नेपाल सरकारले बंगलादेशबाट जीटुजीको सम्झौताबाट लिएको सम्पूर्ण रसायनिक मल नेपाल आइपुगेको छ । कृषि तथ पशपन्छी विकास मन्त्रालयका अनुसार बंगलादेशबाट ५२ हजार मेट्रिकटन मल नेपाल आइपुगेको छ । कृषि मन्त्रालयले बंगलादेशबाट पच्चास हजार मेट्रिकटन युरिया मल खरिद गर्ने भनि जीटुजी सम्झौतामा हस्ताक्षर गरेको थियो ।
सम्झौताअनुसार तीन लटमा त्यहाँबाट सबै मल नेपाल आइसकेको छ । सम्झौता ५० हजार मेट्रिकटनको भएको थियो तर अरु ठाउँभन्दा त्यहाँ सस्तोमा मल पाएको कारण थप दुई हजार मेट्रिकटन युरिया मल खरिद गरिएको कृषि समाग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिनुभयो । सम्झौतामा नै पाँच प्रतिशत मल तलमाथि गर्न सकिने उल्लेख हुन्छ । आवश्यक पर्यो भने पाँच प्रतिशत मल बढी लिन सकिन्छ वा पाँच प्रतिशत कम लिन सकिन्छ । नेपाललाई आवश्यकता थियो र सस्तो पनि थियो त्यही भएर दुई हजार मेट्रिकटन मल खरिद गरिएको उहाँले बताउनुभयो ।
५२ हजार मेट्रिक टन मल नेपाल आइसकेको र विक्रि वितरण पनि समेत सुरु भइसकेको छ ।
२०७७ को धान सिजनमा युरिया मलको हाहाकार भएपछि तत्कालिन कृषि मन्त्री घनश्याम भुसालले बंगलादेशबाट पैंचोमा मल ल्याउने भनि कुराकानीलाई अगाडि बढाउनु भएको थियो । कुरा सकारात्मक रुपमा अगाडि बढेपछि भदौंको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा अोलीले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग फोनमा संवाद गरी पैचौंमा मल ल्याउने सुनिश्चित गर्नुभएको थियो । बंगलादेशले मल दिन तयार भएपछि २०७७ असोजमा मन्त्रीपरिषद्को बैठकले औपचारिक निर्णय गरी मल ल्याउने प्रकृया सुरु गर्न कृषि मन्त्रालयलाई सैद्धान्तिक अधिकार पनि दियो ।
कृषि मन्त्रालयले प्रकृया सुरु गरेको एक महिनामा नै बंगलादेशले पैंचो मल दिन नसकिने बरु खरिद गर्न सके मात्र सहयोग गर्ने भनेर कृषि मन्त्रालयलाई पत्र पठाएको थियो । त्यसपछि कृषि मन्त्रालयले खरिद गरेर नै मल ल्याउने भनि बंगलादेशसँग संवाद सुरु गर्यो । पत्रको अदान प्रदान भयो । विभिन्न चरणमा भौतिक तथा भर्चुअल बैठकहरु पनि भयो । बल्ल बंगलादेशले मल दिन तयार भएपनि कृषि मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव लग्यो । मन्त्रीपरिषद्ले जीटुजीमार्फत बंगलादेशसँग मल खरिद गर्न सैद्धान्तिक अधिकार दियो । सो अधिकार बमोजिम कृषि मन्त्रालयले प्रकृया सुरु गर्यो ।
२०७७ पुस २ गते मात्र युरिया मल ल्याउने भनि नेपाल र बंगलादेशबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापछि मल ल्याउन प्रकृया सुरु भएको सात महिनापछि मात्र सम्पूर्ण मल नेपाल आइपुगेको हो । कृषि समाग्री कम्पनी लिमिटेडका कार्यकारी निर्देशक नेत्र भण्डारीले बंगलादेशले यसरी पहिलो पटक अरु देशलाई मल विक्रि गरेको कारणले प्रकृया बुझ्दै गर्दैमा थोरै ढिलो भएको बताउनुभयो । कोरोना महामारकिा कारणले पनि मल आउनमा थोरै ढिलाई भएको हो तर यसलाई खासै ढिलो भन्न नसकिने उहाँले बताउनुभयो । तर बंगलादेशबाट मल खरिद गर्दा नेपाललाई थुप्रै फाइदा भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया