Khadya Bibhag

खानेपानी मन्त्री भारत प्रस्थान

काठमाडौँ, फागुन १७ गते । जनता समाजवादी पार्टीका उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादव शनिबार भारतको औँपचारिक भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव भारत प्रस्थान गर्नु भएको खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागि हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो । उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु हुने छ ।”
भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्रमा हस्ताक्षर हुने जनाईएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको सहसचिव ई श्रेष्ठले बताउनुभयो ।
उक्त सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने जनाइएको छ । उक्त सम्झौताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।
यसैगरी भारतको नीति आयोगसँग समेत छलफल गर्ने र त्यहाँका केही राम्रा खानेपानी आयोजनाको फिल्ड भ्रमण समेत गरिने कार्यक्रम पनि तय भएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया