‘म कुनै भैंसी दुहुन गएर दूध लिएर आए भने जस्तो होइन । हाम्रा विचार, समस्याहरू त्यहाँ राख्न गएको हो, राखियो । यी समस्याहरू एउटा देशका मात्र होइन, सबैका हुन् । सबै देश मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो । अल्पविकसित देशहरूले क्षति र मार सहनु परेको छ, त्यसमा विश्वसमुदायको ध्यान जानुपर्छ ।’
असोज १४ गते अमेरिकाबाट फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई दिनुभएको प्रतिकृया हो यो । असोज ४ गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री ओलीको भ्रमण सफल नभएको टिप्पणी भइरहेको छ । आठ दिनसम्म अमेरिका रहेका प्रधानमन्त्री ओलीको उपलब्धी भनेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नु हो ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली भारत जान तयार हुनुहुन्थ्यो तर भारतले औपचारिक रुपमा नबोलाएपछि बाटैघाट कतै भेटी हालौ भनेर प्रधानमन्त्री ओली अमेरिकाको भ्रमणलाई त्यति लामो बनाएको जानकारहरु बताउँछन् । मानौ मोदीलाई नै भेट्न अमेरिका जानु भएको थियो । भदौं १९ गते थाइल्याण्डमा हुने भनिएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को सम्मेलनमा नै प्रधानमन्त्री मोदीसँग भेट्ने तय भएको थियो तर सो सम्मेलन स्थगित भएपछि अमेरिकाको युएन महासभामा भेट्ने मन उहाँले बनाउनु भएको थियो ।
अन्य देशका प्रमुख तथा प्रतिनिधिहरु दुईदेखि तीन दिन मात्र त्यहाँ बिताएका थिए तर प्रधानमन्त्री ओली आठ दिनको लामो सेडुल लिनुको कारण भारतका प्रधानमन्त्री नै हो ।
प्रधानमन्त्री ओली अमेरिका पुग्दासम्म प्रधानमन्त्री मोदीले भेटघाटको निश्चित गर्नुभएको थिएन । भारतीय प्रधानमन्त्री मोदीसँग भेट्नका लागि ओलीका निजी सचिवालय, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, अमेरिकास्थित नेपाली दुतावास, भारतस्थित नेपाली दुतावास लागि परेका थिए । तर प्रधानमन्त्री मोदीले आफ्नो व्यस्त कार्यतालिका देखाउँदै पन्छि रहनु थियो । अन्त्यमा अमेरिकाबाट नै कुटनीतिक पहल भएपछि मात्र मोदीले ओलीसँग भेट्न तयार भएको स्रोतले दावी गरेको छ । त्यो स्रोत भन्छ, ‘प्रधानमन्त्री ओलीले एक्लै भेट्न चाहनु भएको थियो तर मोदीले त्यसमा सहमति जनाउनु भएन । आफ्नो सम्पूर्ण टीमका साथ मात्र भेटघाट गर्नुभएको थियो ।’
मोदीले त्यस्तो गर्नुको कारण प्रधानमन्त्री ओलीको स्टन्ट रहेको छ । वान टु वान भेटेपछि उनले भएका नभएका कुरा पनि भन्नुहुन्छ बुझेर नै भारतका प्रधानमन्त्री मोदीले एक्लै भेट्न नचाहेको जानकारहरु बताउँछन् । छोटो समयका लागि भेटेपछि प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण सफल भएको छ । त्यो भ्रमणको क्रममा पनि भारतले ओलीलाई भ्रमणका लागि निम्तो दिएन । बरु प्रधानमन्त्री ओलीले दोस्रो पटक नेपाल भ्रमणका लागि मोदीलाई निम्तो दिनुभयो । परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीको तर्फबाट भ्रमणको निम्तो दिनुभएको थियो ।
अमेरिका जानु भन्दा पहिले भारतको विरुद्धमा आगो ओक्लनु भएका प्रधानमन्त्री ओली त्यहाँबाट फर्केपछि चुपचाप हुनुहुन्छ । सीमा समस्या, इपीजी प्रतिवेदनको बारेमा लगातार अभिव्यक्ति दिनुभएको थियो । सीमा समस्या भारतले समाधान गर्नुपर्छ, इपीजी प्रतिवेदन सार्वजनिक गर्नुपर्छ जस्ता अभिव्यक्ति दिएर अमेरिका गएर फर्केपछि भारतको बारेमा चुपचाप हुनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीसँग अमेरिकामा भेटेको विषयमा पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनै प्रतिकृया दिनु भएन ।


तपाईको प्रतिक्रिया