Khadya Bibhag

बाहिर बाहिर मोर्चा, भित्र भित्र पार्टी

कम्युनिष्ट पृष्ठभूमीका दलहरुले समाजवादी मोर्चा गठन गरेका छन् । २०८४ को चुनावलाई लक्षित गरी समाजवादी मोर्चा गठन गरेपनि अन्ततः पार्टी एकीकरणमै जाने आन्तरिक तयारी रहेको छ । सघीय संसदमा तीन दल र अन्य एक दल मिलेर समाजवादी मोर्चा गठन गरेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मार्चोमा आवद्ध छन् । विप्लव नेतृत्वको दलबाहेक अन्य तीनवटै दल संसदमा छन् र सरकारको नेतृत्व पनि गरिरहेका छन् ।
मोर्चा गठन गरेपछि संसदमा उनीहरुको उपस्थिति बलियो देखिएको छ । संसदमा माओवादी केन्द्रको ३२, जसपाको १२ र नेकपा एकीकृत समाजवादीको १० सीट गरी मोर्चाको ५४ सीट पुगेका छन् । अहिलेको संसद र सरकारका लागि एउटा शक्ति निर्माण गरेकै हो तर दीर्घकालिन रुपमा एउटा पार्टीको रुप दिने गरी नै गृहकार्य सुरु भएको छ । समाजवादी मोर्चाले तयार पारेका कार्यविधि अध्ययन गर्दा लाग्छ कुनै पार्टीको विधान हो । मोर्चाको आफ्नै झण्डा र लोगो समेत रहेको छ । आफ्नै स्ट्याम्प पनि बनाएको छ ।
एउटा पार्टीले गर्ने हरेक अभ्यास समाजवादी मोर्चाले सुरु गरेको छ । समाजवादी मोर्चाको संगठन वडा तहबाट नै बनाउने निर्णय गरेको छ । विद्यार्थी, युवा, महिलालगायत अन्य भातृ संगठन बनाउनुको साथै अन्य सल्लाहकार समितिहरु पनि बनाउने तयारी रहेको छ । यी सब हेर्दा प्रष्ट हुन्छ कि समाजवादी मोर्चा एउटा अलग अलग पार्टीको होइन एउटा सिगैं पार्टी हो । मोर्चाको नेतृत्व कुनै एउटा व्यक्तिले होइन, चार वटै दलका अध्यक्षले आलो पालो गर्ने सहमति पनि गरेका छन् ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेससँग ८८ सीट छन भने प्रमुख प्रतिपक्षी दल एमालेसँग ७९ सीट छन् । विगतमा एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतको फैसलाले एकता भएको थियो । त्यस लगत्तै एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुभएको थियो । त्यो बेलादेखि माओवादी र नेकपा (एस)को बीचमा तालमेल हुँदै आएको हो ।
जसपाका उपेन्द्र यादव, माओवादीका प्रचण्ड र नेकपा (एस) का माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भटट्राईले सुरुदेखि नै एउटा समासवादी मोर्चा बनाएर अघि बढ्नुपर्ने गृहकार्यमा लाग्नुभएको थियो । समाजवादी मोर्चाका लागि गृहकार्य हुँदा एकताकै लागि पनि चर्चा भएको थियो । त्यसका लागि बाबुराम भट्टराईबाहेकका तीनवटै दलले आआफ्नो पार्टीमा कार्यदल पनि गठन गरेका थिए ।
एकताका लागि तीनवटै दलको बीचमा प्रयास पनि भयो । हुन त बाबुराम नेतृत्वको नेसपा र माओवादी पार्टीबीच एकताका लागि पनि प्रयास भएको थियो । तर त्यो सफल हुन सकिरहेको छैन । समाजवादी मोर्चामा पनि बाबुरामलाई ल्याउने प्रयास भएको हो तर जसपाका अध्यक्ष उपेन्द्र यादवको कारण त्यो सम्भव नभएको माओवादीका अध्यक्ष प्रचण्डले नै यो कुरा बाहिर ल्याउनु भएको थियो ।
माओवादी, जसपा र नेकपा (एस) बीच एकताका लागि प्रयास भएपनि तत्कालका लागि कुरा नमिलेपछि समाजवादी मोर्चा बनाएर नै अघि बढ्ने र एकताका लागि प्रारुप तयार गर्दै जाने आन्तरिक सहमति गरेको छ । मोर्चामार्फत एकीकृत पार्टीको अभ्यास गर्दै जाने, सबै समितिहरु बनाउँदै जाने र एकीकृत अभ्यास सफल भएपछि पार्टी एकतामै जाने मोर्चामा आवद्ध दलहरुको बीचमा एउटा सहमति भएको स्रोतले दावी गरेको छ ।
तर मोर्चामा आवद्ध दल जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बीबीसीसँग भन्नुभयो, ‘हालसम्म त्यस्तो परिकल्पना गरिएको छैन, समाजवादी मोर्चामा हामीले वैचारिक राजनीतिक रूपमा हाम्रा प्रतिबद्धता के के छन्, नीतिगत सवालहरूलाई १५ बुँदामा क्लियर (स्पष्ट) गरेर मोर्चाको संगठनात्मकक ढाँचा कस्तो हुन्छ भन्ने एउटा समझदारी गरेका छौँ, त्यसबाहेक अरु केही परिकल्पना गरिएका छैनौं ।’ तर उहाँले जे जस्तो दावी गरेपनि मोर्चाको कार्यविधि, मोर्चाको अन्य संरचनाले पार्टी एकताको संकेत गरेको बुझिन्छ ।
(सहारा टाइम्स पत्रिकाबाट सभार, साउन १६)

तपाईको प्रतिक्रिया