फोहर व्यवस्थापनका लागि नगरपालिका र ग्रीन सिफ्ट बिच सम्झौता

महोत्तरी माघ २३ गते । फोहर व्यवस्थापनका लागि बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग सम्झौता गरेको छ । युरोपेली संघको सहयोगमा सञ्चालित सो चारवर्षीय परियोजना क्रिएशनले सञ्चालन गरिरहेको छ ।
बर्दिवास नगरपालिकाकामा सो परियोजनाले फोहोरमैला व्यवस्थापनका लागि तथ्याङ्क संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्ने सो नगरपालिकाका उपमेयर तारा देवी महतोले बताउनुभयो ।
उपमेयर महतोले यो सम्झौताले प्लास्टिक फोहर व्यवस्थापन क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । यो परियोजना सफल पार्नमा नगरपालिकाको पूर्ण सहयोग रहने बताउँदै उहाँले यसबाट नगरपालिका बासीले लाभ लिने कुरामा पनि विश्वस्त रहेको बताउनुभयो ।
बर्दिवास नगरपालिकासहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका नौ वटा पालिकामा काम गरिरहेको छ । ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरुको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र सरकार मिलेर काम गरिरहेको छ ।
यो परियोजनाले सन् २०३० सम्ममा १०० नगरपालिकामा फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । विगत केही दशकहरूमा प्लास्टिकको खपत उल्लेखनीय रूपमा बढेको छ । जसले प्लास्टिक फोहोर व्यवस्थापनका लागि महत्वपूर्ण चुनौतीहरू सिर्जना गरेको छ । नेपालभरका ल्यान्डफिलहरूमा दैनिक करिब ६०० टन प्लाष्टिक फोहोर फालिन्छ ।
परियोजनाका अनुसार नेपालमा प्लास्टिक चुहावट प्रतिवर्ष करिब २० हजार ६०० टन हुने अनुमान गरेको छ । यी प्लास्टिकहरू समयको साथ वातावरणमा सञ्चित भएर म्याक्रो र माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छन् जसले वातावरणमा नकारात्मक प्रभाव पार्छ ।

तपाईको प्रतिक्रिया