डीडीसीमा भ्रष्टाचारको स्विकारोक्ति

दुग्ध विकास संस्थान (डीडीसी) मा भइरहेको विभिन्न भ्रष्टाचार तथा अनियमिताको बारेमा व्यवस्थापन पक्षबाट पनि स्वीकार गरेको छ र त्यसलाई समाधान गर्ने तथा दोषीलाई कारवाही गर्ने सहमति गरेको छ । त्यहाँ हुने भ्रष्टाचार तथा अनियमिततालाई व्यवस्थापनको पक्षबाट ढाकछोप हुन्थ्यो । भ्रष्टाचार भएको पुष्टि हुँदा हुँदै पनि सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुको सट्टा उसलाई पुरस्कृत गरिन्थ्यो । त्यसैको विरुद्धमा त्यहाँका कर्मचारीहरुले आन्दोलन सुरु गरे ।

त्यहाँका कर्मचारीहरुले डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक एर्व सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाए । विभिन्न माग राखि लगातार १३ दिनसम्म कार्यालय प्रवेशमा रोक लगाएपछि बल्ल भ्रष्टाचारीलाई कारवाही गर्ने र डीडीसी सुधारका लागि पहल गर्ने त्यहाँका व्यवस्थापन सहमत भएको छ । सम्झौता अनुसार काठमाडौँ दुग्ध वितरण आयोजनामा भौतिक परीक्षणको क्रममा नपुगको भएको फ्याट र एसएनएफको सम्बन्धमा सञ्चालक समितिले तत्कालिन आयोजना प्रमुख हालका निमित्त उपमहाप्रबन्धक राजेन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको थियो ।

तर महाप्रबन्धले पौडेलले अधिकारीलाई कारवाही नगरेको सन्दर्भमा कर्मचारी संघले पटक पटक भन्दै आएको पनि थियो । तर व्यवस्थापनले वास्ता गरिरहेको थिएन । दुई पक्षबीच भएको सहमति अनुसार सञ्चालक समितिबाट भएको निर्णय र व्यवस्थापनबाट भएको गरेको कार्यवाहीको सम्बन्धमा संस्थानको विनियमावली अनुसार आवश्यक कानुनी परामर्शसहित ४५ दिनभित्र कारवाही टुग्यांउने गरी पुनरावलोकनको लागि संचालक समितिलाई अनुरोध गर्ने भएको छ ।

त्यस्तै, धुलो दूधमा पनि अनियमितता हुने गरेको कर्मचारीको आरोप छ । अहिले एक केजी धुलो दूधको ११.६ लिटर झोल दूध उत्पादन हुन्छ । जबकि त्यसअघि १२ लिटर उत्पादन हुन्थ्यो । कर्मचारीहरुले त्यसमा पनि प्रश्न उठाएका छन् । दुई पक्षको सहमति अनुसार धुलो दूधबाट झोल दूध बन्ने विषयमा त्यहाँका कर्मचारीहरुले चेकजाँच गर्ने भएका छन् । किन पहिला बढी दूध उत्पादन हुन्थ्यो अहिले किन कम हुन्छ भने विषयमा युनियनका प्रतिनिधि समेतको सहभागितामा एक पटक भेरीफिकेशन गर्ने दुई पक्षमा सहमति भएको छ । डीडीसीमा दुग्ध पदार्थहरु बजारीकरणको सम्बन्धमा पनि समस्या रहेको दुवै पक्षले स्वीकार गरेका छन् । बजारको माग अनुसार डीडीसीले सामान आपूर्ती गर्न सकेको छैन । दूध संकलनमा निरन्तरता नभएको दुवै पक्षले स्वीकार गरेका छन् । त्यसैले दूध संकलन प्रशोधन, दुग्ध पदार्थ उत्पादन र बजारीकरणमा नियमितता र निरन्तरतामा सुधार ल्याउन बजार व्यवस्थापन विभाग तथा प्राविधिक व्यवस्थापन विभागलाई जिम्मेवार बनाउने सहमति भएको छ ।

दुग्ध पदार्थ विक्रि वितरण आयोजनाको चीज स्टोरमा चीज नपुग तथा विग्रेको विषयमा छानविन गर्न सञ्चालक समितिबाट एउटा समिति बनेको थियो । सो समितिको प्रतिवेदनको आधारमा दोषी कर्मचारीमाथि विभागीय कारवाही गरी रकम असुल उपर गर्ने विषयमा पनि दुई पक्षको बीचमा सहमति भएको छ । त्यसका साथै काठमाडौँ दुध वितरण आयोजनामा रहेको ८० लाख बराबरको दानाको रकममा पनि हिनामिना भएको छ । सो रकम संस्थाको हकमा संकलित दुधको रकमबाट कट्टा गरी अविलम्ब हिसाब मिलान गराउने तथा कर्मचारीको हकमा रकम असुल उपर भएको सात दिनभित्र विभागीय कारवाही गरिने सहमति समेत भएको छ ।

तपाईको प्रतिक्रिया