काठमाडौँ चैत १ गते
डा.सिके राउत नेतृत्वको जनमत पार्टीम यतिखेर भाँडभैलो मचिएको छ । जनमत पार्टका अध्यक्ष राउतले पार्टीका शीर्ष नेताहरुलाई धमाधम स्पष्टिकरण सोध्नु भएको छ । आफ्नो दाइ जयकान्त राउतलाई पार्टीमा स्थापित गराउनका लागि उहाँले शीर्ष नेताहरुलाई विस्थापित गर्न लागेको पार्टीका नेताहरुले गुनासो गर्नुभएको छ । पार्टीमा रहेका अन्य शीर्ष नेताहरु सिके राउतको व्यवहार र शैलीबाट खुशी हुनुहुन्न । शीर्ष नेताहरुबाट अध्यक्ष राउत असुरक्षित महसुस गर्नुभएको छ । पार्टीबाट हटाइ दिन्छन् कि भनि चिन्ता अध्यक्ष राउतको रहेको छ ।
त्यसैले उपाध्यक्षदेखि लिएर कोषाध्यक्षसम्म सबै नेताहरुलाई पालो पालो स्पष्टिकरण उहाँले सोध्नुभएको छ । स्पष्टिकरण सोधेर नेताहरुलाई दबावमा राखेर आफ्नो अनुकुल पार्टी सञ्चालन गर्ने र आफ्नो दाइ पार्टीमा स्थापित गर्न लाग्नु भएको नेताहरुले बताउनुभयो । राजनीतिमा केह ीभयो भयो वा पार्टी छाड्ने अवस्था आयो भने पार्टीको नेतृत्व आफ्नो दाइलाई दिने गरी भूमिका तयार गरिरहनु भएको छ ।
जयकान्त राउत जनमत पार्टीमा अहिले राष्ट्रिय परिषद्का अध्यक्ष एवं संगठन विभागका प्रमुख हुनुहुन्छ । तर उहाँलाई अब पार्टीमा कार्यकारी भूमिकामा ल्याउनका लागि अध्यक्ष सिके राउतले यी सबै षड्यन्त्र गर्नुभएको पार्टीका कतिपय नेताहरुले गुनासो गर्नुभएको छ । जयकान्त राउतलाई पार्टीको सकेण्डम्यान वा आफूभन्दा राख्ने गरी सिके राउतले तयारी थाल्नुभएको छ । जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई लगभग एउटै प्रकृतिको आरोप लगाउनु भएको छ ।
पार्टी विभाजन गर्न षड्यन्त्र गरेको, चुनावमा पार्टीलाई सहयोग नगरेको, आर्थिक चलखेल गरेको जस्ता आरोप दुवै जनालाई लगाउनु भएको छ । उपाध्यक्ष साहलाई त अध्यक्ष राउतले आफ्नो श्रीमतीलाई आफू विरुद्ध उचाल्ने काम गरेको आरोप लगाउनुभएको छ । जब कि सिके राउतले स्वतन्त्र मधेश गठबन्धन सञ्चालन गर्दा उपाध्यक्ष साह र कोषाध्यक्ष यादव दुई पिलर नै हुनुहुन्थ्यो । सिके राउतलाई राजनीतिमा ल्याउने व्यक्ति नै उपाध्यक्ष साह हुनुहुन्छ । पार्टीलाई आर्थिक रुपमा अगाडि बढाउन, हरेक प्रकारको सहयोग गर्न कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको महत्वपूर्ण भूमिका रहेको छ ।
पार्टीमा अनुशासनहिन काम गरेको भन्दै पार्टीका अनुशासन समितिले फागुन २१ गते उपाध्यक्ष दीपक साहलाई ११ बुँदे स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफ उहाँले दिइसक्नु भएको छ । उपाध्यक्ष साहले आफूमाथि लगाएको आरोपलाई पुष्टि गर्न र त्यसको प्रमाण दिन अनुशासन समितिलाई चुनौती दिएका छन् । अनुशासन समितिको संयोजकबाट निलम्बित उपाध्यक्ष साहले आफूमाथि लागेको सबै आरोप कपोकल्पित र भ्रमपूर्ण रहको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
पूर्वाग्रही तथा व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर भ्रमपूर्ण र तथ्यहिन आरोप तथा स्पष्टिकरणलाई उपाध्यक्ष साहले खारेज गर्नुभएको छ । उल्टै त्यसलाई प्रमाणित गर्न उहाँले सिके राउतलाई चुनौति दिनुभएको छ । उपाध्यक्ष साहमाथि यसअघि पनि पार्टीका अध्यक्ष डा.सिके राउतले विभिन्न आरोप लगाइ रहनु भएको छ । त्यतिबेला पनि उहाँले अध्यक्ष राउतलाई आरोपलाई प्रमाणसहित पुष्टि गर्न आग्रह गरेको तर अध्यक्ष राउतले त्यसको कुनै जवाफ नदिइ पुन स्पष्टिकरण सोध्नु भएको उपाध्यक्ष साहले बताउनुभयो । त्यो कुरा पनि उहाँले आफ्नो स्पष्टिकरणमा उल्लेख गरेका छन् । उपाध्यक्ष साहले आफूमाथि अध्यक्ष राउतले विगत ६–७ महिनादेखि षड्यन्त्र गरेको कुरा पार्टीको नेता तथा कार्यकर्ताबाट थाह पाएको पनि स्पष्टिकरणमा उल्लेख गरेको बताउनुभयो । अध्यक्ष राउतले त आफूलाई बर्बाद गरिदिनेसम्मको धम्की दिएको आरोप उपाध्यक्ष साहले लगाउनु भएको छ । उपाध्यक्ष जस्तो पदमा बसेर पार्टीमा समय नदिएको, पार्टीका महत्वपूर्ण बैठकमा समय नदिएको, पार्टीको सचिवालयमा रहेर पनि जागिरबाट राजिनामा नदिएको, सचिवालय सदस्यले प्रत्यक्ष निर्वाचन लड्नु पर्ने आदि जस्ता निर्णयलाई उल्लघंन गरेको जस्ता उपाध्यक्ष साहमाथि लगाइएको छ ।
जनमत पार्टी घोषणा हुँदा जागिर खाएर पहाडमा बसेको, पार्टी दर्ता गर्ने बेलामा पनि काठमाडौंमा हुँदा पनि उपस्थित नभएको, राष्ट्रिय अध्यक्ष महिनौं जेल बस्दा पनि संगठनको कुनै मतलब न गरेर जागिरमा गएर बसिदिने जस्ता उहाँमाथि लगाइएको छ । किसान आन्दोलनको क्रममा पनि कतै नदेखिएको, २०७९ को चुनावमा कतै नदेखिएको, आफ्नो मत पनि पार्टीलाई नदिएको, अध्यक्ष राउतका अस्वस्थ श्रीमतीलाई माइत पूर्णियाबाट बोलाउन लगाएर महिला सेल, महिला आयोग सहित विभिन्न निकायहरूमा ऊजुरी गर्न लगाएको जस्ता अरोप उहाँमाथि लगाइएको छ ।
समग्र पार्टीकै बदनामी गर्ने र यही बहानामा पार्टीमा आफ्नो बर्चस्व बढाउने षड्यन्त्र गरेको, देश–विदेशका कार्यकर्तामा अध्यक्षको विरोधमा लबी गरेको जस्ता आरोप उपाध्यक्ष साहमाथि लागेको छ ।
त्यस्तै जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले पार्टीका अध्यक्ष डा.सिके राउतले व्यक्तिगत रिसवीका कारण आफूलाई निलम्बन गरेको दावी गर्नुभएकोछ । जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै उहाँलाई पार्टीबाट निलम्बन गरेको छ । सिके राउतले व्यक्तिगत रिसिवीका कारण आफूसँग स्पष्टिकरण सोधेको दावी कोषाध्यक्ष यादवले गर्नुभएको छ ।
स्वतन्त्र मधेश गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारवाही गरेको दावी गर्दै उहाँले वगत १६ वर्षदेखि संगठनमा लागेको र पार्टीलाई यहाँसम्म ल्याइ पुर्याएको दावी गर्नुभयो । पार्टीमा तपाईको व्यक्तिगत लगानी कति हो त भनि जिज्ञासामा उहाँले अहिलेसम्म पाँच करोड भन्दा बढी रकम आफूले दिएको तर त्यसको हिसाब किताब माग्दा उल्टै स्पष्टिकरण सोधेको दावी गर्नुभयो ।


तपाईको प्रतिक्रिया