सप्तरी फागुन ९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी पार्टीहरुले प्रदेश खारेज गरेर फेरी मधेशी जनतालाई गुलाम बनाउन चाहेको बताएका छन् ।
सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका उनले डाक्नेश्वरी नगरपालिका वडा नम्बर–८ स्थित पट्टीमा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधीहरुबाट सचेत रहन मधेशी जनतालाई आग्रह गरे । मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्न षडयन्त्र भइरहेको बताउँदै जसपा नेपालका अध्यक्ष यादवले भने ‘सङ्घीयता विरोधी पार्टीहरुले प्रदेश खारेज गरेर फेरी मधेश जनतालाई गुलाम बनाउन चाहेका छन्, मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार खोसेर गुलाम बनाउन चाहेका छन् ।’
कांग्रेस कम्युनिष्टको इच्छा विपरित देशमा सङ्घीयता आएको चर्चा गर्दै उनले भने ‘कांग्रेस कम्युनिष्टले सङ्घीयता चाहेकै थिएन, आफुलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी जो सङ्घीयता र प्रदेश खारेजको पक्षमा छ, अहिले विभिन्न आवरणमा मधेशी जनताको मत तान्नका लागि भ्रममा पारिरहेका छन् ।’ गत निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी समेत नदिएका रास्वपाको भुुलभुलैयामा नपर्न उनले आग्रह गरे ।
हरेक राजनीतिक परिवर्तनहरुमा सप्तरीले निर्णायक भूमिका निर्वाह गरे पनि सरकारको विभेदकारी नीतिकका कारण अपेक्षाकृत विकास हुन नसकेको उनले टिप्पणी गरे । गरिबी, बेरोजगारी अशिक्षा, बाटोघाटो, गुणस्तरीय शिक्षा, स्वस्थ खानेपानी अभाव अझैं पनि कायमै रहेको बताउँदै जसपा नेपालका अध्यक्ष यादवले ‘अहिलेसम्मको अवस्था हेर्दा सही जनप्रतिनिधि चुन्ने बेला नै गल्ती गर्ने गरेको पाइएको छ, न विकास गर्ने, नअधिकारका लागि बोल्ने प्रतिनिधि चुनिएका कारणले पनि सप्तरी अगाडि बढ्न सकेको छैन, अर्कोतर्फ विकासको लहर ल्याउने नेतालाई पनि विगतमा पाखा लगाउने काम भएको छ ।’
प्रतिनिधि चयन गर्ने क्रममा नचुक्न आग्रह गर्दै जसपा नेपालका अध्यक्ष यादवले आफु सप्तरी २ बाट चुनाव जित्दा विराटनगरभन्दा पनि ठूलो सुविधासम्पन्न हस्पिटल भवन, कृषि विश्वविद्यालय इन्जिनियरि¨ कलेज, नर्सि¨ कजेज भवन, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक, विद्यालय भवन लगायतका कामहरु अगाडि बढाएको बताए । त्यसलाई पूर्णता र थप कायापलट हुने कामहरु अगाडि बढाउन आफुलाई निरन्तरता दिनुपर्नेमा जनता चुकेको चर्चा गर्दै उनले भने ‘त्यतिबेला जे जति काम गरेँ, त्यसपछिका जनप्रतिनिधिले कुनै काम अगाडि बढाएन, बरु कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्न जाँदा अवरोध पुर्याउने काम भयो, अहिले पनि उक्त भवनको रकम निकासा हुन सकेको छैन ।’
हावाको पछि नलाग्न आग्रह गर्दै विगतको कामको समेत मूल्याङ्कन गरेर मतदान गर्नुपर्नेमा उनले जोड दिए । आगामी निर्वाचन संविधान संशोधन गरेर सङ्घीयतालाई अधिकारसम्पन्न बनाउनुका साथै मधेशी लगायत उपेक्षित उत्पीडित जनताको भविष्य लेखिने भएकोले गम्भीर हुन उनले आममतदातासँग आग्रह गरे ।
शुक्रवारै डाक्नेश्वरी नगरपालिकाको प्रवाहा, धामी टोल, भीमपुर, बिसहरिया लगायतका स्थानहरुमा आयोजित सभाहरुमा अध्यक्ष यादवले सम्बोधन गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।


तपाईको प्रतिक्रिया