मधेश प्रदेशमा पछिल्लो समय जेजति काण्ड भएका छन्, त्यसको पछाडि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हात रहेको जानकारहरु बताउँछन् । यतिखेर मधेश प्रदेश नेपालको राजनीति भुँमरीमा फँसेको छ । कहिले एमालेलाई समर्थन त कहिले काँग्रेसलाई समर्थन त कहिले मधेशवादी दललाई समर्थन गरेर मधेशको राजनीति गिजोलिएको छ ।
स्वतन्त्र मधेश गठबन्धन गठन गरेर स्वतन्त्र मधेश बनाउने भनि आन्दोलन गर्नुभएका सिके राउत सात वर्षपछि मुलधारको राजनीतिमा आएर संसदीय राजनीतिमा अभ्यस्त भइसक्नु भएको छ । तर उहाँले बेलाबेलामा स्वतन्त्र मधेश गठबन्धनकै तरिकाले आफ्नो राजनीति अगाडि बढाइ रहनु भएको छ । मधेश प्रदेशका तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले कात्तिक २४ गते एमालेका संसदीय दलका नेता सरोज यादवले महोत्तरीको एक कटेजमा विहानै सपथ ग्रहण गराएपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेशलाई स्वयत्त बनाउनुपर्ने अभिव्यक्ति दिनुभएको छ ।
उहाँले त्यही दिन समाजिक सञ्जालमा लेख्नुभएको थियो, ‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशिक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं ।’
मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाईको सभासद्को समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न मिल्ने धारणा पनि राखे । उहाँले भन्नुभएको छ, ‘५४ प्रतिशत जनसँख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भीखजस्तो दिने, अनि हामीले लिइराख्ने । उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने । मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ ।’ उहाँको यो अभिव्यक्ति विवादमा आयो नै त्योसँगै उहाँले मधेशको राजनीतिमा फोहरी खेल खेलेको कुरा पनि प्रष्ट भइसकेको छ ।
उहाँले त्यसअघि त्यही एमालेको सहयोगमा मधेश प्रदेशको सरकार सञ्चालन गर्नुभएको थियो । एमाले–काँग्रेसको सहयोगमा मुख्यमन्त्री पाउनु भएको थियो तर आज त्यही एमाले–काँग्रेसलाई सत्तोसराप गरिरहनु भएको छ । आफ्नो मुख्यमन्त्री सतिश सिंहलाई पदबाट हटाउनका लागि काँग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउनुपर्छ भनि प्रदेश प्रमुखकोमा गएर हस्ताक्षर गर्ने जनमत पार्टी आफ्नो मुख्यमन्त्रीले राजिनामा दिएपछि फेरि मधेशवादी दलको कित्तामा आउनुभयो । विगतमा काँग्रेस र एमालेले आफूहरुलाई सहयोग गरेको कारण सहयोग गरेको भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले त्यही गठबन्धनलाई छाडेर मधेशवादी दलको कित्तामा आउनुभयो ।
अहिले जसरी उहाँले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहनु भएको छ त्यसरी नै सुरुमै मधेश केन्द्रीत दलको साथमा रहेको भएको यो अवस्था मधेशमा आउने थिएन भनि चर्चा भइरहेको छ । संसदीय राजनीतिमा आएपछि उहाँ पटक पटक दिक्क मान्नुभएको छ । संसदीय राजनीतिप्रति पटक पटक उहाँले आलोचना गर्नुभएको छ । २०७५ मा गठन भएको जनमत पार्टीको त्यो समाथ्र्य र शक्ति पनि रहेन । उहाँलाई स्वतन्त्र मधेश बनाउने आन्दोलनमा साथ दिनुभएका नेता तथा कार्यकताहरुले पनि साथ छाड्नु भएको छ । थुप्रै्र नेताहरु पार्टी.छाडेर गइसक्नुभएको छ । उहाँको पार्टी पनि विभाजन भएको छ । अब पुनः अलगाववादी राजनीतिमा फर्किने हो कि भनि आशंका भइरहेको छ । पहिले अध्यक्ष राउतले स्वतन्त्र (अजादी)को कुरा गर्नुहुन्थ्यो अब स्वायतताको कुरा गर्न थाल्नुएको छ ।
सिके राउतसँग लामो समय काम गर्नुभएका कैलाश महतो भन्नुहुन्छ, ‘पब्लिक खपतका लागि उहाँले यो अभिव्यक्ति दिनुभएको हो ।’ फागुन २१ गते कसरी चुनाव जित्ने चिन्ता राउतलाई छ, के बोलेर जनतालाई ध्यानाकर्षण गर्नसकिन्छ ती सबै गर्न उहाँ तयार हुनुहुन्छ भन्दै उहाँले सिके राउतको सबै शक्ति समाप्त भइसकेका छन्, अब जे गर्दा पनि उहाँलाई जनताले नपत्याउने दाबी गर्नुभयो ।
अध्यक्ष राउतकै खिचातानी राजनीतिले गर्दा यो अवस्था आएको भन्दै उहाँले जनमत पार्टीका दुई जना असन्तुष्ट सांसदलाई अन्तिम समयमा आएर कारवाही गर्नु नै राउतको गलत कदम भएको धेरैको बुझाई छ । मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी गरिरहँदा अध्यक्ष सिके राउतले जनकपुरको विशेष अदालतमा सतिश सिंह र त्रिभुवन साहको विरुद्ध मुद्दा हाल्नुभएको थियो । त्यसले झन उहाँहरु बिच्किनु भयो र सोनललाई विश्वासको मत दिनुभएन । यदि उहाँहरुमाथि सिके राउतले मुद्दा दायर नगरेको भए सोनललाई विश्वासको मत दिने तयारीमा उहाँहरु हुनुहुन्थ्यो ।
सोनललाई मुख्यमन्त्रीबाट हटाउन अध्यक्ष राउतले जानी जानी त्यो काम गरेको आरोप उहाँकै नेताहरु लगाउनुहुन्छ । त्रिभुवन र सतिशलाई नचलाएको भए उहाँहरु चुपचाप जितेन्द्र सोनललाई विश्वासको मत दिनुहुन्थ्यो । र मधेशमा यो अवस्था आउने थिएन । तर राउतले जानी जानी यस्तो गरेको जनमत पार्टीबाट अलग भएर सर्वोदय पार्टी गठन गर्नुभएका दीपक साहको दावी छ । अहिले आएर राउतले गोहीको आँसु खसाल्नुको कुनै अर्थ नरहेको उहाँ बताउनुहुन्छ ।


तपाईको प्रतिक्रिया