नवीन नेपाल निर्माणको लागि अपिल !
प्रिय जेन-जी (Gen Z) पुस्ता, र सम्मानित जनसमुदाय,
अहिलेको ऐतिहासिक क्रान्तिमा शहादत गरेका सबैलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोकसंतप्त परिजनामा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरू छिटो स्वस्थ हुन् भन्ने कामना कामना गर्दछु। म यो विद्रोहमा युवा पुस्ताले देखाएको नेतृत्व र साहसलाई सम्मान गर्दछु। भ्रष्टाचार, अन्याय र कुशासन विरुद्धको तपाईंहरूको संघर्ष नेपालको भविष्यका लागि अत्यावश्यक छ।
यो आन्दोलन तपाईंहरूको पुस्ताको साहस र जागरूकताको प्रतीक हो। भ्रष्टाचार, कुशासन, र सामाजिक-आर्थिक असमानताले थिचिएको यो देशमा तपाईंहरूले परिवर्तनको बिगुल फुकेर नयाँ युगको सुरुवात गर्नुभएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र ओली एवं शासकहरूको अहंकारले यो विद्रोहको ट्रिगर बने पनि, यसको पछाडि लामो समयदेखि संचित असन्तुष्टिको पहाड छ- संविधान निर्माणमा मधेश र आदीवासी जनजातिको किनारीकरण, दुईतिहाइ कम्युनिस्ट सरकारको असफलता, भ्रष्टाचार काण्ड लुकाउने, आर्थिक संकट, खोला तथा सडक मापदण्ड, सहकारी ठगीपीडित, मुक्कुमलुंग लगायत संघर्ष र बारम्बारका अनैतिक सत्ता समीकरणजस्ता कुराहरूले जनताको धैर्य तोडिएको हो।
यी सबै बेथिति विरुद्ध तथा हरेक प्रकारको विभेदको अन्त्य, सभ्यता अनुकुल शासन पद्दती र सुशासन एवं समृद्धिको निम्ति भनेरै गतवर्ष देखि राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरी निरन्तर संघर्षरत छु। लोकतन्त्र र नागरिक अधिकारको सवालमा भएका २०४६ र २०६२/२०६३ यसपछीको मधेश विद्रोह लगायतका आन्दोलनहरुमा सक्रिय पुर्वक सहभागी छु। तपाईहरुको यस एतिहासिक आन्दोलनमा पूर्ण समर्थन सहभागिता जनाउदै म र म संलग्न रहेको पार्टीका समुर्ण पक्ति सहभागी एवं अगुवाई गरेकै हो। यद्दपी यो विद्रोहको नेतृत्वकर्ताको श्रेय पाउन हकदार भने पूरापूरा ‘जेनजी’ नै हो। ‘जेन जी’ पुस्ताले आफ्नो अहिलेसम्मको जीवनमा नेतृत्व, राज्य र सरकारबाट भ्रष्टाचार बाहेक केही सुन्न, कुशासन बाहेक केही भोग्न पाएको थिएन। यी संस्थालाई उनीहरू भ्रष्टाचार र कुशसानको प्रतिक मानेर नै भत्काउन पुगेका हुन्।
प्रिय जेन-जी पुस्ता,
आजसम्म संसारमा जहा पनि परिवर्तन भएको छ, यहाहरुको पुस्ताले नै गरेर सम्भव भएको हो। कुन पुस्ताले के गर्ने भनेर हाम्रो पूर्वीय सभ्यता एवं दर्शनहरुले स्पष्ट नै भनेको छ। मानव जीवनको वास्तविकतालाई आत्मसात् गर्दै ज्ञान, कर्तव्य, त्याग र अध्यात्मका आधारमा जीवनका चार अवस्थालाई चार आश्रम- “ब्रम्ह्मचर्य”, “गृहस्थ”, “वानप्रस्थ” र “संयास ” का रूपमा व्यवस्थित गरिएको छ। यस परिवेशमा मेरो पुस्ताले निर्वाह गर्ने भूमिका प्रति सचेत नभएर पनि तपाईहरुमा यो आक्रोस उत्पन्न भएको हो। वानप्रस्त एवं संयासको अर्थ निस्कृय हुनु होइन। तसर्थ म सचेतता पुर्वक यहाहरुलाई केहि सुझाव दिन चाहन्छु। मलाई यो पनि ज्ञात छ कि म मधेशको नागरिक भएकोले नै म विरुद्ध ओली डक्ट्रिन(घिर्णा भाष्य) को प्रभाव अहिलेको पुस्तामा पनि परेको हुनुपर्छ तर यस प्रभावबाट मुक्त रहनु होला । तपाईहरुको पुस्ताले चाहेको विभेदको उन्मुलन तथा सुशासन अहिलेको सत्ता संरचनाबाट सम्भव नै छैन। र यतिको कुर्वानी, खरबौंको क्षति केवल सत्ता परिवर्तनको निम्ति मात्र भए देश र जनताले यथार्थमा केहि पाउनेवाला छैन, तपाईको पुस्ताको महान क्रान्ति व्यर्थ जानेछ।
तसर्थ अब अहिलेको संरचना, चेतना र समाजको पुनर्निर्माणको समय हो। मौजुदा औपनिवेशिक, जातिवादी, पूँजीवादी र उपभोक्तावादी संरचनाले राष्ट्रको राजनीतिलाई मात्र होइन, समाजको आत्मालाई पनि विकृत बनाएको छ। त्यसैले, जेन-Z क्रान्तिको उपलब्धि सम्पुर्ण रूपान्तरणको निम्ति हुनुपर्दछ। यत्रो उर्जा खेर जान दिनु हुन्न, ताकी फेरि अर्को पुस्ता लडनु नपरोस्।
अब के गर्ने अन्यौल छ, कहा पुग्ने अनिश्चित छ। अहिले “अनिश्चितता र भ्रमको अवस्था” छ। यो अवस्थाले हाम्रो समाज र राष्ट्रमा गहिरो असर पुर्याउँदैछ। यसले नेपाली समाज भित्र ठूलो विचलनको स्थिति पैदा भएको छ। हामीले अनुभव गर्यौ यथास्थितिमा रहेको लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, र समृद्धिको नाममा केवल एकल वर्ण, वर्ग र समूह एवं तिनको परिवारको सेवा गरिरहेको छ। यसले उत्पीडित, उपेक्षित, र बहिष्कृतहरूलाई परिधिमा थप धकेल्ने काम गरिरहे। सामाजिक, सांस्कृतिक, राजनीतिक, र आर्थिक क्षेत्रहरूमा देखिएका चुनौतीहरूप्रति अब हाम्रो दृष्टिकोण केवल प्रतिक्रियात्मक मात्र होइन बरु अवसर खोज्ने र समाधान प्रस्तुत गर्ने खालको हुनुपर्छ। यसका लागि अब नयाँ सोच, वैकल्पिक दृष्टिकोण र रणनीतिक कदमहरू आवश्यक छन्।
गोर्खाका राजा पृथ्वी नारायण शाहको राज्य विस्तार र त्यसपछि सुगौली सन्धि एवं नयाँ मुलुकको प्राप्ति पश्चात वर्तमानको नेपाल निर्माण हुन् सकेको हो । यसरी गोर्खा राज्य विस्तार हुदा अनेकौ सार्वभौम राज्य सहित विविध संस्कृति पनि यस सरहद भित्र रहन गयो। तत्काल बिद्रोह नहोस भनेरै राजा पृथ्वी नारायण शाहले निर्दिष्ट गरे “नेपाल चार जात छत्तिस वर्णको साझा फुलवारी हो, सबैलाई चेतना भया”। तर त्यसपछिका कुनै शासकमा उक्त चेतना आउन सकेन । नेपाल स्थिर रहन नसक्नुको प्रारम्भ यहि बाट भएको हो ।
यहाँका शासकले आफ्नो बाहेक सबै सँस्कृतिलाई सिध्याउन्ने प्रयास गरे, असभ्य भने, बिदेशी भने, अराष्ट्रिय भने, मासिन्या घोषित गरे। शाह राजाहरुको शासन केवल बंशको निम्ति, राणाहरुको शासन जहानको निम्ति, प्रजातन्त्रदेखि गणतन्त्रसम्मको शासन केवल एउटा नश्लको निम्ति गौरवको सत्ता हुन गयो। तर यो एक भ्रमपूर्ण आत्मगौरवयुक्त सत्ता थियो। अझ पश्चिमा ज्ञानको प्रभावमा परेर आधुनिकताको नाममा शासकले आफ्नै संस्कृती समेतलाई संकटमा पारे, जसलेगर्दा नेपाली समाज आज बिघटनको संघारमा पुगेको छ। पृथ्वीनारायण शाहले जगाउन खोजेको चेतना उनका बंश, जहाँनिया राणा शासक र नश्लीय सम्भ्रान्तहरुमा आउन सकेन।
नेपालमा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विकास, र समाजवादका नाममा उठाइएका बहसहरू सम्भ्रान्त वर्गको झूट, फरेब, र जनतालाई झुक्याउने प्रपञ्च सावित भए। खस-आर्य, पहाडी आदिवासी र मधेशी-थारु, दर्जनौं राष्ट्र (जाती/संस्कृती) समूहहरूको उपस्थितिले मुलुकलाई विविधतायुक्त बनाएको छ। तर, यी सबै समुदायलाई समान अधिकार र सम्मानसहितको साझा देश बनाउन असफल हुँदैगर्दा विभाजन र असमानता कायम छ। समाजमा एकता र समता सुनिश्चित गर्न नसक्नु नै देशका समस्याहरूको मूल जड हो।
प्राकृतिक स्रोतहरूको ह्रास, सांस्कृतिक बहुलताको अस्वीकार, र स्वदेशी ज्ञानको उपेक्षाले हाम्रो राष्ट्रलाई कमजोर बनाएको छ। हाम्रो मनोविज्ञान नै मगन्ते बनाइदियो, पहिचान र स्वाभिमान गुम्यो, सभ्यता र संस्कृती दबाइयो, सुशासन र समृद्धीका सपना भत्काइयो। यस्तो विशाल ध्वंसकारी कार्यको नेतृत्व राजा महाराजाहरु र तत्पश्चात काँग्रेस र कम्युनिष्टहरुले गरे। आज उनीहरुका कारण हाम्रो सभ्यता संस्कृतिलाइ असभ्य भनियो, बहुलता, पहिचानलाइ इन्कार गर्ने काम भयो, हाम्रो उन्नत ज्ञान मास्ने काम भयो, हामीलाई पश्चिमा र विदेशमुखी बनाइयो। यहाँका स्वदेशी वहुल ज्ञान(दर्शन, कला, साहित्य, सौन्दर्यता)को संहार भयो, बहुल समाज व्यवस्थालाई निषेध गरे, ऐतिहासिक वहुल राष्ट्रहरुलाई राज्यविहिन बनाए। प्रकृतिको विनास गरायो। यसर्थ पश्चिमा ज्ञानले यावत समस्याहरुको सामना गर्नु त परको कुरा, समस्याको सिर्जनाकर्ता नै आफै रहेको प्रमाणित नै भइसक्यो । अत: अब पूर्वीय सभ्यतामा आधारित रहेको स्वदेशीय दर्शन मार्फत ‘स्वदेशवाद’को पुन:स्थापन जरुरी भइसकेको छ।
समस्या कहाँ छ ?
१) संविधान निर्माणको क्रममा दुश्मन देशका दुश्मन नागरिक सरह वर्वरतापुर्ण दमन गरे । ६ महिनासम्म जनताले प्रतिरोध गरि रहे, बलिदान दिई रहे, मलाइ मारेर फाले तपाईहरुको आन्दोलन जस्तै अन्धाधुन्द गोलि प्रहार भएपछी बाध्य भएर सिमानाका तिर जानु पर्यो, मानवीय क्षति केहि कम भएपनि आन्दोलनलाई निर्मम ढंगले दबाइयो । त्यसपछि समाजिक न्यायको आन्दोलन पनि अगाडि बढन सकेन। निरन्तर आन्दोलनरत रहेका लिम्बुवान लगायत अन्य आदिवासी जनजातिहरुको पहिचानवादी आन्दोलन पनि निष्कर्षमा पुग्न सकेन ।
खासमा शासन पनि एकल नश्लीय र त्यस बिरुद्धको आन्दोलन पनि एकल आयामिक भएकोले नै उत्पिडनमा परेका जनताले चाहेको जस्तो राजनीतिक उपलब्धि प्राप्त गर्न सकेन, देश पनि बन्न सकेन । अब गहिरो संकथन गरी हिमाल, पहाड, तराई मधेसका अधिकार एवं पहिचानवादी सम्पूर्ण उत्पीडितहरुको अवाजलाइ संस्थागत गर्नुपर्दछ ।
२) संस्कृतिको आधारमा राष्ट्रवादको निर्माण र त्यसमै आधारित राजत्व हासिल हुन नसकेको हुनाले नै राज्यसत्ताको स्थिरता रहेन, देश विकासको निरन्तरता छैन, सार्वभौम र स्वतन्त्र देशको हैसियतमा राष्ट्रिय दृष्टिकोण बन्न सकेन, देश र जनता पर-शासीत र पर-निर्भर भए । हामीले स्पष्ट रुपमा देखिरहेका छौं कि राज्य र समुदायवीच अलगाव र सम्बन्ध विच्छेदको मनोविज्ञान तीब्र रुपमा बढीरहेको छ । यसलाई नरोक्ने हो भने देश गम्भीर दुर्घट्नामा पटक पटक फस्न सक्छ । राजनीतिक अस्थिरता र आर्थिक ठहराव भएर देशमा सुशासन कायम हुन् सकेको छैन र सम्वृद्धि हासिल गर्न सकेको छैन । यो दलदलबाट मुलुकलाई निकाल्न अनिवार्य छ ।
गहिरो संकथन गर्दा राष्ट्र/संस्कृति र राज्यत्व बिचको सम्बन्धबाट नै समृद्धि प्राप्त हुन्छ भन्ने निष्कर्ष संसारभरीको अनुभवले दिन्छ । नोबेल पुरस्कार प्राप्त बिभिन्न अर्थशास्त्री समेतले समावेशी संस्थाहरूको आवश्यकता एवं साँस्कृतिक समुह र समृद्धि बिचको प्रत्यक्ष सम्बन्ध हुने कुरा भनेका हुनाले सुशासन र समृद्धि चाहनेहरु संयुक्त रुपमा एकतावद्ध भई देशको वर्तमान ४०-४२ बिलियनको अर्थतन्त्रलाई आर्थिक क्रान्ति मार्फत १५ बर्ष भित्र ५०० बिलियन सम्मको जिडिपी पुर्याउन अनिवार्य भएको छ । यसले गर्दा अहिलेको प्रति व्यक्ति आय सात गुणाले बढने छ, रोजगारी १५ गुणाले बढने छ । यस पुनित कार्यको निमित्त समुदायको मौलिक ज्ञान्, सिप, कलाको व्यवसायिकरण गरी स्वदेशी उत्पादनलाई बढावा दिने, बाह्य पुँजी भित्र्याउने, निर्यात बढाउने, आयात घटाउने लक्ष्य तर्फ पुर्याउन यो क्रान्तिको उपलब्धि हुनु पर्दछ।
३) नेपालको राजनीति स्वदेशीय मौलिक सभ्यताबाट विमुख भई पश्चिमा ज्ञान र दर्शनमा आधारित हुँदा हाम्रो सभ्यता, मूल्य, र पहिचान कमजोर हुँदै गयो । स्वदेशीय जरा काटिएपछि नेपाली समाज परनिर्भर बन्यो, युवाहरू विदेश पलायन भए, कोहि पनि देशमा बस्न चाहेका छैनन्। नेपालको संविधान २०७२ पनि पश्चिमा ज्ञानसत्ताको आधारमा बनेको औपनिवेशिक दस्तावेज, जसले न जनताको स्वाभिमान प्रतिनिधित्व गर्न सक्यो, न त सार्वभौम राष्ट्रको आधार निर्माण गरे । यसले बरु राज्य र समुदायबीच अलगाव बढाएर समाजलाई खण्डित गरिरहेको छ । पश्चिमा ज्ञान र सत्तामा आधारित आधुनिक विकासको नाममा हाम्रो मौलिकता, सभ्यता, र स्रोतहरूको विनाश भएको छ । विश्व सामु केवल उपभोक्ता बनाए । वस्तुको उपभोक्ता, संस्कृतिको उपभोक्ता, ज्ञानको उपभोक्ता जहाँ हाम्रो आफ्नो केहि रहेन । त्यसैले पराई र परको देश नै प्यारो लाग्न थाल्यो।
यो समस्या केवल प्राविधिक नभई गहिरो वैचारिक संकट हो, जसले नेपाली जनताको स्वत्व र राजनीतिक दर्शनबीच खाडल सिर्जना गरेको छ । आयातित मार्क्सवादी र पूँजीवादी विचारहरूले नै स्थानीय सभ्यता र मूल्यहरूलाई कमजोर बनाउँदै यहाँको राजनीतिक संरचना औपनिवेशिक बनाएको छ । राजनीतिक हिसावले नेपाली समाज दोधारबाट लामो समय देखी गुज्रिरहेको थियो । अब यो क्रान्तिले यस्तो औपनिवेसिक संविधानलाई प्रतिस्थापन गर्न सक्नुपर्दछ ।
कसरी अगाडी बढने ?
१) आन्दोलनको क्रममा धेरै ठूलो मानवीय, आर्थिक र भौतिक क्षति भएको छ। कुनै न कुनै प्रक्रियाबाट त्यसको क्षतिपूरण हुनुपर्दछ। शहिद परिवारलाई यथोचित सहयोग गरिनु पर्दछ । घाइते, अपाङ्गको उपचार र सहयोगको व्यवस्था गर्न नयाँ शासनले कुनै कसर र पूर्वाग्रह राख्न हुँदैन ।
२) जेन जी आन्दोलनको भावना अनुरुप अन्तरिम सरकार गठन उचित हुनेछ।मौजुदा प्रतिनिधिसभा रहे सम्म आन्दोलनकारिको भावना अनुकूल अन्तरीम सरकार गठन हुने सम्भावना देखदीन ? नयाँ शासनले संवैधानिक सुधारका विषय ठहर गर्दै राज्य पुनः संरचना सम्बन्धि आयोग लगायतको सुझाव समेत ग्रहण गर्ने गरी “संविधान सुझाव सुधार आयोग” बनाएर संबिधान पुनर्लेखन गरिनु पर्दछ।
३) दलहरुले आजसम्मका गल्तीका लागि गम्भीर आत्मसमीक्षा र श्वेतपत्र जारी गरी नागरिकसँग माफी माग्नु पर्दछ । विगत दुई दशक यताका भ्रष्टाचार काण्ड र अवैध सम्पत्तिको छानबिन गर्न एक उच्चस्तरीय नागरिक आयोग बनाइनुपर्दछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग विघटन गरी जनलोकपालमा परिणत गर्नुपर्छ। त्यसको प्रतिवेदनका आधारमा सबै ठग, भ्रष्टाचारी र अवैध सम्पत्तिवालालाई अभियोजन गरी न्यायको कठघरामा उभ्याइनुपर्दछ।
यति गर्न सके यो जेनजी विद्रोह, आन्दोलन र क्रान्ति सफल भएको मान्नुपर्ने हुन्छ।
आदरणीय मित्रगण,
हाम्रो प्रयास अब केवल पुराना संरचनाहरूलाई टालटुल वा सामान्य सुधारबाट होइन, तसर्थ अब नया नेपाल-साझा नेपाल निर्माणमा केन्द्रित हुनुपर्छ।
नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्रिय हो। त्यसैले अब समाजको स्वत्वसँग मेल नखाने वैचारिकी पराजित हुनुपर्छ, स्वदेशीय सभ्यताको जगमा आधारित प्रणाली निर्माण हुन्छ । तसर्थ: देशका सबै प्रकारका विभेद, शोषण, र अन्यायलाई अन्त्य गर्दै, सबै वर्ग, समुदाय, जात-जाति, धर्म, र क्षेत्रका अधिकार, पहिचान सहित स्वशासन, सुशासन, र समृद्धि प्रदान गर्न तर्फ यो क्रान्तिको उपलब्धि लक्ष्यित् हुनुपर्छ। विगतमा मधेशी-पहाडी(नेपाल)मा फोडेर, मुस्लिम-हिन्दु भेद, आदिवासी-मतवाली र नेपालीमा विभाजन गरेर, दलित, पिछडिएका वर्गहरू निर्माण गरेर “फोड र शासन गर” नीतिको विरुद्ध अब एकताबद्ध भएर ‘जुटौं र आफ्नो सत्ता हासिल गरौं । अब हाम्रो स्वतत्व बचाउने, देश बनाउने, बैभव प्राप्त गर्ने अर्को बिकल्प नै छैन । हामी सबै मिलेर नै नविन नेपाल निर्माणको सपना साकार गर्न सक्छौं ।
सबै नेपालीका लागि समान अवसरको सुनिश्चितता लगायत मौजुदा संविधानमा समेत परिवर्तन ल्याउँदै सम्पूर्ण नेपालीको साझा बनाउने, स्वदेशी जनताको राजत्वको निम्ति, सभ्यता र संस्कृतिको पुनारोत्थान, सुशासन र समृद्धिको निम्ति सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली बैभव प्राप्त गर्न सम्भव छ ।
तसर्थ नविन नेपाल निर्माण अभियानमा सहभागी हुन प्रिय जेनजी (Gen Z) पुस्ताका लगायत बुद्धिजीवी एवं प्राध्यापक शिक्षक, पेशागत एवं कर्मचारी, समाजसेवी एवं पत्रकार, किसान एवं मजदुर, युवा एवं बिधार्थी, उधोगपति एवं ब्यापारी लगायत सबैमा सादर आह्वान गर्दछौँ । तपाईंको योगदान स्वर्णिम युग निर्माणमा ऐतिहासिक छ, देशको मुहार फेरिने निश्चित छ । यो हामी सबैको दायित्व र अवसर दुवै हो । अब समय आएको छ, एकताबद्ध भएर अघि बढ्ने, अब जुटौँ ।
स्वदेशवाद जिन्दावाद-जय मातृभूमि ! धन्यवाद ।
सम्पूर्ण उत्पीडितहरु एक होऔं ! राष्ट्र निर्माण अभियानमा अघि बढौँ !
मिति: २०८२/०५/२६


तपाईको प्रतिक्रिया