Khadya Bibhag

वैदेशिक रोजगारको मतः जनमत पार्टी कमजोरिँदा डा. बबी सिंहतर्फ सरेको मधेशी समर्थन

काठमाडौ फागुन १६ गते । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीलाई अप्रत्याशित सफलता दिलाउन वैदेशिक रोजगारमा रहेका नेपाली, विशेषगरी खाडी मुलुकमा कार्यरत मधेशी समुदायको भूमिका निर्णायक थियो । तर यसपटकको चुनावी माहोल हेर्दा त्यही मताधार जनमत पार्टीबाट क्रमशः टाढिँदै गएको देखिन्छ ।
गत निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले ‘एक घर एक रोजगार’ जस्ता लोकप्रिय नारासहित वैदेशिक रोजगारमा रहेका मधेशी युवालाई आकर्षित गर्नुभएको थियो । सोही आश्वासनपछि खाडी मुलुकमा रहेका धेरै नेपाली आफैं नेपाल आएर मतदान गरे भने कतिपयले उतैबाट परिवारजनलाई जनमत पार्टीमा मत हाल्न आग्रह गरेका थिए । चुनावी चन्दा र संगठनात्मक सहयोग पनि ठूलो मात्रामा विदेशबाट आएको थियो । यस अर्थमा, जनमत पार्टीको वास्तविक शक्ति केन्द्र वैदेशिक रोजगारमै रहेका मधेशी समुदाय नै थियो ।
यसको पृष्ठभूमि अझ गहिरो छ । सिके राउत स्वयं विदेशमा रहँदा गैरआवासीय मधेशी संघ गठन गरी खाडी मुलुकमा संगठन विस्तार गर्नुभएको थियो । एक समय खाडी मुलुकमा रहेका मधेशीहरूमाथि उहाँको प्रभाव एकछत्र थियो । पार्टीका गतिविधि र आर्थिक स्रोतसमेत त्यहीँबाट सञ्चालन हुने गर्थे । तर पछिल्ला वर्षहरूमा त्यो संरचना क्रमशः कमजोर हुँदै गयो ।
सिके राउत जनमत पार्टी गठन गरेर नेपालमै केन्द्रित भएपछि गैरआवासीय मधेशी संघ लथालिङ अवस्थामा पुगेको देखिन्छ । पार्टीभित्रको आन्तरिक विवादले उक्त संघलाई झनै निष्क्रिय बनायो । अहिले सो संघ विवादमै अल्झिएको छ र ठोस गतिविधि देखिँदैन । यही शून्यताले खाडी मुलुकमा नयाँ शक्ति उदय हुन मार्ग प्रशस्त गरेको छ ।
त्यही शक्ति हुनुहुन्छ, डा. बबी सिंह । जनता समाजवादी पार्टी नेपालबाट सप्तरी–४ मा उम्मेदवार रहनुभएका बबी सिंह वैदेशिक रोजगारमा रहेका मधेशी समुदायका लागि नयाँ आशा बन्नुभएको छ । उहाँ स्वयं लामो समय विदेश बसेर गैरआवासीय मधेशी संघमा सक्रिय रहनुभएको थियो, जसका कारण खाडी मुलुकमा रहेका धेरै मधेशीहरूसँग उहाँको व्यक्तिगत चिनजान छ ।

उहाँका श्रीमान डा. रविन्द्र यादव दुवइमा बसोबास गर्दै पेशागत  चिकित्सकका रूपमा कार्यरत हुनुहुन्छ । रविन्द्र यादव पनि सिके राउतले गठन गरेको गैरआवासीय मधेशी संघमा आबद्ध हुनुहुन्थ्यो । तर जनमत पार्टी गठनपछि उहाँ त्यहाँबाट अलग भई ‘मधेशी एकता समाज’ स्थापना गर्नुभयो । उक्त समाज खाडी मुलुकमा रहेका मधेशीहरूको हकहितका सवालमा सक्रिय देखिन्छ ।
जनमत पार्टीसँग आबद्ध धेरै मधेशीहरू अहिले मधेशी एकता समाजतर्फ आकर्षित भएका छन् । परिणामस्वरूप, खाडी मुलुकमा रहेका मधेशी समुदायको समर्थन क्रमशः डा. बबी सिंहतर्फ सर्दै गएको छ । कतिपय मतदाता मतदानका लागि नेपाल फर्किएका छन् भने धेरैले उतैबाट परिवारजनलाई बबी सिंहको पक्षमा मत हाल्न आग्रह गरिरहेका छन् ।
यसरी हेर्दा, २०७९ मा जनमत पार्टीलाई जित दिलाएको वैदेशिक रोजगारको मत यसपटक निर्णायक रूपमा जनता समाजवादी पार्टी नेपालकी उम्मेदवार डा. बबी सिंहतर्फ जाने सम्भावना बलियो देखिन्छ । मधेशी राजनीति भित्रको संगठनात्मक कमजोरि र वैदेशिक नेटवर्कको पुनर्संरचनाले सप्तरी–४ को चुनावी समीकरणलाई पूर्ण रूपमा उल्ट्याइदिएको विश्लेषकहरूको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया