Khadya Bibhag

हरेक पटक नयाँ पार्टी चहार्छन् लक्ष्मण थारु

परिवर्तनको नाममा जति वटा पार्टी नेपालमा खुले सबै पार्टीको स्वाद चाख्नु भएको छ लक्ष्मण थारु । चाहे माओवादीको जनयुद्ध होस् या मधेश विद्रोह वा थारु आन्दोलन हरेकको स्वाद उहाँले लिनुभएको छ । पछिल्लो समय रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा निस्कृय रहनुभएका लक्ष्मण थारु पुस २१ गते रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो ।
किनभने रवि लामिछाने नेतृत्वको रास्वपा नयाँ पार्टी हो र यसले पनि परिवर्तनका कुरा गरिरहेका छन् । लक्ष्मण थारुले हालसम्म नौ वटा पार्टीको स्वाद लिइसक्नु भएको छ ।
सुरुवात उहाँले माओवादीबाट गर्नुभयो । त्यसपछि उहाँ थरुहट तराई पार्टी नेपाल, मधेशी जनअधिकार फोरम नेपाल, थरुहट तराई पार्टी नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा, नागरिक उन्मुक्ति पार्टी र अहिले रास्वपा गरी नौ वटा पार्टी चहारिसकेका छन् । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा उहाँ सो पार्टीमा प्रवेश गर्नुभएको थियो । तर तत्कालिन माओवादी केन्द्रका नेता लेखराज भट्टले कैलाली र कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि त्यसमा असहमति जनाउँदै उहाँले २०६५ मा सो पार्टीबाट राजिनामा दिनुभएको थियो ।
त्यसपछि उहाँले आफ्नै नेतृत्वमा थरुहट तराई पार्टी नेपाल गठन गर्नुभएको थियो । त्यो पार्टी केही दिन चलाए पछि उहाँ भर्खर नयाँ शक्तिको रुपमा उदाएको उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । तर फोरम नेपाल मुद्दा छाडेर सत्ताको राजनीति गर्न लागेको आरोप लगाउँदै उहाँ सो पार्टीबाट अलग भएर पुनः आफ्नै नेतृत्वमा थरुहट तराई पार्टी नेपाल गठन गर्नुभएको थियो । तर त्यो पार्टी पनि लामो समय चलाउन उहाँले सक्नु भएन । त्यसपछि उहाँले २०६९ असोज १८ गते विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीसँग एकता गर्नुभएको थियो ।
टिकापुर घटनाको दोषी रहेको भन्दै प्रहरीले उहाँलाई २०७२ भदौंमा भैरहवाबाट पक्राउ गरेको थियो । विजयकुमार गच्छदार आफ्नो पार्टी लोकतान्त्रिक फोरम लिएर काँग्रेसमा प्रवेश गरेपछि उहाँ कैलाली जिल्ला कारागारमै रहेको बेला २०७४ कात्तिकमा तत्कालिन राजपामा प्रवेश गर्नुभएको थियो । उहाँलाई तत्कालिन राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टी प्रवेश गराउनु भएको थियो । राजपा नेपालको गतिविधिबाट उहाँ जेलबाट नै त्यो पार्टी छाड्नु भएको थियो । त्यसपछि उहाँ जेलबाट धरौटीमा रिहा भएपछि २०७९ असारमा रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको थियो । तर त्यहाँ पनि लामो समय खुश रहनु भएन । पार्टीमा उहाँ सुरुदेखि नै असन्तुष्टी जनाउन थाल्नुभएको थियो । त्यसपछि उहाँ विस्तारै पार्टीबाट निष्कृय हुन थाल्नुभयो ।
उहाँ कृषि फर्म खोलेर कृषि कर्ममा लागि सक्नुभएको थियो । रास्वपाको चर्चा देशैभर हुन थालेपछि उहाँ पुस २१ गते सो पार्टीमा प्रवेश गर्नुभएको थियो । तर उहाँ रास्वपामा पनि टिक्न सक्नु हुन्न । थारुहट आन्दोलनमा लाग्नुभएको कैलालीका एक नेताले भन्नुभयो, ‘उहाँ रास्वपामा पनि टिक्न सक्नु हुन्न । उहाँ निकै महत्वकाँक्षी भएका व्यक्ति हुनुहुन्छ त्यो महत्वकाँक्षा झन रास्वपामा पुरा हुने कुरा छैन त्यही भएर उहाँ टिक्न सक्नुहुन्न ।’ थारु, मधेशीको अधिकार र पहिचानका लागि गठन भएको पार्टीमा उहाँ टिक्न सक्नु भएन भने सुशासन र भ्रष्टाचारका लागि खुलेको पहिचान र एजेण्डाविहिन पार्टीमा कसरी टिक्न सक्नु हुन्छ भनि थारुहरुले नै आशंका गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया