मधेश प्रदेशमा सत्ता फेरबेदल कोही खुशी हुनुहुन्छ भने उहाँ हुनुहुन्छ प्रचण्ड । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेश प्रदेशको सत्ता परिवर्तनले यति होसिनु भएको छ कि अब अन्य प्रदेशमा पनि सत्ता परिवर्तन गर्ने घोषणा गरिसक्नु भएको छ । नेपाली काँग्रेसका मधेश प्रदेश सांसद एवं संसदीय दलका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउनमा मुख्य भूमिका खेल्नुभएका प्रचण्डले अब सात वटै प्रदेशमा समिकरण परिवर्तन हुने घोषणा गर्नुभएको छ । नेकपाका अध्यक्ष प्रचण्डलाई लागेको छ कि एमाले–काँग्रेस गठबन्धन भत्किएको छ अब अन्य प्रदेशमा पनि नेकपा–काँग्रेसको गठबन्धन अनुसार सरकार बन्ने घोषणा गर्नुभयो ।
मधेशवादी दलसँग गठबन्धन तोडेर माओवादी अर्थात नेकपाले काँग्रेससँग गठबन्धन बनाएको छ । मधेशवादी दलबाट गठबन्धन बन्न लाग्दा माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउन सहयोग गर्न मधेश प्रदेशका आफ्ना नेताहरुलाई निर्देशन दिनुभएको थियो । मधेशवादी दलबाट मुख्यमन्त्री बन्ने सम्भावना निकै कम छ, काँग्रेसलाई समर्थन गर्दै अगाडि बढ्नुस् भनि प्रचण्डले त्यहाँका नेताहरुलाई निर्देशन दिइसक्नु भएको थियो ।
त्यो निर्देशन पाएर नै भारत साहलगायतका नेताहरु मधेशवादी दलको साथ छाडेर काँग्रेसको पछि लाग्नुभएको थियो । माओवादीले काँग्रेसलाई समर्थन गर्न आन्तरिक रुपमा तयारी गरिरहेको थाह पाएर लोकतान्त्रिक समाजावदी पार्टीका उपाध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र प्रसाद सोनलले माओवादीका हरेक नेतासँग सम्पर्क गर्नुभएको थियो । कुराकानी गर्दा कसैले पनि काँग्रेसलाई समर्थन गर्न लागेको कुरा भनेका थिएनन् । हरके नेताले ‘हामी तपाईकै साथमा छौं’ भन्नुभएको थियो ।
तैपनि सोनललाई विश्वास लागेन । अनि भरत साहलाई साथमा लिएर मधेश प्रदेशका नेकपा इन्चार्ज मातृका यादव र महेन्द्रराय यादवलाई भेट्नु भएको थियो । त्यो भेटमा नेता मातृका यादवले महन्थ ठाकुरलाई प्रचण्डसँग कुरा गर्न भन्नुस् भन्नुभएको थियो । नेता सोनलले महन्थ र प्रचण्डबिच कुराकानी गराउन सक्नु भएन तर मातृका र महन्थबिच कुराकानी गराउनुभएको थियो ।
महन्थसँग मातृकाले सकारात्मक कुरा गरेपनि भित्रैदेखि सकारात्मक नदेखिएको त्यहाँ उपस्थित रहेको एक नेताले बताउनुभयो । नेता सोनललाई पनि मातृकाको हाउभाउबाट माओवादी काँग्रेसतिर जान लागेको थाह पाएर त्यहाँबाट निस्किनुभएको थियो । माओवादीले काँग्रेसलाई समर्थन भित्रभित्रै समर्थन जनाइ सकेका कारणले काँग्रेसले विपक्षमा बस्ने धुर्की दिइरहेको थियो । आफूले मुख्यमन्त्री नपाए विपक्षमै बस्ने धुर्की दिनुभएका काँग्रेसका नेता कृष्ण यादवले सरकार बनाउनका लागि एमाले र माओवादीसँग कुरा गरिसक्नु भएको थियो ।
मधेशवादी दलले साथ दिएन भने काँग्रेस–एमाले गठबन्धन बनाएर माओवादीलाई साथमा लिएर सरकार बनाउने तयारी गरिसक्नु भएको थियो । त्यसका लागि एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव तयारी अवस्थामा हुनुहुन्थ्यो ।
उहाँले काँग्रेसका नेता कृष्ण यादवलाई भनिसक्नु भएको थियो कि तपाई मुख्यमन्त्री बन्नुस् एमालेले तपाईलाई समर्थन गर्न तयार छ । एमालेले काँग्रेसलाई समर्थन गर्ने तयार भएपछि कृष्ण यादवले माओवादीसँग पनि आन्तरिक रुपमा कुरा गरिसक्नु भएको थियो । माओवादीले पनि हरियो झण्डा देखाएपछि मधेशवादी दललाई टेर्न कृष्ण यादवले छाडि सक्नुभएको थियो । कृष्ण यादवको धुर्कीको अगाडि मधेशवादी दलको अगाडि केही चलेन र लर्याकलुरुक भएर उहाँलाई समर्थन गरे । एमाले सरकार बाहिर बस्यो । एमाले सरकार बाहिर बसेपनि काँग्रेसलाई समर्थन गरेको छ । तर यता अध्यक्ष प्रचण्डले माओवादीसँग गठबन्धन तोडेर काँग्रेससँग जोडेकोमा खुशी हुनुहुन्छ ।
कोशी, लुम्बिनी, कर्णालीमा एमाले नेतृत्वको सरकार छ भने मधेश प्रदेश, बागमती, गण्डकी र सुदुपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकार रहेको छ । मधेश बाहेक अन्य सबै प्रदेशमा एमाले–काँग्रेस गठबन्धनको सरकार रहेको छ । मधेशमा मात्र काँग्रेस र माओवादी मिलेपछि नेकपा अध्यक्ष प्रचण्डले अरु प्रदेशमा पनि समिकरण परिवर्तन गर्ने घोषणा गर्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो । जेनजी आन्दोलनपछि पहिलो पटक देउवा र ओलीबिच मंसिर १९ गते भेटवार्ता भएको थियो । सो भेटवार्ता पछि मंसिर २० गते मधेशमा भएको एकता सन्देश सभामा हरेक प्रदेशमा सत्ता समिकरण परिवर्तन गर्ने घोषणा गर्नुभएको थियो ।
मधेश प्रदेशमा माओवादी केन्द्रलगायत अन्य मधेशवादी दलको सहयोगमा कृष्ण यादव मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यही एमालेका अध्यक्ष ओली र काँग्रेसका सभापति देउवाबिच भेटवार्ता भएको थियो । सो भेटमा ओलीले काँग्रेस–एमाले गठबन्धनलाई कायम राख्नुपर्छ । मधेश प्रदेशमा एमालेले काँग्रेसलाई चाहिने हरेक सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाउनु भएको स्रोतले जनाएको छ । एमाले विपक्षमा बसेपछि काँग्रेस नेतृत्वको सरकारलाई हरेक प्रकारको सहयोग दिन तयार रहेको ओलीले सभापति देउवालाई बताउनु भएको थियो । सभापति देउवाले पनि प्रदेशमा काँग्रेस–एमाले गठबन्धनको सरकार कायम रहने बताउनु भएको थियो । त्यसपछि प्रचण्डको यो भनाइ आएको हो ।
तपाईको प्रतिक्रिया