राजसंस्था फर्काउने उद्देश्यले आन्दोलनमा लाग्नु भएका मेडिकल व्यवसायी दुर्गा प्रसाँइ यतिखेर भारतीय गुप्तचर संस्था ‘रअ’ को निसानामा हुनुहुन्छ । भारतीय ‘रअ’ को निसानामा मात्र होइन, नेपाली सुरक्षा एजेन्सीको उच्च निगरानीमा हुनुहुन्छ । राजा फर्काउन भारतको सहयोग रहेको भनि हल्ला गर्नुभएका दुर्गा प्रसाँइले त्यसैका लागि आफू भारत आजजाउ गरेको भन्नुभएको छ । उहाँ विभिन्न कारण देखाउदै पटक पटक भारत गएर त्यहाँका विभिन्न व्यक्तिसँग भेट्न थालेपछि ‘रअ’ले उहाँमाथि निगरानी बढाएको छ ।
नेपाललाई भारतको एक अंग बनाइ दिनुपर्ने जस्ता अभिव्यक्ति दिएर भारतको नजिक हुन चाहनु भएका दुर्गा प्रसाईँ नेपाल र भारतका सुरक्षा एजेन्सीको उच्च निगरानीमा रहेको स्रोतहरुले जनाएका छन् । नेपालमा दलहरुको विरुद्धमा कडा अभिव्यक्ति दिएर चर्चामा रहनुभएका उहाँ राजाको स्वागतका लागि गरेको कार्यक्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको तस्विर प्रदर्शन गर्नुभएको थियो । त्यसले गर्दा उहाँ झन भारत तथा नेपालको निगरानीमा पर्नुभएको छ । गत चैतमा राजसंस्था फर्काउन भएको आन्दोलनको क्रममा देशमा ठुलो जनधनको क्षति भएको थियो । त्यसकारणले प्रहरीले उहाँलाई खोजी गरिरहेको छ । त्यतिबेला उहाँ नेपालबाट भागेर भारतमा गएर लुकेर बस्नु भएको थियो । भारतमा उहाँलाई कसैले शरण नदिएपछि त्यहाँको सुरक्षाकर्मीको सहयोगमा नेपाल प्रहरीले समातेर ल्याएको थियो ।
राजासहितको हिन्दुराष्ट्र फर्काउन दुर्गा प्रसाइँले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । त्यसको तयारीका लागि उहाँ भारत जानु भएको थियो । सो आन्दोलनमा भारतको सहयोग रहेको भनि देखाउनका लागि भारत गएर विभिन्न गतिविधि गर्नुभएको थियो । तर उहाँलाई नेपालबाट नै भारत नजान दिनका लागि दुवै देशका सरकारले रोक्ने प्रयास गरेका थिए । उहाँ उपचारका लागि भन्दै भारत जान लाग्नुभएको थियो त्यही कारणलाई सिधै उहाँलाई रोक्ने कुनै कारण थिएन । तैपनि प्रयास भएको थियो । उहाँ भारत जान लाग्दा नेपालमा रहेको भारतीय दुतावासले गृहमन्त्री ओमप्रकाश आर्याललाई भनेर त्यसलाई भारत जानबाट रोक्न आग्रह गरेको थियो । तर दुर्गा प्रसाइँलाई भारत जानबाट रोक्नुपर्ने कुनै कारण नभएको कारणले गृहमन्त्रालयले केही गर्न सकेन ।
भारतले आफ्नो देश आउनबाट रोक्नुको एउटै कारण थियो बदनामी । दुर्गा प्रसाइँले भारतलाई जोडेर जुन अभिव्यक्तिहरु दिनुभएको छ । त्यसले भारतको बदनामी भइरहेको छ । भारत बारे जानकार एक कुटनीतिज्ञले भन्नुभयो, ‘दुर्गा प्रसाइँले भारतको हितमा आन्दोलन गरिरहनु भएको छ, दुर्गा प्रसाइँको आन्दोलनले भारतलाई कुनै क्षति गर्दैन तर उहाँको अभिव्यक्तिले क्षति गरिरहेको छ, त्यही भएर देखाउनका लागि भए पनि भारतले दुर्गा प्रसाइँलाई रोकटोक गरिरहेको छ ।’ नेपाल र भारत दुवै देशले उहाँलाई रोकि रहेका छन् तैपनि उहाँ भारत आउजाउ गरिरहनु भएको छ, यो कसरी सम्भव भयो आफै बुझ्नुस् भन्दै उहाँले भारतले दुर्गा प्रसाइँलाई निगरानी गरेर संरक्षण दिइरहेको दावी गर्नुभयो ।
नेपालबाट उड्न लाग्दा एयरपोर्टमै उहाँलाई रोक्ने प्रयास भएको थियो । भारतीय ‘रअ’ले नेपालबाट पन्छ्याउदै भारतसम्म गयो । तैपनि उहाँलाई कसैले केही गर्न सकेन । भारत गएर उहाँले जेजे गर्नुपथ्र्यो सबै गरेर नेपाल फर्किन लाग्दा त्यहाँको एयरपोर्टमा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेको थियो, त्यो पनि त्यहाँको नेपाली दुतावासको आग्रहमा । नेपाली दुतावासले उहाँलाई नेपाल एयरलाइन्सबाट काठमाडौं यात्रा गर्न नदिने भन्दै लिखित अनुरोध गरेपछि त्यहाँको सुरक्षाकर्मीले रोकेको थियो । पछि दुर्गा प्रसाईले आफै त्यहाँका राजदूत शंकरप्रसाद शर्मासँग कुरा गरेपछि मात्र उहाँ नेपाल आउन पाउनुभयो । नेपाल फर्केपछि दुर्गा प्रसाइँले भन्नुभयो, ‘मलाई स्वदेश फर्कने क्रममा भारत सरकारले रोकेको होइन नेपाल सरकारले रोक्न खोजेर आफ्नो बहादुरी देखाएको हो ।’
नेपाल फर्केपछि पनि उहाँ भारतको सुरक्षा एजेन्सी र नेपालको सुरक्षा एजेन्सीको निगरानीमा हुनुहुन्छ । मंसिर ७ हुने भनिएको आन्दोलन फिर्ता लिन सरकारको तर्फबाट आग्रह भइरहेको छ । तर उहाँले कुनै पनि हालतमा फिर्ता नलिने अभिव्यक्ति दिइरहनु भएको छ । बरु जनतालाई आआफ्नो भन्सामा ग्यास, चामल तथा अन्य आवश्यक सामग्री खरिद गरेर राख्न आग्रह गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया