ओलीका मतियारहरु (फरकमत)

–मृगेन्द्रकुमार सिंह यादव
देशको वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकीकृत भएका जनता समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको देखिन्छ । एउटा मिसनका लागि वैकल्पिक शक्तिको रुपमा यो पार्टीको गठन भएको थियो तर छोटो समयमा फुटको संघारमा पुग्नु राम्रो होइन । यसले जनतामा राम्रो सन्देश दिएको छैन । पार्टीका शीर्ष नेताहरुले नै पार्टीको विधान मिचेर, विधि र प्रकृया मिचेर गतिविधि गर्नुभयो त्यसले गर्दा यो अवस्था आएको हो । यसमा खासगरि मुख्य दोषी जसपाका अध्यक्ष महन्थ ठाकुर र सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो देखिन्छ । उहाँहरुले पछिल्लो समय पार्टीमा जुन गतिविधिहरु गर्नुभयो त्यसले गर्दा आज जसपा फुटको संघारमा पुगेको हो ।

यसमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको गल्ती होइन म भन्न सक्दिन तर सबभन्दा ठूलो गल्ती महन्थ ठाकुर र राजेन्द्र महतोले गर्नुभएको हो । पार्टीको विधान अनुसार पटक पटक बैठक बोलाइयो तर उहाँहरु बैठक बस्न मान्नु भएन । बरु गुटको भेलाहरु गर्नुभयो । बबरमहलमा दिनका दिन बैठकहरु बस्थे । रातीराती कहिले बालुवाटार त कहिले लैनचौर त कहिले शितलनिवास त कहिले भक्तपुरको रिर्सोर्टमा जानु हुन्थ्यो तर पार्टीले बोलाएको बैठकमा कहिले बस्न चाहनु भएन । विभिन्न बहानामा बैठक स्थगित गरिरहनु भयो ।

उहाँहरुले यो बीचमा जतिपनि गतिविधिहरु गर्नुभयो ती सबै गैरवैधानिक रुपमा गर्नुभयो । पार्टीको विधि प्रकृया मिचेर गर्नुभयो । पार्टीको निर्णय विपरित सबै काम गर्नुभयो । यता, उपेन्द्रजीहरुले पार्टीको विधानअनुसार प्रकृया पुरा गरेर सबै कार्य गर्नुभयो । उहाँले जतिपनि काम गर्नुभएको छ । पार्टीमा बैठक बसाएर र बहुमत सदस्यको उपस्थितिमा गर्नुभएको छ । त्यसमा महन्थ ठाकुरहरु चुक्नु भएको छ ।

जेठ ४ गते दुवैजना अध्यक्षको हस्ताक्षरबाट जेठ ८ र ९ गते बैठक कार्यकारिणी समितिको बैठक बसाउने निर्णय भएको थियो । त्यो अनुसार बैठकमा भाग लिनका लागि जिल्ला जिल्लाबाट कार्यकारिणी समितिका सदस्यहरु काठमाडौ आइपुग्नु भएको थियो । बैठक दुईजना अध्यक्षको हस्ताक्षरबाट बोलाइएको थियो तर महन्थ ठाकुरको एकल हस्ताक्षरबाट बैठक स्थगित भएको थियो । महन्थ ठाकुरले बैठक स्थगित गर्नुभएको थियो भने उपेन्द्र यादवले बैठक यथावत रहेको कुराको जानकारी गराउनु भएको थियो ।

त्यहीबाट समस्या उत्पन्न भयो । बैठक स्थगितको कारण महन्थ ठाकुरले कोरोना देखाउनु भएको थियो तर उहाँको कोठे बैठक, बबरमहलको गुट भेलाहरुको कहिले स्थगित भएन । उहाँको गुट भेलाहरुको लागि कोरोना थिएन । भक्तपुरको रिर्सोर्टमा गएर गोप्य बैठक गर्नुभयो के त्यसका लागि कोरोना थिएन ? आठ गते बसेको कार्यकारिणी समितिको बैठक बस्यो । त्यो बैठकमा ५१ सदस्यीय कार्यकारिणी समितिको सदस्यमध्ये ३१ जनाको उपस्थित थिए । त्यसको हस्ताक्षरहरु पनि बाहिर आइसकेको छ । जेठ ९ गतेसम्म बैठक चल्यो फेरि जेठ १७ गते पनि बैठक बस्यो । अर्थात जबजब आवश्यकता पर्यो पार्टीको बैठक बसेर निर्णय भयो ।

जेठ १७ गते बसेको कार्यकारिणी ससमितिको बहुमत सदस्यको हस्ताक्षरबाट निर्णय गरेर महन्थ ठाकुरलगायतका नेताहरुलाई पार्टीबाट कारवाही गरिएको हो । जुन प्रमाण निर्वाचन आयोगमा पनि पठाइएको छ । उहाँहरुले पनि कार्यकारिणी समितिको बैठकबाट उपेन्द्र यादवलाई कारवाही गरेको भन्नुभएको छ तर कुन बैठक कहाँको बैठक, त्यो बैठकमा को को थिए त्यसको प्रमाण निर्वाचन आयोगले माग गरेको छ त्यो दिनुपर्छ । अनि मात्र आरोप प्रमाणित हुन्छ । एउटा कोठामा दुईचार जना बसेर कसैलाई कारवाही गरेर मात्र हुँदैन । त्यो विधि सम्मत, कानुनी प्रकृया अनुसार मिलेको हुनुपर्छ । त्यो महन्थ ठाकुरहरुले गर्नुभएको छैन । पार्टी भनेको एकजना अध्यक्षको मात्र होइन, पार्टी भनेको कार्यकारिणी हो, कार्यकारिणी समितिको बहुमत सदस्यले गरको निर्णय आधिकारिक हुन्छ ।

विवादको जड पूर्व राजपा
जसपा नेपालमा दखिएको विवादको मुख्य जड नै पूर्व राजपा हो । म पनि राजपाबाट नै आएको हुँ । तर राजपा नेपालका छजना अध्यक्षले कहिले पार्टी बन्न दिनुभएन । छवटा दल मिलेर राजपा नेपाल बनेको थियो तर त्यो राजपाले कहिले पूर्णता पाएन । छजना अध्यक्षमा जहिले किचकिच भइरहन्थ्यो, विवाद भइरहन्थ्यो । राजपा पार्टीले पूर्णता नलिँदै समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा बनायो । जसपा बनेपनि त्यसमा पूर्व राजपाको रोग छिर्यो । जे तामाशा राजपामा हुन्थ्यो त्यही तामाशा उहाँहरुले जसपा नेपालमा सुरु गर्नुभयो । महन्थ र राजेन्द्रजीहरुले जसपालाई पनि राजपा जस्तै चलाउन खोज्नुभयो । राजपालाई व्यवस्थित गर्न सक्नु भएन । न जिल्लामा संगठन बन्यो, न प्रदेशमा । स्थानीय तहको कुरा धेरै टाढाको कुरा हो । तर अहिले जसपाको समायोजन हुन थालेपछि सबै ठाउँ हिस्सा खोज्न थाल्नु भएको छ ।

मधेशको मुद्दा
महन्थ ठाकुरहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर मधेशका धेरै माग पुरा गराउन सफल हुनुभयो भनि चर्चा सबैतिर सुनिन्छ । उहाँहरुले आफूहरु मधेशको माग पुरा गराएर सरकारमा सहभागी भएको भन्न थाल्नु भएको छ । सरकारमा गएको स्पष्टिकरण दिन थाल्नु एको छ । उहाँहरुले १४० कि १५० वटा मुद्दा फिर्ता गराए भन्नुभएको छ, त्यो सबै हल्का मुद्दाहरु थिए, कोही पनि जेलमा थिएनन् । उनीहरुमाथि साधारण मुद्दा लगाइएको थियो । कोही पनि भगौडा थिएनन । एकदिन त्यो मुद्दा फिर्ता हुन्थ्यो नै । मुद्दामा कुनै दम थिएन तर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सबैलाई गुमराहमा राखेर मुद्दा फिर्ता गर्नुभयो र त्यसको पक्षमा महन्थ ठाकुर पक्षधर नेताहरुले ताली बजाउन थाल्नुभयो ।

गम्भीर प्रकृतिका मुद्दा एउटा पनि फिर्ता भएको छैन । प्रकृयामा छ रे, प्रकृयामा १० वर्षदेखि छ त्यही सुन्दै आएका छन् सबैले । रेशम चौधरीलगायत अहिले पनि थुप्रै मान्छे थुनामा छन्, कोही देश छाडेर भागेका छन् । उनीहरुको मुद्दा किन फिर्ता भएन, किन रिहाय भएन । मान्छे मार्दै हिडेका विप्लवका कार्यकर्ता रिहाइ हुने, देशद्रोहीका मुद्दा लागेका सिके राउत र उहाँका कार्यकर्ता रिहाइ हुने, जघन्य अपराध गरेकाहरु मन्त्रीपरिषद्को निर्णयबाट रिहाय हुने तर मधेश आन्दोलनमा पक्राउ परेकाहरु किन रिहाय भएन । प्रधानमन्त्री अ‍ोलीले कसको आँखामा धुलो झोक्न खोज्नु भएको हो ? मधेशी जनता अब त्यति बेवकुफ छैन । अहिले अध्यादेशबाट नागरिकताको समस्या समाधान गरेको भनि हल्ला मचाउनु भयो । सबैलाई बेवकुफ बनाउनु भयो तर त्यसलाई सर्वोच्च अदालतले बदर गर्दिनुभयो । आखिर हल्ला गरेको रहेछ, जनतालाई ढाँटेको रहेको छ भनि कुरा प्रमाणित भएको छ ।

यदि नागरिकताको समस्या समाधान नै गर्नुथियो भने नागरिकता सम्बन्धी विधेयक संसदमा थियो त्यसलाई पास गराउँदा हुन्थ्यो नि किन चार वर्षदेखि त्यही अल्झेको छ । वैवाहिक अंगिकृतका के भयो ? नागकिरता ऐनमा व्यवस्था छ तर संविधानमा व्यवस्था किन गरेको छैन, संविधान संशोधन गरेर त्यो गर्नु पर्दैन्थ्यो ? वंशजले मात्र संवैधानिक पदमा जान पाउने प्रावधान छ त्यसलाई पनि संशोधन गरेर सच्याउन माग गरिएको थियो त्यो किन गराइएन ? जे संविधानमा छ त्यो ल्याएर कानुन राख्दियो त्यो धेरै ठूलो काम भयो जुन कुरा संविधानमा छैन त्यो ल्याउन चाहिरहेको छैन त्यसको बारेमा चु बोलेका छैनन् ।

रह्यो संविधान संशोधनका लागि विज्ञ समूहको गठनको कुरा । यस्ता विज्ञ समूह र कार्यदल पहिला पनि गठन भएकै हो । अहिले जुन नेताजीहरु कार्यदलमा बस्नुभएको छ ती नेताहरु कतिचोटी यस्तै कार्यदल तथा समूहमा बस्नु भएको छ उहाँहरुले भन्नुपर्छ । त्यसैले मधेशी जनताको आँखामा धुलो हाल्ने काम प्रधानमन्त्रीबाट भएको जसको जसको मतियार उहाँ (महन्थ) हरु बन्नुभएको छ । काँग्रेस र माओवादीले संविधान संशोधनका लागि प्रस्ताव संसदमा लग्दा त्यसलाई उहाँ (ओली) ले नै असफल पार्नुभएको होइन ? अहिले आफ्नो कुर्सी जोगाउनका लागि यस्तो गरेको कुरा कसलाई थाह छैन ।

मधेशको चुरेबाट बालुवाट, गिटी बेच्ने निर्णय प्रधानमन्त्री ओलीले गर्नुभएको छ के त्यो मधेश विरोधी निर्णय होइन, अहिले सबैतिरबाट त्यसको विरोध भइरहेको छ तर महन्थ र राजेन्द्रजीहरु किन बोल्नु भएको छैन । यसका मतलब प्रधानमन्त्रीले जे जे काम गर्नुभएको छ ती सबैको साक्षी उहाँहरु पनि हुनुहुन्छ त ? प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चाल्नु भएको छ उहाँहरु पनि त्यसको मतियार हुनुहुन्छ ।
(राष्ट्रिय सभा सदस्य एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मृगेन्द्रकुमार सिंह यादवसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया