महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपाल बिचको एकताको कुरा चलिरहेको बेला लोसपाका अध्यक्ष ठाकुरले तमलोपा र जनता प्रगतिशिल पार्टीलाई आफ्नो पार्टीमा भित्र्याउन लाग्नु भएको छ । वृशषेचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी (जप्रपा)नेपालसँग लोसपा नेपालको एकता हुने भएको छ ।
एकताका लागि तीन वटै पार्टी बिच सहमति भइसकेको छ । मंसिर २४ गते भएको सहमतिपत्रमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल र जप्रपाका अध्यक्ष ह्रदयश त्रिपाठीले हस्ताक्षर गर्नुभएको छ । देशमा हाल विकासित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितिको अन्त्य गर्दै विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेशको लागि एकता गर्ने सहमति गरेको उहाँहरुले बताउनु भएको छ ।
आम निर्वाचन नै एक मात्र विकल्प भएको ठहर गर्दै उहाँहरुले वास्तविक राष्ट्रिय एकताको मजबूती र सम्वद्र्धनको एक मात्र बाटो समान नागरिक अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता र विविधताको सम्मानको सुनिश्चितता नै भएको सहमतिपत्रमा उल्लेख गर्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध सिमान्तिकरणमा पारिएकाहरुको वृहत राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको कारण तीन वटै दलमा एकता हुने सहमति गरेको उहाँहरुले उल्लेख गर्नुभएको छ ।
उहाँ दुवै जना विगतमा महन्थ ठाकुरकै साथमा काम गर्नुभएको थियो । २०६४ मा तमलोपा गठन हुँदा लाल र त्रिपाठी महन्थ ठाकुरको साथमा हुनुहुन्थ्यो । तत्कालिन तमलोपाका संस्थापक हुनुहुन्छ तीनै जना । महन्थ ठाकुर निकट भएर उहाँहरु काम गर्नुभएको थियो । महन्थ ठाकुरको विश्वासपात्रमध्येमा उहाँ दुवै जना पर्नुहुन्थ्यो । तर राजपा नेपाल बन्ने बेलामा नै अध्यक्षमण्डलमा कुरा नमिल्दा त्रिपाठीले महन्थ ठाकुराको साथ छाडेर अलग हुनुभएको थियो । राजपा बनेको केही समयपछि त्यहँँ काम गर्ने अवस्था नरहेको भन्दै बृषेशचन्द्र लाल अलग भएर तमलोपालाई पुनर्गठन गर्नुभएको थियो ।
दुवै जना अलग भए पनि राजनीतिमा आआफ्नो उपस्थिति देखाउन सक्नुभएन । उहाँहरुको पार्टीका लागि अस्तित्वको संकट नै उत्पन्न भयो । अलग भएपछि त्रिपाठी एकपटक २०७४ मा चुनाव जित्नु भएका थियो त्यो एमालेको चुनाव चिन्हबाट । बृषेशचन्द्र लाल एक पटक पनि चुनाव जित्न सक्नुभएन । अर्थात सांगठनिक रुपमा दुवै जना निकै कमजोर अवस्थामा रहनुभयो ।
अन्ततः उहाँ दुवै जना महन्थ ठाकुरसँग मिल्न तयार हुनुभयो । महन्थ ठाकुरको पार्टी, झण्डा, चुनाव चिन्ह, विधान तथा अन्य राजनीतिक दस्तावेजलाई स्विकार गर्दै लोसपा नेपालमा समाहित हुने तयारीमा हुनुहुन्छ । अब उहाँहरुले आआफ्नो पार्टीमा रहेका नेताहरुलाई लोसपा नेपालमा कसरी व्यवस्थापन गर्ने, कुन पद कसले पाउने लगायतका विषयमा छलफल गरेर पार्टी एकता घोषणा गर्ने तयारी भइरहेको छ ।
तर सोचनीय विषय हो छ कि महन्थ ठाकुर र उपेन्द्र यादवबिच एकताको कुरा चलिरहेको बेला ह्रदयश त्रिपाठी र बृषेशचन्द्र लाललाई किन पार्टीमा ल्याएको त्यसको राजनीतिबृतमा चर्चा भइरहेको छ । लोसपा नेपालका एक नेताले भन्नुभयो, ‘लोसपा नेपालसँग एकता भइसकेपछि त्रिपाठी र बृषेश यस पार्टीको नेता रहनुहुन्छ ।
अर्थात यो पार्टीको एउटा अंग बन्नुहुन्छ । पछि जसपा नेपालसँग एकता हुँदा त्यही अनुसार समाहित हुन उहाँहरुलाई पनि सजिलो हुन्छ, त्यही भएर हतार हतारमा यी तीन पाटीबिच एकता भएको हो ।’ जसपा नेपाल र लोसपा नेपाल बिच एकता भइसकेपछि त्रिपाठी र बृषेशचन्द्र लालको पार्टीसँग एकता गर्दा त्यही महत्व रहदैन्थ्यो । र उहाँहरुले खोजेको स्थान पनि त्यही अनुसार पाउनु हुन्थेन होला । महन्थ ठाकुरको साथमा जसपा नेपालसँग एकता गर्दा त्यही अनुसारको मूल्यांकन र ठाउँ पाउनु हुने सम्भावना रहन्छ, त्यही भएर उपेन्द्र यादवको पार्टीसँग एकता घोषणा हुनुभन्दा पहिले यी दुई पार्टीसँग एकता भएको ती नेताले बताउनुभयो ।


तपाईको प्रतिक्रिया