‘कोन फूल पिअर हे माता कोन फूल लाल है,
कोन फूल पहिरन माँके कोन फूल शृङ्गार हे ।
सब सखि मिलि कय पूजू माँके दुआरी हे,
सब सखी मिलि विनिमव तोहार हे ।
हमरो विनती माता सुनू बारम्बर हे,
एकटा जे आशीष दिअ अइहबक शृङ्गार हे,
युग–युग रहै पबनैतिनक सोहाग हे ।।’
साउन कृष्णपक्षका दिन । मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको उल्लास छ । माथिका पङ्ति मधुश्रावणी पर्व मनाइरहेका नवविवाहिता मिथिलानी ९मिथिलाका नारी० ले पर्व विशेषमा आराध्यदेवी गौरी र विषहराको पूजनका लागि फूल छान्दै गाएका गीतका हुन् ।
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिँदो छ । गत शनिबारदेखि सुरु भएको यो पर्व साउन शुक्लपक्षको त्रितियाका दिन समापन गरिनेछ । यसपालि पर्वकै बीच अधिकमास ९मलमास० सुरु हुने हुँदा पर्व सम्पन्न गर्नभने मिथिलानीले एक महिना पर्खनुपर्ने भएको छ ।
मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा मस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन सुुरु भएर साउन शुक्ल त्रितियाका दिन सम्पन्न गरिने यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ ९फूल खोज्ने० विधिले सबैको ध्यान खिच्ने गरेको छ । शिव, पार्वती ९गौरी० र ‘विषहरा’ ९नागदेवता० को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिक रुपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान शङ्कर,देवी गौरी र विषहरालाई बासी फूल चढाउने चलन छ ।
“अपराह्नपछि सन्ध्याकालसम्म प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका नवयौवना जब फूल खोज्ने विधिका लागि निस्कन्छन्, स्वभाविक रुपमा ओरपर हुने सबैको ध्यान त्यसतर्फ खिचिन्छ”, महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ ९याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस० का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति भन्नुहुन्छ, “भर्खरै विवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने उद्देश्य भित्रको ‘फूललोढी’ मा निस्केका मिथिलानीको गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ ।”
आम रुपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता नाघिने शब्द हुनसक्ने अड्कल यहाँ नअटाउने झा बताउनुहुन्छ । “गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन”, झाले अगाडि भन्नुभयो, “गीत बर्तालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने भावमा सलल बगेको हुन्छ, जो अत्यन्त कर्णप्रिय लाग्दछ ।”
वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयुर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडिबीच रतिरागदेखि भावात्मक रुपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । त्यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको हो ।
पर्वमा नवविवाहिता मिथिलानी यौवनाको सखीहरुबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् ।
“बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुुले सुनाउँदा विवाह योग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला रु” मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार एवं पूर्वप्रशासक जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा ८५ वर्षीय महेश्वर राय भन्नुहुन्छ, “यो कुराको अनुमानले मात्र पनि जो कसैलाई रोमाञ्चित बनाउँछ ।”
‘पावनी पूजू सोहागिन प्राणनाथके सँगमें ,
कारी कम्बल झारि गङ्गाजल काजर सिन्दुर हाथमें ।
चानन घसू मेहदी पीसू लिखू मैना पातमें ,
पावनी साजी भरि–भरि आनल जाही जूही पातमें,
कतेक सुन्दरी साज सजल अछि लिखल मैना पातमें ।’
पर्वका विधिबीच गाइने यी गीतले मधुश्रावणी पर्वविशेषको महत्त्व झल्काउने रायको भनाइ छ ।
पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब विभिन्न सांस्कृतिक परम्पराबीचको आपसी घूलमिलले साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको मिथिलानी बताउँछन् । पर्वमा शिव, पार्वती ९मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ० र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई माइतघरकी जेष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गरेका अहिले पर्व मनाउन माइत आएकी बर्दिबास–२ बुद्धचोककी निशा कर्ण बताउनुहुन्छ ।
पर्वमा आफ्नो स्खलित भएको वीर्य भगवान् शङ्करले पातमा राखेका र त्यही वीर्यबाट पाँच नाग कन्याको जन्म भएको कथा प्रचलित छ । कुनै तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेका र यो वृतान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एकदिन छोरीहरुसँग खेलीरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ ।
पार्वतीलाई खुशी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजागर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभिष्ठका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिका जानकार बताउँछन् ।
पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्त्व उज्यालिएको पाका मिथिलानी बताउँछन् । प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएका प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठिक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास पनि गरिन्छ ।
बर्तालुले साउन कृष्ण चौथी ९चतुर्थी० का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नुपर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राती बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको मुख्य तालिका हो ।
बर्तालुले सधैँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्ने गर्छन् । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ ।
माइतमै बसेर मनाइने भए पनि पर्वमा नवविवाहिताका लागि व्रत अवधिको खाद्यान्न, वस्त्रपरिधान, शृङ्गार प्रशाधन, पूजा सामग्री र अन्य पर्वविशेषका आवश्यक वस्तु पतिघरबाटै पुर्याइनु पर्ने चलन छ ।
माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप ९अरिपन० मा बसेर त्यहीं देवता स्थापित गरेर यो पर्व मनाइन्छ । कूलदेवताको स्मरण गरेर सुुरु गरिएको पूजाआराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका जेष्ठ सदस्यबाट बर्तालुुले आशिर्वाद लिने गर्छन् ।
पर्व १३ औँ दिन समापन गरिन्छ ९यसपालि पर्वकै बीच अधिकमास सुरु हुने हुँदा समापनलाई एक महिना पर्खनुपर्ने भएको छ ० । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गरिने चलन छ । यसअघि १२ औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुलाई ‘टेमी’ दिने गरिन्छ । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने रुढी विश्वास छ ।
पछिल्लो कालमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिन पर्ने आवश्यकता औँल्याएका छन् । पर्वमा बर्तालुलाई बलेको बत्तीको लप्काले डाम्न सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिढीका मिथिलानीको भनाइ छ । पछिल्ला केही वर्षयता यो चलनमा आउन थालेको मिथिलानी बताउँछन् ।
विधिमा केही परिष्कारको कुरा उठेका र समयक्रममा ती स्थापित हुने मैथिल बुद्धिजीवी बताउँछन् । पर्वको अभिष्ठ नै प्रेमसम्बन्धको प्रगाढता भएको हुँदा यसले मैथिल संस्कृति पारिवारिक सद्भाव वृद्धिमा सचेत रहेको सन्देश नै प्रवाह भएको कुरामा मैथिल ९मिथिलाका बासिन्दा० एकमत देखिन्छन् ।


तपाईको प्रतिक्रिया