कृषि गणनाको नतिजा मंसिरमा आउने

कृषि गणनाका लागि तथ्यांक संकलन गर्ने कार्य सकिएको छ । संकलन गरिएको तथ्यांकको फारमहरु केन्द्रीय तथ्यांक विभागमा आइसकेको राष्ट्रिय कृषिगणना २०७८ का अधिकारी बद्रीकुमार कार्कीले बताउनुभयो । बैशाख ६ गतेदेखि देशैभरि कृषि गणनाका लागि सुरु गरिएको तथ्यांक केन्द्रमा आइसकेको छ । कृषि गणनाका अधिकारी कार्कीले भन्नुभयो, ‘गणना पश्चातको मुख्य गणना कार्यबाट प्राप्त फारमहरुको कोडिंग, इडिटिंग, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरि मंसिर महिनासम्ममा प्रारम्भिक प्रतिवेदन सार्वजनिकीकरण गरिनेछ ।’ ७७ वटै जिल्लामध्ये डोटीको तथ्यांक आउन बाँकी छ, यतायातका कारण समयमा आउन नसकेको बताउँदै उहाँले त्यहाँ फारमहरु पोका पारेर तयारी अवस्थामा राखिएको छ अगामी हप्ताभित्र आइपुग्ने बताउनुभयो ।

कृषि गणनाको अवस्था के छ त्यो अहिले भन्न सकिने अवस्था नरहेको बताउँदै उहाँले एकचरण सबै तथ्यांकको विश्लेष्ण भइसकेपछि मात्र त्यसको बारेमा केही भन्न सकिने बताउनुभयो । पहिलाको तुलनामा यसपटक कृषि गणना फरक तरिकाले भएको छ । विगतमा कृषिगणना कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण जिल्ला तहसम्म मात्र हुन्थ्यो, त्यसको प्रारम्भिक कुरा तत्कालै भन्न सक्ने अवस्था हुन्थ्यो तर यसपटक ७५३ वटै पालिकाको वडा वडामा गएर किसानको विवरण संकलन गरेको हुनाले प्रशोधन र विश्लेषणमै समय लाग्ने भएकाले कृषिको अवस्था बारेमा तत्कालै केही भन्न नसकिने उहाँले बताउनुभयो ।

कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिचाइ, पशुपन्छीको सँख्या, कृषि औजारको उपयोग, कृषि–कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा, कृषि वन, कृषि ऋण, विमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतीको प्रयोग, माटो परीक्षण, पशु आहारको श्रोत, कृषि बजारसम्मको पँहुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापन लगायत कोभिड १९ ले कृषि क्षेत्रमा पु¥याएको असर जस्ता विषयमा तथ्यांक संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय कृषिगणना २०७८ मा गणनाको एकाइ कृषिचलनलाई लिइएको छ । हिमाल र पहाडका जिल्लामा भए कम्तीमा ४ आना र तराईका जिल्लामा भए कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएकोलाई किसान मान्ने मापदण्ड बनाएकोे थियो । अथवा, जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी जस्ता ठूला चौपाया पालेको वा कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको वा माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेकोलाई कृषिगणनामा राखिएको छ । कृषिगणनाका लागि तीन लाख ५० हजार कृषक परिवारलाई छानिएको थियो । त्यसका लागि छहजार गणक, १५ सय सुपरिवेक्षक तथा करिव ७७ कृषिगणना अधिकृतहरु खटाइएको थियो ।

तपाईको प्रतिक्रिया