उत्पादन र आपूर्ती गर्नेलाई प्रोत्साहित गर्ने

संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा गुणस्तरीय बीउ विजनको उत्पादन, आपूर्ती एवं वितरण प्रणालीलाई सुदृढ बनाउन र बीउ उत्पादक, वितरण तथा प्रयोगकर्ता कृषकलाई प्रदान गर्ने प्रोत्साहन अनुदानलाई पारदर्शी एवं एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीउ विजन उत्पादन, आपूर्ती तथा व्यवस्थापन निर्देशिका, २०७८ कार्यान्वयनमा ल्याएको छ ।

स्रोत बीउ र उन्नत बीउको माग, उत्पादन र आपूर्ती गर्नेलाई सरकारले प्रोत्साहन अनुदान दिइने निर्देशिकामा उल्लेख छ । स्रोत बीउ र उन्नत बीउमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिइनेछ भने उन्नत बीउको प्रयोगमा कृषकलाई मूल्यमा अनुदान दिइने निर्देशिकामा उल्लेख छ ।स्रोत बीउ र उन्नत बीउको माग, उत्पादन र आपूर्तीको तथ्याङ्क तयार गरी समग्र बीउ उत्पादन चक्रका व्यवस्थापन गर्दै स्वदेशमै उत्पादीत बीउ विजनको प्रवद्र्धन गर्ने उद्देश्य निर्देशिकाले लिएको छ ।

साथै बीउ उत्पादक, वितरण तथा प्रयोगकर्ता कृषकलाई तीनै तहका सरकारले प्रदान गर्ने प्रोत्साहन अनुदानलाई सहज, पारदर्शी र एकद्वारा प्रणालीमार्फत व्यवस्थित गर्ने बताइएको छ । गुणस्तरीय बीउ विजन उत्पादन, प्रशोधन, बजारीकरण र उपयोगमा सहभागी हुन चाहने सबै कृषक, कृषक समूह, बीउ विजनसँग सम्बन्धित सहकारी संस्था, सामुदायितक बीउ बैंक, कम्पनी तथा निजी उद्यमीहरु यस निर्देशिका बमोजिमको कार्यक्रममा सहभागी हुने निर्देशिकामा उल्लेख छ ।

गुणस्तरीय बीउ विजनमा कृषकको पहुँच वृद्धि गरी बीउ विजन आपूर्ती प्रणालीलाई सुदृढ गर्ने निर्देशिकाको उद्देश्य रहेको छ । बीउ विजनको उत्पादन, आपूर्ती तथा वितरण एवं सोको लागि उपलब्ध गराई स्रोत बीउ र उन्नत बीउको तथ्यांक र अनुदान वितरणलाई व्यवस्थित राख्नका लागि विद्युतीय बीउ विजन व्यवस्थापन प्रणालीको निर्माण गरिने निर्देशिकामा उल्लेख छ । यो प्रणालीको कार्यान्वयन केन्द्र, विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रादेशिक मन्त्रालय एवं सो अन्तर्गतका जिल्लास्थित कार्यालय तथा स्थानीय तहबाट हुने जनाएको छ ।

आफ्नै साधन स्रोत प्रयोग गरी स्रोत बीउ उत्पादन गर्न इजाजत प्राप्त अनुदानग्राहीलाई स्रोत बीउ उत्पादन परिमाणको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराउनेछ । त्यसैगरि उन्नत बीउको उत्पादन तथा आपूर्ती सुनिश्चित गर्नका लागि प्रादेशिक मन्त्रालय मातहतका जिल्लास्थित कार्यालयहरुबाट उन्नत बीउ उत्पादकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ । यस निर्देशिका बमोजिमका कार्यक्रम अन्तर्गत अनुदान प्राप्त गर्ने अनुदानग्राहीले सबैस्तरका बीउ विजन बेचबिखन गर्दा अनिवार्य रुपमा सरकारबाट अनुदानमा उपलब्ध गराइएको बीउ विजनको लेवलसहितको विवरण प्रष्टसँगै देखिने गरी बीउको बोरा वा प्याकेटमा उल्लेख गर्नुपर्ने छ ।

सोत बीउ र उन्नत बीउ उत्पादन गर्ने आवेदकहरुलाई बाली बीमा गराउन प्रोत्साहित गर्नुको साथै बीउ सम्बन्धी कार्यक्रम सञ्चालन भएका स्थानीय तहले सिधै र सम्बन्धित जिल्लास्थित कार्यालयले प्रादेशिक मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमको प्रगति प्रतिवेदन मासिक एवं वार्षिक रुपमा विभाग हुँदै कृषि मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया