अन्तरराष्ट्रिय समितिमा राख्ने भन्दै सिके राउतले उठाउँछन् रकम
१८ पुष २०८०, बुधबार ०९:४३
जनमत पार्टी निकट गैर आवासीय मधेशी संघको अन्तराष्ट्रिय समितिको कार्यसमितिमा आउने सदस्यसँग जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले रकम असुल्न लाग्नु भएको छ । गैर आवासीय मधेशी संघको अन्तराष्ट्रिय समितिको महाधिवेशनमा उम्मेदवारहरुका लागि चर्को शुल्क निर्धारण गरेको छ । जुन शुल्क दिनका लागि विदेशमा रहेका मधेशीहरुलाई गाह्रो भइरहेका छ । अन्तरराष्ट्रिय समितिको पदाधिकारीमा उम्मेदवारी दिनका लागि अध्यक्ष पदका लागि १५ हजार, वरिष्ठ उपाध्यक्षका लागि १२ हजार उपाध्यक्षका लागि १० हजार, महासचिवका लागि नौ हजार र अन्य कार्यकारिणी पदाधिकारीका लागि सात हजार र सदस्य पदका लागि तीन हजार रुपियाँ तोकिएको छ । जुन रकम फिर्ता हुने छैन ।
उम्मेदवार बन्नका लागि सन् २०२१, २०२२ र २०२३ जुनसम्मको सहयोग राशी तिरि सकेको हुनुपर्ने प्रावधान राखिएको छ तर ढिलो सदस्यता लिएको हकमा भने सदस्यता लिएको मिति भन्दा पछिको भुक्तान भएको हुनुपर्ने प्रावधान राखिएको गैर आवासीय मधेशी संघले जनाएको छ । यो संघमा प्राय मजदुरहरु आवद्ध छन् । कमाई त्यति छैन तर जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न बहानामा ती मधेशीहरुबाट रकम उठाइ रहनु हुन्छ । संघमा आवद्ध भएको कारण त्यसको लेबी महिनै महिना बुझाई रहनु पर्छ तर अहिले महाधिवेशनको नाम पनि रकम असुल्ने काम भइरहेको छ ।
उम्मेदवारी दिने म्याद डिसेम्बर ११ देखि ३१ सम्म राखिएको छ । उम्मेदवार बन्नका लागि गैर–आवासीय मधेशी संघको आजीवन सदस्य भएको हुनु पर्ने प्रावधान पनि राखेको छ । कार्यकारिणी सदस्यको हकमा कम्तीमा पहिला १ कार्यकाल अन्तर्राष्ट्रिय समितिमा काम गरेको हुनुपर्ने या अधिवेशन समितिद्वारा मनोनित भएको हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरि, अन्तर्राष्ट्रिय सदस्यको हकमा पहिले एक कार्यकाल कुनै पनि देशको केन्द्रिय समितिमा काम गरेको हुनुपर्ने या अधिवेशन समितिद्वारा मनोनित भएको हुनुपर्ने गैर आवासीय मधेशी संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय अधिवेशन समितिलाई आवश्यक परेमा गैर–आवासीय मधेशी संघको महाधिवेशन पदाधिकारी छनौटको प्रावधान हेरफेर गर्न सकिने भनिएको छ । राष्ट्रिय समितिका पदाधिकारी तथा एरिया समितिका पदाधिकारीहरू अन्तर्राष्ट्रिय समितिमा मनोनित हुन नसक्ने बताइएको छ । समितिमा अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष बढीमा ५, महासचिव एक जना, सचिव बढीमा ५ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, मिडिया संयोजक, सह–मिडिया संयोजक एक–एक जना तथा अन्तर्राष्ट्रिय कार्यकारिणी समितिमा बढ़ीमा १८ जना पदाधिकारी रहने बताइएको छ ।
तपाईको प्रतिक्रिया