देशको हिन्दूत्वलाई राजसंस्थासँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जब राजसंस्था गयो हिन्दुत्व पनि गयो, ती दुवैलाई घाँटी नजोडिदिएको भए गणतन्त्र स्थापनापछि हिन्दुत्व नजान सक्थ्यो।’ राष्ट्रिय एकता अभियानको अवधारणाबाट हिन्दुत्व संघीयता र गणतन्त्रमा पनि एकाकार भएर अगाडि बढ्ने बाटो दिएको उहाँले बताउनुभयो ।
यस्तै, संविधान सभाका सदस्य तथा अभिायनका वरिष्ठ नेता बीपी यादवले संघीय हिन्दू गणतन्त्रको अवधारणामा बहस छेडिनुपर्ने बताउनुभयो । ‘सम्पूर्ण नेपालीलाई एकसूत्रमा बाँध्न, एउटा एजेन्डामा एकताका लागि यो विषय निकै महत्त्वपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको छ। तर, मुलुक एकतातर्फ अगाडि बढेको छैन। यो मुलुकलाई एकताबद्ध बनाउनका लागि हामीले यो अभियान अगाडि बढाएका हौं।’ हिन्दू धर्ममाथि चौतर्फी प्रहार भइरहेको उहाँले बताउनुभयो।
काठमाडौं( राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेपालमा संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने बताउनु भएको छ । नेपाललाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसका जगेर्ना गर्दै मुलुक र मुलुकवासीलाई जोडिराख्न संघीय हिन्दू गणतन्त्र मात्र विकल्प रहेको उहाँले बताउनुभयो ।
‘जुन दिन सनातन संस्कृति समाप्त हुन्छ, त्यस दिन राष्ट्रिय एकता पनि समाप्त हुनेछ,’ उहाँले जोड दिँदै भन्नुभयो, ‘हरेक ४० किलोमिटरमा हाम्रो देशमा सांस्कृतिक विविधता छ। अलग–अलग संस्कार, संस्कृति र भेषभुषा छ। पूर्वदेखि पश्चिमसम्म विविधता छ। ती सबैलाई जोड्ने कडी सनातन संस्कृति हो र हिन्दू धर्म हो।’
हिन्दू धर्म मजबुत रहुन्जेल नेपालको राष्ट्रियता पनि मजबुत हुने उहाँले बताउनुभयो । ‘राष्ट्रियता पसलमा खरिद गर्न मिल्ने वस्तु होइन, अनादि कालदेखि चलिआएको संस्कृति नै राष्ट्रियताको आधार हो,’ उहाँले भन्नुभयो, ‘नेपालमा अनादि कालदेखि चलिएको संस्कृति सनातन संस्कृति हो ।’
तपाईको प्रतिक्रिया