उपेन्द्र यादवकै सामु मुख्यमन्त्रीले भने पत्रकारलाई संघीयता विरोधी

जनता समाजवादी पार्टी नेपालको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री बन्नुभएका सरोजकुमार यादवले सोही पार्टी निकट पत्रकारलाई संघीयता विरोधी भन्नुभएको छ । जसपाका भातृ संगठन प्रेस मञ्चमा आवद्ध पत्रकारले संघीयता सम्बन्धी समाचार नलखेको भनि मुख्यमन्त्री यादवको गुनासो थियो । प्रेस मञ्च मधेश प्रदेश समितिले जनकपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, ‘अरु कुरा के भनौं हाम्रै प्रेस मञ्चका साथीहरुले संघीयताको पक्षमा कलम चलाउनु भएको छैन ।’
जसपाका अध्यक्ष उपेन्द्र यादव समेत उपस्थित रहनुभएको कार्यक्रममा उहाँले आफू प्रधानमन्त्री प्रचण्डसँग संघीयताका लागि लडि रहेको तर आफ्नै पत्रकारले त्यसको बारेमा नलेखेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले संघीयता बचाउनका लागि संघीय सरकारसँग लडाई गरिरहेको छु, तर आफ्नै पार्टी निकट रहेका पत्रकारले मलाई सहयोग गरिरहेको छैन ।’
‘तपाईहरुसँग मेरो एउटा मात्र आग्रह छ कि यतिका सञ्चारकर्मी हामीसँग हुँदा हुँदै पनि संघीयताको विषयमा कहिल्यै कुनै न्युज लेखेको छैन । जो समाचार आउँछ प्रदेश सरकारकै विरुद्धमा आउँछन् । यो भन्दा पहिले पनि यस्तै थियो, अहिले पनि त्यस्तै छ, उहाँले गुनासो गर्नुभएको थियो । यसअघिका सरकारले पनि सात वटै प्रदेशभन्दा राम्रा राम्रा काम गरेको थियो तर राम्रो कामको कुनै पनि पत्रकारले समाचार लेखेनन्, अरु अरु पत्रकारले लेखेनन् तर आफ्नो पार्टीका पत्रकार, सरकार निकट रहेका पत्रकारहरुले लेख्नुपर्ने हो नि तर लेख्दैनन् बरु खेदो खन्छन् तर सही समाचार कहिले पनि नलेखेको उहाँको गुनासो थियो ।
संघमा एनसेन काण्डमा जति पैसा खाएका छन्, प्रदेश सरकारको त्यति बजेट पनि छैन, तर त्यसको बारेमा कसैले नलेखेको उहाँको गुनासो थियो । मुख्यमन्त्री यादवले प्रदेश सरकारले गरेको राम्रो प्रशंसा गरिदिनुपर्ने धारणा राख्नुभएको थियो । राम्रो कामको प्रशंसा गर्दैन तर सायरी र गजल बनाएर मधेश सरकारलाई गाली गरिरहेका हुन्छन्, भन्दै मुख्यमन्त्री यादवले भन्नुभयो, ‘यस्ता कुरा आफ्नै निकटहरुबाट आउँदा चित्त दुखेर आउँछ ।’

तपाईको प्रतिक्रिया