Khadya Bibhag

बंगलादेशी दूतावास घेराउः हिन्दू युवाको हत्याविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ पुस ७ गते । बंगलादेशमा हिन्दू युवा दीपु चन्द्र दासको मुस्लिम समुदायद्वारा निर्मम हत्या भएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले सोमबार काठमाडौँस्थित बंगलादेशी दूतावास अगाडि प्रदर्शन गर्दै घेराउ गरेको छ।
विरोधमा सहभागी प्रदर्शनकारीहरूले ‘अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर’, ‘मानवअधिकारको सुरक्षा गर’, ‘हिन्दूको हत्या बन्द गर’ जस्ता नारा लगाउँदै बंगलादेश सरकारको कडा आलोचना गरेको थियो । साथै उनीहरूले ‘मोहम्मद युनुस सरकार मुर्दावाद’, ‘बंगलादेश मुर्दावाद’ र ‘बंगलादेश दूतावास खारेज गर’ जस्ता नारासमेत घन्काएका थिए।
कार्यक्रममा बोल्दै समाजसेवी माधव सिंहले बंगलादेशमा हिन्दू तथा अन्य अल्पसंख्यकमाथि बढ्दो हिंसा गम्भीर मानवअधिकार उल्लङ्घन भएको दाबी गर्नुभयो । । “धर्म र पहिचानका आधारमा निर्दोष नागरिकको हत्या हुनु सभ्य समाजका लागि लज्जास्पद विषय हो,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदाय मौन बस्न मिल्दैन ।” त्यसैगरी राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बंगलादेश सरकार अल्पसंख्यकको सुरक्षामा असफल भएको आरोप लगाउनुभयो । “हिन्दू समुदायमाथि लक्षित हिंसा राज्यकै कमजोरी र संरक्षणबिना सम्भव हुँदैन,” यादवले भन्नुभयो, “यदि तत्काल अल्पसंख्यकको सुरक्षा सुनिश्चित गरिएन भने अन्तर्राष्ट्रिय समुदायबाट दबाब सिर्जना गरिनुपर्छ ।”
यादवले नेपाल सरकारलाई पनि कूटनीतिक माध्यमबाट बंगलादेश सरकारसमक्ष कडा आपत्ति जनाउन आग्रह गर्नुभयो। प्रदर्शन शान्तिपूर्ण भए पनि वातावरण केहीबेर तनावपूर्ण बनेको थियो । प्रदर्शनकारीहरूले बंगलादेशका प्रधानमन्त्री मोहम्मद यूनुसको तस्वीर जलाउँदै कडा आपत्ति जनाएका थिए। प्रदर्शनकारीहरूले बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको हिंसा रोक्न, दोषीलाई कारबाही गर्न र अल्पसंख्यक समुदायको सुरक्षाका लागि ठोस कदम चाल्न माग गरेका छन् ।
राष्ट्रिय एकता अभियानले यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाइने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएको छ।

तपाईको प्रतिक्रिया