शिक्षामा पहिचान बनाउँदै वरियारपट्टी

क्याम्पस स्थापनाका लागि श्री श्री १०८ श्री विष्णु महायज्ञ गरेर सिरहाका वरियारपट्टी गाउँपालिकाले एक करोड रुपियाँभन्दा बढी रकम संकलन गरेको थियो । सो रकमले क्याम्पसका लागि दुई विघा तीन कठ्ठा जग्गा पनि किनि सकेको छ । कात्तिक २३ गते सोही गाउँपालिकाका युवा समाजले वरियारपट्टी विज्ञान तथा कला प्रदर्शनी–२०८० सम्पन्न गरेको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई बढाउनका लागि गरिएको सो प्रदर्शनीमा १५० वटा स्टल थिए । सिरहा जिल्लाकै सबभन्दा ठूलो विज्ञान प्रदर्शनी सम्पन्न भएको समाजसेवी रामरिझन यादवले बताउनुभयो । उहाँले आफू सो कार्यक्रममा जान नपाएपछि रेकर्डेड मन्तव्य राखेको बताउनुभयो । सो कार्यक्रमको प्रमुख अतिथी निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा.आयोधी प्रसाद यादव हुनुहुन्थ्यो भने अन्य वरिष्ठ शिक्षाप्रेमी प्रध्यापकहरुको उपस्थिति थियो । हुलाकी राजमार्गमा अवस्थित वरियारपट्टी गाउँपालिका पिछडिएको गाउँमा दर्ज थियो तर पछिल्लो समय शिक्षामा गरेको लगानी र प्रयासले जिल्लाकै शैक्षिक हब बन्ने सम्भावना आफूले देखेको उहाँले बताउनुभयो ।
वरियारपट्टीमा एउटा क्याम्पस स्थापना हुनुपर्छ भनि विगत १२ वर्षदेखि आफूले प्रयास गर्दै आएको बताउँदै उहाँले २०६८ सालमा पहिलो पटक वरियारपट्टीमा क्याम्पस स्थापना हुनुपर्छ भनि गोष्ठीको आयोजना गर्नुभएको थियो । उहाँले त्यो गोष्ठी गराएपछि शिक्षामा लगानी गर्नुपर्छ, क्याम्पस खोल्नुपर्छ भनि त्यहाँका बुद्धिजिवी तथा गाउँलेहरुले अगुवाई गरेका थिए । त्यसको नतिजा हो महायज्ञ गराएर जग्गा खरिद गर्नु ।
जग्गा किनेपछि क्याम्पसको नाम हुलाकी बहुमुखि क्याम्पस वरियारपट्टी राखिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन पनि लिइसकेको छ । सो विश्वविद्यालयले पहिलो वर्ष बीएड दिने आश्वासन पनि दिएको समाजसेवी यादवले बताउनुभयो । वरियारपट्टी गाउँपालिकाको टीमले भिसी प्रा.डा. यादव कोइराला, रेजिष्टार निलमणि पोखरेल, डीन प्रा.डा.अनिल पोखरेलसँग भेटेर भए भरका तयारीको बारेमा जानकारी गराइसकेको छ ।

तपाईको प्रतिक्रिया