‘मरे तो मुक्ति, जिए तो मधेश’ भनि नारा दिएर महन्थ ठाकुरले २०६४ मा काँग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्नुभएको थियो । तर उहाँले त्यो पार्टी १० वर्ष पनि राम्रोसँग चलाउन सक्नु भएन । सो पार्टी बीचमा एक पटक विभाजन भएको थियो । विभाजन भए पनि अध्यक्ष ठाकुरले तमलोपा पार्टी आफ्नै तरिकाले चलाउनु भयो । २०७४ मा तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेश पार्टी, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), तराई मधेश सद्भावना पार्टी, संघीय सद्भावना पार्टी मिलेर राष्ट्रिय जनता पार्टी बनेको थियो ।
त्यसपछि अध्यक्षमण्डलीय प्रणालीमा राजपा सञ्चालन हुन थाल्यो । अध्यक्ष मण्डलको पहिलो अध्यक्ष महन्थ ठाकुर बन्नुभयो । उहाँले २२ महिनासम्म अध्यक्ष मण्डलको नेतृत्वको गर्नुभयो । २२ महिनामा राजपा कहिले ठिक ढंगले चल्न सकेन । लामो लामो समय बैठक नै बस्दैन्थ्यो, बसे पनि कुनै निर्णय हुँदैन्थ्यो ।
तत्कालिन राजपामा समेत रहेका लोसपाका एक जना उपाध्यक्षले भन्नुभयो, ‘महन्थजी राजपा अध्यक्षमण्डलको संयोजक भएपछि त्यसलाई तमलोपा जस्तो चलाउने प्रयास गर्नुभयो, पार्टीमा पूर्व तमलोपाका नेताहरुको हाली मुहाली हुन थाल्यो, पार्टी कार्यालयमा पनि तमलोपा नेताहरुको चहल पहल बढ्न थाले । अध्यक्ष मण्डलका अन्य सदस्यलाई नसोधीकन आफ्नै तरिकाले निर्णयहरु गर्न थाल्नुभयो । त्यसपछि पार्टीमा विवाद सुरु भएको थियो ।’ सोही विवादका कारण अध्यक्षमण्डलका सदस्यहरुको एउटा बैठकले महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई ल्याइएको थियो ।
बर्दिवासस्थित शरतसिंह भण्डारीको होटलमा महन्थ ठाकुरको अनुपस्थितिमा भएको सो बैठकले गरेको निर्णय विवादमा आएको थियो । सो बैठकपछि महन्थ ठाकुर पार्टीमा असन्तुष्ट हुनुभयो र निस्कृय पनि । पार्टी चलयमान नभए पनि अध्यक्षमण्डलका सदस्यहरु आलोपालो दुई दुई महिनामा संयोजक हुन थाल्नुभयो । अध्यक्ष मण्डलको सदस्य संयोजक बनेको दिन पार्टी कार्यालयमा चहल पहल हुन्थ्यो, लडु वितरण हुन्थ्यो । त्यसपछि गतिविधि शुन्य ।
त्यसको असर २०७४ को चुनावमा देखियो । चुनावमा भाग लिने कि नलिने अन्योल देखिएको थियो त्यो पार्टीमा । अपेक्षाकृत त्यो पार्टीले परिणाम ल्याउन सकेन । २०७७ बैशाख १० गते राजपा नेपाल र उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी बीच एकीकरण भयो । लोसपाका नेताहरुको अनुसार समाजवादी पार्टी विभाजन हुन गइरहेको कारण त्यसलाई जोगाउनका लागि रातारात पार्टी एकीकरण गरिएको थियो ।
समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको थियो । तर जसपा गठन भएकै दिनदेखि विवाद शुरु भएको थियो । जसपामा उपेन्द्र यादव र महन्थ ठाकुर दुई जना अध्यक्ष हुनुहुन्थ्यो । उपेन्द्र यादव नेतृत्वको जसपाका एक नेताले भन्नुभयो, ‘महन्थ ठाकुर जसपामा एक नम्बरका अध्यक्ष हुनुहुन्थ्यो तर उहाँले जसपालाई जसपा जस्तो होइन, तमलोपा जस्तो चलाउन खोज्नु भएको थियो, दुई जना अध्यक्ष भएपछि कम से कुनै निर्णय गर्दा, कसैसँग भेटघाट वा छलफल गर्दा सल्लाह गर्नुपर्ने थियो तर उहाँले तमलोपा चलाए जस्तै एकलौटी रुपमा चलाउन थाल्नुभयो ।’ त्यस्तै आरोप महन्थ ठाकुर निकट नेताहरुको पनि थियो । उपेन्द्र यादवले जसपामा एकलौटी ढंगले निर्णय गर्न थालेपछि महन्थ ठाकुर असन्तुष्ट बन्दै गएको नेताहरुको दावी छ ।
उपेन्द्र यादव र महन्थ ठाकुरबीच खटपट सुरु भएको थियो । त्यही बेला महन्थ ठाकुरले पार्टीमा एकल ढंगले निर्णय गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारमा आफ्ना निकट नेताहरुलाई पठाउनु भएको थियो । त्यही निहुँमा उपेन्द्र यादवले महन्थ ठाकुर निकट नेताहरुलाई कारवाही गर्नुभएको थियो । कारवाहीको शिलशिला पार्टी विभाजनमा गएर टुग्यों ।
२०७८ भदौंमा जसपाबाट महन्थ ठाकुर पक्षका नेताहरु अलग हुनुभयो । जसपाबाट अलग हुँदा उपेन्द्र यादव पक्षका केही नेताहरु महन्थ ठाकुरको साथमा आउनुभयो भने महन्थ ठाकुरका केही नेता उपेन्द्र यादवकै साथमा रहनुभयो । एकल अध्यक्ष रहने गरी लोसपा गठन भयो । त्यसको अध्यक्ष हुनुभयो महन्थ ठाकुर र वरिष्ठ नेता हुनुभयो राजेन्द्र महतो र शरतसिंह भण्डारी ।
पार्टी गठन हुने बित्तिकै आन्तरिक विवाद सुरु भयो । लोसपा गठन भएकै दिनदेखि विजुली बजारको तमलोपा जस्तै अभ्यास सुरु भयो । वरिष्ठ नेता महतो असन्तुष्ट हुन थाल्नुभयो । अनिल झा पनि टाढा टाढा हुन थाल्नुभयो । लोसपा बनेपछि सांगठनिक काम कहिले भएन त्यसैको नतिजा हो २०७९ मा भएको चुनावमा लोसपा राष्ट्रिय पार्टी बन्न सकेन ।
प्रतिनिधिसभा चार जना सांसद मात्र जित्नुभयो । पार्टीले तैपनि कुनै गति लिएन । महन्थ ठाकुरले लोसपालाई तत्कालिन तमलोपाकै संरचनामा बनाउन थाल्नुभयो । लोसपाका बैठकहरु बन्द हुन थाल्यो । महन्थ ठाकुर लोसपालाई तमलोपा जस्तै आफ्नै तरिकाले चलाउन थाल्नुभयो । आफ्ना निकट नेताहरुलाई पार्टीमा स्थान दिन थाल्नुभयो । राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारीलगायतका नेताहरुलाई किनारा लगाउँदै जानुभयो । नेताहरुको बीचमा असन्तुष्टि बढ्दै गयो ।
अन्ततः दुई वर्षपछि पार्टीको केन्द्रीय कार्यसमिति सार्वजनिक भयो । महन्थ ठाकुरले शरतसिंह भण्डारीलाई आफ्नो साथमा राख्नुभयो र राजेन्द्र महतो र अनिलकुमार झालाई किनारा लगाउनुभयो । महतो र झाका अधिकाँश नेतालाई केन्द्रीय समितिमा समेत उहाँले राख्नुभएन । त्यो कार्यसमिति लोसपा जस्तो तमलोपा जस्तै भएको राजेन्द्र महतो निकट नेताहरुको गुनासो छ ।
विगतका तमलोपामा रहेका सबै नेताहरुलाई केन्द्रीय समितिमा उहाँले समावेश मात्र गर्नुभएको छैन, अधिकाँशलाई पदाधिकारी नै बनाउनु भएको छ । शरदसिंह भण्डारी निकट रहनु भएका निर्जला राउतलाई वरिष्ठ उपाध्यक्षसहित कोषाध्यक्ष पनि उहाँले दिनुभयो । त्यस्तै आफ्ना निकट नेता कविन्द्रनाथ ठाकुरलाई महासचिवसहित कोषाध्यक्ष पनि दिनुभयो ।
तर महतो र झा निकट नेताहरुलाई केन्द्रीय सदस्य समेत उहाँले बनाउनु भएन । सद्भावना पृष्ठभूमीका अधिकाँश नेताहरुलाई लोसपाभन्दा बाहिर राखिएको छ । असन्तुष्ट नेताहरु भन्न थाल्नु भएको छ, ‘यो लोसपा होइन, तमलोपा हो यसमा महन्थ ठाकुरज्युले जे चाहनु हुन्छ त्यही हुन्छ ।’
तपाईको प्रतिक्रिया