सहारा टाइम्स
काठमाडौँ असोज ५ गते
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई.दीपक साहले प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै आगामी चाडपर्वअघि नै एलपी ग्यासको आपूर्ति पूर्ण रूपमा सहज बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ग्यास अभावको समस्यालाई तत्कालीन राहतदेखि दीर्घकालीन समाधानसम्म पुर्याउन सरकारले प्राविधिक विश्लेषण र विशेष कार्ययोजना लागू गरेको उहाँले सदनलाई जानकारी गराउनुभयो।
सदनलाई सम्बोधन गर्दै मन्त्रीले एलपी ग्यास अभावको मुख्य कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषण उपकरण प्रयोग गरेको बताउनुभयो। आयात निर्भरता, बाटोमा पहिरो, कालोबजारी, डिजिटल ट्रयाकिङको अभाव र अन्तरनिकाय समन्वयको कमीका कारण आपूर्तिमा अवरोध आएको उहाँको भनाइ थियो।
समस्या समाधानका लागि आपूर्ति शृङ्खलाको संवेदनशील मानिएको कृष्णभीरको पहिरो हटाई असोज १ गतेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। साथै, भारत सरकारसँग प्रतिमहिना ६० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन पत्राचार गरिएको छ भने बजारमा दैनिक आपूर्ति क्षमता समेत वृद्धि गरिएको छ।
मन्त्री साहले तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा भदौ महिनामा २५.५६ प्रतिशत र असोजको पहिलो चार दिनमा ६९.५८ प्रतिशतले ग्यास आपूर्ति बढेको जानकारी गराउनुभयो। बजार नियन्त्रण र अनुगमनका लागि नेपाल आयल निगम र प्रहरीसहितको संयुक्त कमाण्ड पोस्ट गठन गरी अनुगमन तीव्र पारिएको छ, जसक्रममा लुकाइएका करिब १२ सय सिलिन्डर बरामद गरी उपभोक्तालाई वितरण गरिएको छ। वैकल्पिक उपायका रूपमा ३०० वटा इन्डक्सन चुलो वितरण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
यसैगरी, नवलपुरको हुप्सेकोटमा जमिनमुनिबाट निस्किएको धुवाँबारे भूगर्भविद्हरूको टोलीले स्थलगत अध्ययन गर्दा पाइराइट र कार्बनयुक्त चट्टानको रासायनिक प्रतिक्रियाले धुवाँ निस्किएको र यो ज्वालामुखी वा पेट्रोलियम पदार्थको संकेत नभएको प्रस्ट पारिएको छ। अनलाइन व्यवसायलाई नियन्त्रण र व्यवस्थित गर्न ई-कमर्स व्यवसायीहरूलाई अनिवार्य सूचीकृत हुन सूचना जारी गरिएको छ भने मन्त्रालयको कार्यसम्पादन चुस्त बनाउन ISO 9001:2015 मापदण्ड लागू गर्ने प्रक्रिया अघि बढाइएको छ। स्वदेशी उत्पादन र उद्यमशीलता प्रवर्द्धनका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ लगायतका कार्यक्रम तथा स्टार्टअप फास्ट ट्र्याक हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ।
मन्त्रीले ग्यास आपूर्तिको परिणाम कागजी घोषणाबाट नभई उपभोक्ताको भान्सामा सुरक्षित रूपमा सिलिन्डर पुगेपछि मात्रै देखिने भन्दै आउँदै गरेको चाडपर्वमा ग्यासको अभाव नहुने हुनाले निश्चिन्त रहन सम्पूर्ण उपभोक्तालाई आग्रह गर्नुभयो।

तपाईको प्रतिक्रिया