Khadya Bibhag

सोनलद्वारा बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि भएको आक्रमण निन्दा

काठमाडौँ पुस ७ गते । बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यक, विशेषगरी हिन्दू समुदायमाथि भएको हिंसा र अत्याचारका घटनाहरूले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता बढाइरहेका बेला मधेस प्रदेशका पूर्व मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष जितेन्द्र सोनलले यसप्रति कडा प्रतिक्रिया जनाउनु भएको छ । उहाँले सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा बङ्गलादेशको माइमन्सिङ क्षेत्रमा हिन्दू युवक दीपुचन्द्र दासको भीडद्वारा बर्बरतापूर्वक हत्या भएको घटनालाई ‘मानवता विरोधी जघन्य अपराध’को रूपमा वर्णन गर्नुभयो ।
बङ्गलादेशमा १८ डिसेम्बर २०२५ मा माइमन्सिङको भालुका अपजिलामा दीपुचन्द्र दासलाई भीडले हत्या गरेको पुष्टि भएको छ, जहाँ उनको शरीरलाई रूखमा बाँधेर समेत जलाइएको थियो । जसले धार्मिक हिंसा र सामुदायिक तनावका विषयलाई विश्वसामु पुनः उजागर गरेको छ। यस्ता घटनाले अल्पसङ्ख्यक समुदायमा भय र असुरक्षाको माहोल सिर्जना गरेको भन्दै विभिन्न क्षेत्रमा प्रतिरोध र विरोध प्रदर्शनहरू भएका छन् । भारत–पश्चिम बङ्गालदेखि त्रिपुरा राज्यसम्म हिन्दू संगठनहरूले विरोध र धर्ना कार्यक्रम आयोजना गरेका छन्, । नेपालमा पनि बंगलादेशविरुद्ध कडा प्रदर्शनहरु भइरहेका छन् ।
भारत सरकारले समेत बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि भएको क्रुर घटनाको कडा निन्दा गर्दै दोषीहरूलाई कडा कारबाही र अल्पसङ्ख्यकको सुरक्षा सुनिश्चत गर्न बङ्गलादेश सरकारलाई आग्रह गरेको छ।
उपाध्याक्ष सोनलले भन्नुभएको छ, “बङ्गलादेशमा हिन्दू तथा अन्य धार्मिक अल्पसङ्ख्यकमाथि निरन्तर भइरहेको हिंसा कुनै सभ्य समाजले सहन सक्ने छैन । यसले नेपाल र विश्व समुदायलाई स्तब्ध बनाइरहेको छ ।” उहाँले नेपाल सरकारलाई तत्काल कूटनीतिक पहल थाल्न र बङ्गलादेशका अल्पसङ्ख्यकहरूको मानवअधिकार रक्षाका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले वर्तमान मोहममद युनुस नेतृत्वको सरकारलाई ‘जनताको म्यान्डेट बिना बनेको अन्तरिम सरकार’ भन्नुभएको छ । जनादेशबाट निर्वाचित स्थिर सरकार गठनका लागि अन्तर्राष्ट्रिय समुदायले वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
सन् २०२४ र २०२५ को अवधिमा बङ्गलादेशमा हिन्दू र अन्य अल्पसङ्ख्यक समुदाय विरुद्ध सयौँ हिंसात्मक घटनाहरू भएका छन् । अन्तराष्ट्रिय मानवअधिकार रिपोर्ट अनुसार, हिन्दू समुदायका घर, व्यापार, तथा मन्दिरहरूमा दर्जनौं आक्रमणहरुका साथै हत्या, हिंसा र आक्रमण जस्ता घटनाहरू भएका थिए ।
अल्पसङ्ख्यक समूहहरूले २०२४ अगस्ट ४–२० को अवधिमा दुई हजारभन्दा बढी हिंसात्मक घटनाहरूको सामना गरेका थिए । जसमा एक हजार भन्दा बढी घटना राजनीतिक पृष्ठभूमिका थिए भने अरू सामाजिक–धार्मिक खालका थिए । केही घटनामा मन्दिरहरू तोडफोड, धर्म–स्थलमा तोडफोड र स्थानीय हिन्दू समुदायमाथिको आक्रमणका गतिविधिहरु थिए ।

तपाईको प्रतिक्रिया