Khadya Bibhag

२००७ सालको आन्दोलनमा तराई–मधेशको भुमिका

–श्रीमन नारायण,-
नेपालबाट १०४ वर्षिय पारिवारिक राणा शासनको अन्त्य भएको र देशमा प्रजातन्त्रको स्थापना भएको ७४ औँ वर्षमा हामी प्रवेश गरेका छौँ । आउँदो साल हामी यसलाई प्रजातन्त्र स्थाापनाको “अमृत वर्ष” को रुपमा मनाउँनेछौँ । वि.स. २०१७ पुस ७ देखि २०४६ साल चैत्र २६ सम्मका अवधि नेपाली प्रजातन्त्रका लागि काला दिन थिए तर अब पञ्चायतको तीन दशक इतिहासको पानामा सिमित भएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागी आफ्नो ज्यान गुमाएका, सर्वस्व गुमाएका, जेल–नेलको यातना भोगेका, तन, मन र धनले समर्पित प्रत्येक नेपाली प्रति कृतज्ञ राष्ट्र सदैव आभारी रहने छ । तात्कालिन राजा त्रिभुवनले पनि नेपालमा प्रजातन्त्रको स्थापनार्थ आफ्नो राजगाद्दीको बाजी लगाएका यथार्थलाई बिर्सन सकिदैन ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागी तराई, पहाड र हिमालका जनताले एकजुट भई आन्दोलन गरेका थिए । नेपालमा आजसम्म जे जति आन्दोलन भएका छन्, ती सबैमा प्रत्येक क्षेत्रका नेपाली जनताको सहयोग र समर्थन रही आएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि तराई–मधेसका जनताले गरेका त्याग, समर्पण र बलिदानको पनि उच्च महत्व रहेको छ ।
नेपालबाट राणा शासनको अन्त्य र देशमा प्रजातन्त्रको स्थापनाका लागि दक्षिणी छिमेकी भारतबाट अंग्रेजहरुको शासन समाप्त हुनु आवश्यक रहेकोमा नेपालका प्रजातन्त्रवादीहरु पनि एकमत थिए । स्व.मातृकाप्रसाद कोईराला, वि.पी.कोइराला र मनमोहन अधिकारीहरुले भारतको स्वतन्त्रतता आन्दोलनमा सक्रिय सहभागिता जनाउनु र पक्राउ समेत पर्नु यसैका उदाहरण हुन् ।
भारतको पटनामा त अहिले पनि स्व.वि.पी.कोइरालाको स्मारक रहेको छ । भारतमा ब्रिटिश शासकहरुको विरुद्धमा चलाईएको स्वतन्त्रताको निर्णायक संघर्षमा भारतीय नेताहरुले कहिले काही नेपालको खुल्ला सिमानाको उपभोग गर्ने गर्दथे । त्यसै क्रममा सन् १९४२ मा भारतीय नेताहरु जयप्रकाश नारायण र डा.राममनोहर लोहियाहरु अंग्रेज सैनिकको दमनबाट बच्न नेपालको सप्तररी आएर बसेका थिए तर नेपालका राणा शासकहरु आफ्नो शासन सत्तालाई टिकाउन अंग्रेजको पक्षमा डटेर उभिएका थिए ।
नेपालका सुरक्षाकर्मीहरुले भारतीय नेतालाई पक्राउ गरी सप्तारीको हनुमान नगर जेलमा राखेका थिए । स्थानीय नेपालीहरुले हनुमाननगर जेल फोडी ती भारतीय नेताहरुलाई त्यहाँबाट रिहा गराउनमा सफल भएका थिए । राणा सरकारले यस आरोपमा २२ जना स्थानीय नेपालीलाई पक्राउ गरी काठमाडौँ ल्याए ।
कृष्णवीर कामी र अब्दुल मियाको त जेलमै निधन भयो जबकी रामेश्वार प्रसाद सिंह, चतुरानन सिंह, यमुनाप्रसाद सिंह, जयमंगल सिंह, तारिणी प्रसाद सिंह, मीन बहादुर, रामजी सिंह, विष्णुभक्त, किसन दुसाध र नेबु मण्डललाई साढे दुई वर्षसम्म जेलमा राखियो । पश्चिमी नेपालको कपिलवस्तुमा बेगम हजरत महल लगायतका अनेकौ भारतीय आन्दोलनकारी पनि लुकेर बसेका थिए । पश्चिमी तराईको जिम्मा डा.के.आई सिंहलाई दिएको थियो । राधाकृष्ण थारु र कासीप्रसाद श्रीवास्तव पनि सक्रिय थिए । सप्तरीको कुसहा घाटना भारतीय नागरिक डाक्टर कुलदीपले शहादत दिएका थिए त्यसै क्षेत्रमा कामेश्वर–कुशेश्वर पनि शहादत दिएका थिए ।
सन् १९४७ मा विराटनगरमा मजदुरहरुले हड्ताल गरी राणा विरोधी आन्दोलमा ठूलो भुमिकाको निर्वाह गरेका थिए । हड्तालको नेतृत्व गरेका तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोईराला, गेहेन्द्र शर्मा र युवराज अधिकारी पक्राउ परेका थिए । सन् १९४९ मार्चमा बिहारको दरभंगामा भएको नेपाली कांग्रेसको बैठकमा राणा विरोधी आन्दोलनलाई सफल बनाउने विषयमा छलफल भएको थियो ।
सन् १९४७ मा जोगबनी र सन् १९४९ को पटनामा भएको समाजवादी सम्मेलनमा जो मुलतः नेपालमा प्रजातन्त्रको स्थापनाका लागि समर्थन जुटाउने विषयमा भएको थियो । त्यसमा डा.रामनोहर लोहिया सहभागी भएका थिए । सन् १९४९ को अन्तिम सातामा त नेपालको प्रजातन्त्रिक आन्दोालनमा भारतको समर्थन, सहयोग र सद्भावका लागी भारत–व्यापी “नेपाल दिवस” नै भनाईएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतीय नेताहरु डा.राममनोहर लोहिया, जयप्रकाश नारायण, आचार्य नरहेन्द्र देव र मधु लिमयेहरुको पनि सद्भाव र सहयोग रहेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहिद हुने पहिलो भारतीय मास्टर गुरुदयाल थिए । जो काठमाण्डौमा शिक्षकको रुपमा कार्यरत थिए । विद्यार्थीहरुलाई ट्युशन पनि पढाउँथे । उनी चार प्रमुख शहीदहरु मध्येका एक शुक्रराज शास्त्रीका बुवा माधवराज जोशीका मित्र पनि थिए । काठमाण्डौँबाट तराई आउने क्रममा उनी पक्राउ परेका थिए । उनको अवस्थी अज्ञात नै रह्यो ।
रौतहट जिल्लाको सदरमुकाम गौरको सीमावर्ती भारतीय बजार बैरगनिया (सीतामढी) मा नेपाली कांग्रेसले सन् १९५० को सेम्टेम्बर महिनामा प्रतिनिधि सम्मेलनको आह्वान गरेको थियो । त्यस सम्मेलनको अधिकांश खर्च रौतहटका किसान र जमिन्दारहरुले उठाएका थिए । सम्मेलनले सशस्त्र संघर्षको निर्णय गर्यो र यसको निम्ति अधिनायक (डिक्टेटर) का सम्पु्र्ण अधिकार मातृकाप्रसाद कोईरालालाई प्रदान गरेको थियो ।
बैरगनीया सम्मेमलनको प्रस्ताव स्वीकृत भएको केही दिनपछि अर्थात नोभेम्बर ६ मा त्रिभुवनले सपरिवार नारायणहिटी राजदरबारलाई परित्याग गरी हिन्दु दुतावास (भारतीय राजदुतावास) मा शरण लिएका थिए । एक विशेष विमानमार्फत राजा त्रिभुवन सपरिवार नयाँ दिल्लीका लागि प्रस्थान गरेपछि आक्रोशित भएर राणा प्रधानमन्त्री मोहन शम्शेरले ७ नोभेम्बरका दिन चार वर्षिय ज्ञानेन्द्र वीर विक्रम शाहलाई राजा घोषित गरे तर त्यो मान्य हुन सकेन ।
बैरगनिया सम्मेलन पश्चात नेपाली कांग्रेसले निर्णायक संघर्षको थालनी गरेको थियो । रौतहटको सीमावर्ती झरोखर भने ठाउँ (हाल बारा) मा नेपाल राष्ट्रिय कांग्रेसका केदारमान ब्यथितलाई पक्राउ गर्न नेपालका पुलिस तयार भएर बसेका थिए तर नेपाली काँग्रेसका कार्यकर्ताले आफ्नो पेस्तोलको प्रयोग गरी एक जना प्रहरीलाई घाइते बनाएपछि अन्य प्रहरी भागे जबकी आन्दोलकारीहरु सिमाबर्ती भारततिर लागे ।
झरोखर काण्डलाई राणाले आफ्नो प्रतिष्ठाको विषय बनायो र भरतप्रसाद शर्मा, मेघराज उपाध्याय र केदारमान ब्यथितहरुलाई नेपाललाई बुझाउन भारतसँग आग्रह गर्यो तर भारतले मानेन ।
नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगञ्जलाई आफ्नो प्रमुख लक्ष्य बनाएको थियो । बीरगञ्जको आर्मी ब्यारेकमाथि कब्जा जमाउने रणनीति थियो र त्यसमा सफल पनि भयो । १८ नोभेम्बरका दिन रौतहटका निहत्था १० हजार किसानको जुलुस बजार अड्डातिर बढ्यो । शुरुमा सशस्त्र सैनिकहरुले तिनलाई आउनमा रोक लगाए तर जब आन्दोलनकारी जनता गौरको अमिनी कचहरीसम्म पुगेका थिए अनि सशस्त्र सैनिकले चारैतिरबाट घेरा हाली तिनीमाथी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
यस हत्याकाण्डको तुलना पञ्जाबको जालियाँबाला बाग हत्याकाण्ड सित गरिन्छ । त्यस निर्मम र प्रतिशोधपूर्ण हत्याकाण्डमा शिवप्रसाद सिंह र नन्दुब केसरी लगायत डेढ–दुई दर्जन जति स्थानीयले सहादत दिएका थिए । अहिले पनि रौतहटको जिल्ला अदालतको परिसरमै शहिद शिवप्रसाद सिंहको स्मारक रहेको छ । त्यसभन्दा एक दिनअघि बाराको परवानीपुरमा पनि हजारौको संख्यामा जनताले जुलुस निकालेका थिए । सरकारी फौजको क्रुर दमनमा अनेकौ ब्यक्ति घाइते भएका थिए र सैकडौ पक्राउ परेका थिए ।
नोभेम्बर १९५० मा वीरगञ्ज मुक्ति सेनाको कब्जामा हुनासाथ नेपाली कांग्रेसले आफ्नो सरकारको स्थापना गर्यो । तेज बहादुर आमात्य वीरगञ्ज जनसरकारका सैनिक प्रशासक घोषित भए । मेजर पुरन सिंह र थीरबम मल्लको नेतृत्वमा मुक्ति सेनाले १०–११ नोभेम्बरमा आक्रमण गरेको थियो ।
वीरगंज आफ्नो हात्तबाट गईसकेको आक्रोशमा सुरक्षाकर्मीहरु आक्रोशित थिए र प्रतिशोध लिने मानसिकतामा थिए । आखिर ११ नोभेम्बरमै सैनिकको गोली लागी थीरबम मल्ल गम्भिर रुपमा घाइते भए । सिमाबर्ती रक्सौलको डनकन अस्पतालमा उनको उपचार पनि गरियो तर उनी बाँच्न सकेनन् ।
२००७ सालको आन्दोलनमा तराई मधेशका प्रायः सबै जसो जिल्लाहरुमा प्रजातन्त्रवादीहरुले गिरफ्तारी दिएका थिए । हाम्रा वीर शहिदहरुको बलिदान र पुर्खा एंव अग्रजहरुको त्याग र समर्पणकै कारण आज हामी स्वातन्त्रा रुपमा र एउटा खुल्ला समाजमा जीवनयापन गरिरहेका छौ ।
विगत ७३ वर्षमा देशले शिक्षा, स्वास्थ्य, यातायात, विज्ञान, कला संस्कृाति लगायतका क्षेत्रमा धेरै प्रगति गरेको छ । अहिले पनि हामी सामु धेरै समस्या छन् तर हामी सबै मिलेर यसको समाधान गर्न सक्नेछौ । देश निरन्तर रुपमा प्रगतिको पथमा छ । संघीय–लोकतान्त्रिक गणतन्त्र नेपालको अबको लक्ष्य भनेको देशको आर्थिक विकास र समृद्धी नै हो । हाम्रा शहिदहरु र प्रजातन्त्रका लागि तन मन धनले योगदान गरेकोहरुलाई शत शत नमन !

तपाईको प्रतिक्रिया