सर्लाही–२ः को हुनुहुन्छ राजेन्द्र महतो जसले महेन्द्र राय यादवलाई दिइरहनु भएको छ टक्कर
१७ फाल्गुन २०८२, आईतवार ११:०४
काठमाडौँ फागुन १७ गते । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ बाट उम्मेदवारी दिनुभएको छ । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको साथ सहयोगमा एकल चुनाव चिन्हबाट उम्मेदवारी दिनु भएका महतोले नेपाली कम्युनिष्ट पार्टीको महेन्द्र राय यादवसँग प्रतिस्पर्धा छ ।
विगतमा महेन्द्र राय यादवसँग दुई पटक चुनावमा पराजित भइसक्नु भएको छ । यसपटक उहाँले कडा टक्कर दिइरहनु भएको छ ।
राजेन्द्र महतोको जन्म वि.सं. २०१५ साल मङ्सिरमा सर्लाहीको बबरगञ्जमा भएको हो । उहाँले आफ्नो प्रारम्भिक शिक्षा सर्लाहीमै पुरा गरी उच्च शिक्षाका लागि काठमाडौँको त्रिचन्द्र कलेजबाट कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर हासिल गर्नुभएको छ ।
अध्यक्ष महतोले आफ्नो राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट सुरु गर्नुभएको हो । उहाँ नेपालको लोकतान्त्रिक आन्दोलन र २०६३ को मधेश आन्दोलनमा सक्रिय भएर लाग्नुभएृको थियो । नेपाल सद्भावना पार्टीबाट अलग भएर २०६४ मा सद्भावना पार्टी गठन गरेका पछि उहाँ विभिन्न दलसँग मिले राजपा नेपाल बनाउनु भएको थियो । उपेन्द्र यादवको समाजवादी पार्टीसँग एकता गरेर जसपा नेपाल बनाउनु भएको थियो ।
जसपा नेपालबाट महन्थ ठाकुरबाट अलग भएर लोसपा नेपाल गठन गरेका उहाँ केही समयपछि त्यहाँबाट अलग भएर राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गर्नुभएको थियो । अहिले उहाँ सोही पार्टीबाट सर्लाही–२ मा उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो नेपाली राजनीतिमा निरन्तर संघर्ष, चुनावी प्रतिस्पर्धा र शासकीय जिम्मेवारीको माध्यमबाट स्थापित एक अनुभवी नेता हुनुहुन्छ । उहाँको राजनीतिक यात्रा प्रतिनिधि सभा र संविधान सभा हुँदै मन्त्रीपरिषद्सम्म पुगेको छ । जसले उहाँलाई राष्ट्रिय राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनाएको छ ।
वि.सं. २०५६ सालको आम निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट पहिलोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै उहाँले संसदीय राजनीतिमा प्रवेश गर्नुभएको छ । सोही क्षेत्रबाट वि.सं. २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पुनः उम्मेदवार बने पनि माओवादी केन्द्रका महिन्द्र राय यादवसँग पराजित हुनुभयो । वि.सं. २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने उहाँ सर्लाही क्षेत्र नं. ४ बाट विजयी हुनुभयो, यद्यपि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट पराजय व्यहोर्नुप¥यो ।
वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँले धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिँदै नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पराजित गरी उल्लेखनीय राजनीतिक सफलता हासिल गर्नुभएको थियो । अध्यक्ष महतो वि.सं. २०६३ सालमा अन्तरिम सरकारमा पहिलोपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभयो । त्यसपछि २०६५ र २०६६ मा पुनः वाणिज्य तथा आपूर्ति मन्त्री तथा २०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । २०७८ मा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री बनेर उहाँले आफ्नो राजनीतिक यात्रालाई अझ सुदृढ बनाउनुभयो ।
तपाईको प्रतिक्रिया