मधेशी एकता समाजद्वारा मृतक परिवारलाई एक लाख ५० हजार रुपियाँ सहयोग

काठमाडौँ फागुन ११ गते । मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली नागरिक योगेन्द्र भेडिहरको परिवारलाई एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

समाजको नेपाल इकाईकी अध्यक्ष डा.बबीसिंह यादवले आज धनुषा जिल्लाको सबैला नगरपालिकाको रघुनाथपुरस्थित मृतक भेडिहरको घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष डा. यादवले मृतकी पत्नी रुबी राउतलाई एक लाख ४० हजार रुपियाँको चेक र १० हजार रुपियाँ नगद हस्तान्तरण गर्नुभयो । मृतकको श्रीमती र नौ महिनाकी छोरी रहेका छन् भने परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ ।

मधेशी एकता समाजका सल्लाहकार डा. रविन्द्र कुमार यादवका अनुसार मृतकको शवलाई नेपाल फर्काउने काममा समेत समाजले आर्थिक सहयोग गरेको थियो । मधेशी एकता समाज संसारभरि छरिएर रहेका नेपालका मधेशी प्रवासीहरुमाझ एकताको भावनालाई सञ्चार गर्दै उनीहरुको सुखदुःखमा सदासर्वदा साथ दिन सन् २०२१ मा दुबईमा स्थापना भएको हो ।

मृतक भेडिहार भ्रमण भिसामा युएई जानु भएको थियो । भ्रमण भिसामै रहेको बेला उहाँले जागिर पाउनु भएको थियो । तर श्रम स्वीकृति र जीवन बीमासहित अन्य जरुरी कागजात उहाँसँग थिएन । सधैझैँ कामबाट फर्किएर राति सुत्न गएका भेडिहारको पुस ५ गते राति मृत्यु भएको थियो । कागज दुरुस्त नभएकोले उहाँको शवलाई नेपाल फर्काउन निकै कठिनाइ भएको थियो ।

मृतक भेडिहारले काम गर्ने कम्पनीले आवश्यक कागजातको अभाव र कानुनी व्यवस्थाका कारण उहाँको शवलाई स्वदेश पठाउन अस्वीकार गरेको सल्लाहकार यादवले बताउनुभयो । मृतकसँग श्रम स्वीकृति नरहेको र बीमा समेत नरहेकोले पहलकर्ताहरुले प्रशासनिक कठिनाइका साथै आर्थिक कठिनाइको सामना गर्नु परेको उहाँले बताउनुभयो । विभिन्न मधेशी संस्थाहरुले हातेमालो गर्दै उहाँको शवलाई नेपाल फर्काउने अभियानलाई सुरु गरेको थियो । त्यसमा जोडिदै मधेशी एकता समाजका उपाध्यक्ष श्रीकृष्ण ठाकुरले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई फागुन ४ गते राति नेपाल वायु सेवा निगमको जहाजबाट स्वदेश पठाउन सफल हुनुभयो ।

 

तपाईको प्रतिक्रिया