जनमत पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता डा.शरतसिंह यादवले असोज ११ गते तराई मधेशको राजनीतिक विषयमा लेख्ने केही पत्रकारसँग छलफल गर्नुभएको थियो । सो छलफलमा प्रवक्ता यादवले स्पष्ट गर्नुभयो कि जनमत पार्टी कुनै न दलसँग एकता गर्छ न गठबन्धन ।
सबै दलसँग राजनीति सम्बन्ध राख्ने तर ती दलहरुसँग कुनै प्रकारको गठबन्धन, मोर्चा वा एकता हुँदैन, उहाँले भन्नुभयो, ‘कुनै दलसँग एकता वा गठबन्धन गर्ने हाम्रो नीति नै छैन, हामी एक्लै चुनाव वा संघर्षमा भिड्ने हो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्ति हो, सो पार्टीका अध्यक्ष रवि लामिछानेलगायत अन्य नेताहरुमा काम गर्ने जोशजाँगर छ, केही गर्ने चाहना राखेका छन् त्यही भएर त्यो पार्टीसँग अलिकति निकटता छ, तर त्यो पार्टीसँग मोर्चा वा अरु कुनै एकता गर्ने कुनै योजना नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सप्तरीमा चुनाव लडेपछि दुवै पार्टीको बीच एकखालको मनमुटाव थियो तर अहिले त्यस्तो नरहेको दावी गर्दै प्रवक्ता यादवले मधेश प्रदेशमा जसपा नेतृत्वमा रहेको सरकारमा जनमतमा सहभागी छ, यहाँ केन्द्रमा पनि एउटै सरकारमा रहेको कारण मिडियामा भएको टिप्पण जस्तो जसपा र जनमतबीच सम्बन्ध खराब नरहेको दावी गर्नुभयो । नागरिक उन्मुक्ति पार्टी, लोसपासँग उपराष्ट्रपतिको लागि मोर्चाबन्दी भएको थियो तर ती दलहरुले नै धोका दिएको कारण मोर्चा अगाडि नबढेको उहाँ बताउनुभयो ।
जनमत पार्टी मिसन ८४ मा लागेको छ । आउने चुनावमा कम्तिमा दुइटा प्रदेशमा बहुमत ल्याउने सरकार बनाउने र संघमा पनि बलियो उपस्थिति देखाउने तयारी भइरहेको उहाँले बताउनुभयो । कम्तीमा मधेश प्रदेश र लुम्बनी प्रदेशमा जनमतले आफ्नै नेतृत्वमा सरकार बनाउने, कोशी प्रदेशमा निर्णायक मत ल्याउने र केन्द्रमा पनि बलियो उपस्थिति देखाउने गरी चुनावको तयारीमा लागेको उहाँले बताउनुभयो ।
सावन यसरी हुनुभयो शरत
प्रवक्ता यादवले आफू सावन यादवबाट शरतसिंह यादव कसरी भए त्यो कुरा पनि सुनाउनु भएका थियो । पत्रकारसँगको अनौपचारिक कुराकानीमा उहाँले भन्नुभयो, ‘मेरो नाम सावन यादव थियो तर वजनदार नाम नभएको कारण मलाई आफै खल्लो भइरहेको थियो । ठूलो बुवा डा.डम्बरनारायण यादव (निधन भइसकेको)लाई भेट्न मन्त्री क्वाटरमा गएको बेला यो कुरा उहाँसँग पनि राखेको थिए ।’
त्यतिबेला महोत्तरीका शरतसिंह भण्डारी जो अहिले लोसपाका वरिष्ठ नेता हुनुहुन्छ र श्रम मन्त्री पनि । उहाँ त्यतिबेला पनि मन्त्री हुनुहुन्थ्यो । प्रवक्ता यादवका ठूला बुवा डा.डम्बरनारायण यादवलाई भण्डारी मन पर्नुहुन्थ्यो । त्यतिबेला भर्खर युवा देखिने र राजनीतिमा पनि तेजतरार देखिनु भएको भण्डारीको नामबाट नै प्रवक्ता यादवको नाम उहाँले शरतसिंह यादव राख्नुभएको थियो । त्यही दिनदेखि प्रवक्ता यादव सावन यादवबाट शरतसिंह यादव हुनुभयो ।
प्रवक्ता यादवले भन्नुभयो, ‘मेरो परिवारमा कसैको नामसँग सिंह जोडिएको छैन, तर मैल शरतसिंह भण्डारीको नामबाट आफ्नो नाम राखेको कारण नाममा सिंह जोडिएको हो ।’ शरतसिंह भण्डारी र शरतसिंह यादव केही समय राजपा र लोसपामा एकसाथ काम गर्नुभयो । तर दुवै जनाको बीचमा चिनजान थिएन । शरतसिंह यादवलाई थाह थियो कि शरतसिंह भण्डारीको नामबाट आफ्नो नाम राखिएको हो तर शरतसिंह भण्डारीलाई त्यसबारेमा जानकारी थिएन ।
एक दिन शरतसिंह यादवले एउटा कार्यक्रममा शरतसिंह भण्डारीलाई आफ्नो नामको बारेमा सबै कुरा बताए पछि दुवै जनाको बीचमा आत्मियता बढेको थियो । तर शरतसिंह यादव धेरै दिन त्यो पार्टीमा टिक्न भएन । २०७९ को आमचुनावपछि लोसपा छाडेर जनमत पार्टीमा प्रवेश गर्नुभयो ।
तपाईको प्रतिक्रिया