शिक्षकका लागि पढ्न जानु भएका सन्तोष गायक बनेर फर्के

सप्तरी विष्णुपुर खुरहुरियाका सन्तोष यादव अर्थात सन्तोष सानुले एसएलसी (२०५५) पास गर्दासम्म गायक बन्छु भन्ने थाह थिएन । शिक्षक बन्ने सपना लिएर आइएड पढ्नका लागि उहाँ लाग्नुभयो सुनसरीको धरानतिर । उहाँको बुवा प्रभुनारायण यादव प्रावि शिक्षक हुनुहुन्थ्यो उहाँलाई पनि शिक्षक बन्ने नै चाहना थियो । त्यो सपना बोकेर उहाँ धरानको धरान बहुमुखी क्याम्पसमा आइएडमा नाम लेखाउनुभयो । पढाई सुरु भएसँगै उहाँले बेलाबेला कलेजमा गीत गाउनु हुन्थ्यो । कलेजमा कुनै कार्यक्रम हुँदा विद्यार्थीको च्वाइसमा सन्तोष पर्नुहुन्थ्यो । किनभने सन्तोषका साथीहरुले उहाँलाई गीत गुनगुनाएको थाह पाउनु भएको थियो । लिजर घण्टीमा सन्तोषको अवाजमा गीत सुनेर नै विद्यार्थीहरु टाइम पास गर्थे ।

त्यही भएर कलेजमा हुने कुनै पनि कार्यक्रममा विद्यार्थीको च्वाइसमा सन्तोष पर्नुहुन्थ्यो । कहिले काही मात्र उहाँले लाइभ नै गीत गाउनु हुन्थ्यो भने प्रायः ट्रयाकमा नेपाली तथा हिन्दी गीतहरु गाउनु हुन्थ्यो । उहाँले सम्झदै भन्नुभयो, ‘त्यतिबेला रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो….’ गीत एकदमै चर्चित थियो, म प्रायः त्यो गीत गाउँथे । त्यस्तै, हिन्दी गीतमा ‘मुझे निन्द न आए, मुझे चइन नआए……’ ‘पापा कहते हैं बेटा हमरा बाडा काम करेगा…….’ जस्ता गीत गाउँथे । प्राय यी गीतहरु ट्रयाकमा नै गाउँथे ।’ यसरी कार्यक्रम तथा साथी भाइको संगतमा गीतहरु गाउन थालेपछि सन्तोषको जहाँ त्यही चर्चा हुन थाल्यो । त्यसपछि साथीहरु तथा कलेजका सरहरुले पनि तपाई यही क्षेत्रमा लाग्नुस्, गीत संगितलाई नै आफ्नो पेसा बनाउनुस् भनि सल्लाह दिएका थिए ।

म स्कूल पढ्दा पनि गीत गाउँथे तर अरुको सामुने गाउन लाज लाग्थ्यो, उहाँले भन्नुभयो, ‘स्कुल पढ्दा साथी भाइको बीचमा गाइ दिन्थे त्यो बेग्लै कुरा हो तर अरु सामुने गाउन मलाई कहिले आँट आएन निकै लाज लाग्थ्यो, त्यही भएर कसैले मलाई तिम्रो स्वर राम्रो छ, तिमी राम्रो गाउँछौं भनेनन् र म पनि त्यतातिर कहिले ध्यान दिइनन् ।’ कहिले खेतबारी जाँदा गुनगुनाउँथे, कहिले एक्लै हुँदा गुनगुनाउँथे तर जब एसएलसी पास गरेर उच्च शिक्षाका लागि धरान गए अनि अरुको सामुने खुलेर गाउन थालेको उहाँ बताउनु हुन्छ ।

त्यहाँ अरुको सामुने गाउन मलाई कुनै लाज थिएन किनभने त्यहाँ चिने जानेका कोही थिएनन्, अधिकाँश पहाडी सामुदायका थिए सबैको सामु मज्जाले गीत गाउथे, उहाँले भन्नुभयो, ‘त्यहीबाट मेरो प्रतिभा बाहिर आयो र साथीभाइको सल्लाहले यसैलाई आफ्नो पेसा बनाए ।’ त्यसपछि कलेजको विदामा घर आउँदा अरुको सामु गीत गाउन थाल्नुभयो उहाँ । धरानमा उहाँले यति गीत गाउनुभयो कि उहाँको लाज हराई सकेको थियो । त्यसपछि गाउँको सरस्वती पूजा होस् वा दुर्गा पूजा वा अरु कुनै कार्यक्रमहरु किन नहोस् सन्तोषको डिमाण्ड हुन्थ्यो । उहाँ विस्तारै विस्तारै सप्तरीका गीत संगितका कलाकार विद्या मिश्रा, रञ्जु साह र शैलेन्द्र विश्वकर्माको सम्पर्कमा जानुभयो ।

उहाँहरु पनि त्यही क्षेत्रमा काम गर्नुहुन्थ्यो । उहाँहरुको आफ्नै गीत संगितका इन्स्टिच्युट पनि थियो । उहाँहरुसँग पनि केही कुरा सिक्नुभयो । त्यसपछि उहाँ स्टेजमा पनि गीत गाउन थाल्नुभयो । हरमुनियम तथा ढोलकमा पनि लाइभ गाउन थाल्नुभयो । धरानमा हुँदा पनि उहाँले लेखु विवशसँग विभिन्न जिल्लामा गएर कार्यक्रमहरुमा गीत गाउन थाल्नुभयो । विभिन्न स्टे शो गर्नुभयो । त्यसपछि उहाँको ध्यान पढाई भन्दा गीत संगितमा बढी जान थाल्यो । पढाई कमजोर हुन थाल्यो । त्यही कारणले सायद आइएडमा एक विषय ब्याक लाग्यो । उहाँले भन्नुभयो, ‘कुन विद्यार्थी भन्छन् कि फेल भइ जाओस् तर मेरो लागि फेल हुनु बरदान सावित भएको थियो । फेल भएपछि केही समय मिल्यो त्यो समयमा मैले गीत संगित सिक्ने मौका पाए ।’ अर्थात पुरा समय गीत सगितमै ध्यान दिन थाल्नुभयो ।

पहिलो एकल साँझ
२०६२ मा बीएड पास गरेपछि सन्तोषको सम्मानमा उहाँका साथीहरुले सन्तोषकुमार एकल साँझ कार्यक्रमको आयोजना गरेको थियो । साथीहरुले उहाँको नामबाट टिकट बेच्ने काम गरेका थिए । टिकट पनि राम्रै बिक्रि भएको थियो । त्यो एकल साँझ सन्तोषका लागि पहिलो खुड्किला थियो । उहाँले त्यो दिन धुम मचाउनु भएको थियो । जताततै सन्तोषकै मात्र चर्चा थियो । उहाँको आवाजमा जादु थियो, जसले धेरैको मन जितेको थियो ।

बीएड सकाएर घर फर्केपछिको एक डेढ महिनापछि उहाँ पहिलो मैथिली गीत रेकर्डिङ गराउनु भएको थियो । त्यसका लागि उहाँ दिल्ली जानुभएका थियो । त्यतिबेला यता कतै त्यति राम्रो रेकर्डिङ हुँदैन्थ्यो । उहाँले दिल्ली गएर ‘चुनलौं चुनलौ एहन कनिया…..’ बोलको गीत गाउनु भएको थियो । दिल्लीबाट फर्केपछि उहाँले थारु भाषाको ‘पनघटके पइन भरनी’ एल्बममा दुईटा गीत गाउनुभयो । उहाँलाई यसरी विस्तारै विस्तारै गीतको अफरहरु आउन थाल्यो । देवकरण माझीले बनाएको एउटा सरस्वती भजनका लागि उहाँ काठमाडौँ आउनु भएको थियो । त्यो गीतमा भुपेन्द्र रायमाझीको संगित थियो ।

गीत गाउन काठमाडौँ आउनु भएका सन्तोषलाई यहीँ बस्ने इच्छा भयो । त्यो बेला उहाँ फर्केर घर जानु भएन । उहाँ केही समय चावेलस्थित एउटा साथी कहाँ बस्नुभयो । त्यसपछि धुम्बाराहीमा आफ्नै डेरा लिएर बस्न थाल्नुभयो । काठमाडौँ बसाईको क्रममा यस्तै गीत संगितका लागि विभिन्न ठाउँमा ट्राइ गर्नुभयो । चिनजान बढाउन थाल्नुभयो । सोही क्रममा उहाँलाई जण्डिस भयो । त्यसपछि उहाँले डेरा छाडेर घर जानुभयो । जण्डिसको उपचार गराउनुभयो । केही समयपछि निको भएपछि उहाँ पुनः काठमाडौँ फर्किनुभयो । शैलेन्द्र विश्वकर्माले सप्तरीकख रोशन श्रेष्ठको घरमा राख दिनुभयो । त्यहाँ उहाँले रोशनको बच्चाहरुलाई पढाउनु हुन्थ्यो र त्यही बस्नुहुन्थ्यो ।

स्कलरसीपका लागि ट्राइ
६–७ महिनापछि दशैंमा घर जानुभयो । त्यही क्रममा सप्तरीमा मैथिली गीत बनाउने र एउटा एल्बम निकाल्ने कुराकानी भयो । त्यसको तयारीमा सन्तोष पनि लाग्नुभयो । ‘फैसनबाली’ एल्बमका लागि उहाँ गीत गाउन दिल्ली आउजाउ गर्न थाल्नुभयो । त्यसमा समय लाग्यो । अर्थात ५–६ महिना गाउँमै बित्यो । त्यसपछि उहाँ काठमाडौँ फर्किनुभयो । उहाँ पुनः रोशन श्रेष्ठकै घरमा बस्ने सोच बनाउनुभयो तर परस्थितिवश त्यहाँ बस्ने मौका मिलेन । त्यसपछि उहाँले सप्तरीकै विजय दासको डेरमा बस्न थाल्नुभयो । ३–४ महिना बसेपछि कुनैकुनै बहानामा विजय दासले सन्तोषलाई डेराबाट निकाल्नुभयो । सन्तोषको यस्तो हैसियत थिएन कि काठमाडौँमा डेरा लिएर बसोस् । उहाँ भारतीय दूतावासबाट स्कलरसीपमा संगित अध्ययनका लागि दिल्ली जाने सोच बनाउनु भएको थियो । उहाँले सोही सोचका अनुसार फर्म पनि भर्नुभएको थियो । त्यसको रिजल्ट चाँडै आउँछ भनि सोचेर उहाँले डेरा लिनु भएको थिएन । र, डेरा लिने हैसियत पनि हुनुहुन्थेन ।

त्यतिबेला उहाँलाई घरबाट पनि कुनै सहयोग प्राप्त भइरहेको थिएन । बुवा शिक्षक हुनुहुन्थ्यो । तैपनि उहाँलाई सहयोग भइरहेको थिएन । घरमा उहाँको भाइ पढी रहेको थियो । घर व्यवहार चलाउनु पथ्र्यो । उहाँको बुवाका चाहना बीएड पढी सकेपछि केही नकेही उ आफै गर्नुपर्छ । सधै घरबाट दिन सकिदैन । घरबाट कुनै सहयोग नभएको कारण उहाँले काठमाडौँमा डेरा लिएर बस्न सकि रहनु भएको थिएन । घरबाट आउँदा उहाँका आमा कुश्मादेवीले हजार, पाँचसय रुपियाँ लुकाएर दिनुहुन्थ्यो । त्यही रुपियाँले काठमाडौँको गर्जो टथ्र्यो । नत्र काठमाडौँमा अरु कुनै उपाय थिएन । दूतावासको रिजल्टका पर्खाइमा उहाँ कुनै काम पनि गर्न चाहनु भएको थिएन ।

दिनभर मन्त्री क्वारटर, मन्त्रालय, यो नेता त्यो नेताको घर पुग्दै, घुम्दै फिर्दै टाइम पास हुन्थ्यो । र, साँझ कुनै साथीको डेरामा बस्नु हुन्थ्यो । साथीको डेरामा गइसकेपछि खाना नखुवाउने कुरा हुँदैन्थ्यो । त्यतिबेला सन्तोषका लागि एकरात काट्नु धेरै ठूलो कुरा हुन्थ्यो । जहाँ जुन साथी कहाँ बस्न जाँदा गीत गाएर साथीहरुलाई मनोरञ्जन दिनुहुन्थ्यो । गीत गाउनु उहाँको बहाना मात्र थियो, मुख्य कुरा त साथीको डेरामा कसरी सहज रुपमा बस्ने मनसाय थियो । शैलेन्द्र विश्वकर्माले चिनजान गराई दिएको कारण उहाँ गुरुदेव कामतको गुरुकुल पाठशालामा सित्तैमा संगितको अध्ययन पनि गर्नुहुन्थ्यो । कुनै साथी कहाँ दुईदेखि तीन दिनभन्दा बढी बस्नु हुन्थेन उहाँ ।

भारतमा डिप्लोमा लागि भर्ना
साथीहरुले डेरामा धेरै बसे भनि महसुस गर्नै लाग्दा उहाँ डेरा छाडेर हिड्नु हुन्थ्यो अनि अर्को कुनै साथीको डेरामा गएर बस्नु हुन्थ्यो । यसैगरि काठमाडौमा ५–६ महिना काट्नु भयो । दूतावासबाट सन् २००९ मा रिजल्ट आयो । उहाँ त्यसमा छनौट हुनुभयो । उहाँ घर फर्किनुभयो । केही तयारी गरेर दिल्ली जानुभयो । दिल्लीको मण्डी हाउसस्थित श्रीराम भारतीय कला केन्द्रमा भर्ना भएर डिप्लोमा इन धरुपद पढ्न थाल्नुभयो । केही समय उहाँ होटलमा बस्नुभयो । पछि उहाँ डेरा लिएर बस्नु थाल्नुभयो । गीत रेकर्डिङका लागि पहिला पनि दिल्ली आउजाउ गरिरहनु भएको कारणले उहाँलाई डेरा लिएर बस्न त्यति गाह्रो भएको थिएन ।

तीन वर्षको कोर्स थियो । दुई वर्ष उहाँको पढाई राम्रोसँग गयो । एक वर्ष बाँकी रहँदा घरमा उहाँको आमा विराम पर्नुभयो । उहाँ आमाको हेरचाह तथा उपचारका लागि घर आउजाउ गर्न थाल्नुभयो । अधिकाँश समय उहाँको समय घरमा बित्यो । आमालाई ब्रेन हेम्ब्रेज भएको थियो । उहाँका उपचारका लागि सन्तोष केही समय विराटनगर बस्नुभयो । तर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लिएर आउनुभयो । काठमाडौँको ओम अस्पतालमा भर्ना गर्नुभयो । त्यहाँ पनि निको नभएपछि वीर अस्पतालमा भर्ना गर्नुभयो । वीर अस्पतालमा ४–५ महिना उपचार गराएपछि पनि निको भएन । आमाको निधन भयो । सन्तोष शोकमा डुब्नुभयो । आमाको काजक्रिया सकाएर उहाँ पुनः दिल्ली जानुभयोे । तीन वर्षको कोर्स समाप्त भयो ।

दिल्लीमा होम ट्युशन
तैपनि त्यहाँका गुरु गुण बेच्चालाई भनेर एक वर्ष थप पढ्नु भयो त्यो कलेजमा । गुण बेच्चाले सन्तोषको बारेमा सबै कुरा कलेजलाई सम्झाएपछि उहाँलाई निशुल्क एक वर्ष पढ्न दिए तर जब गुण बेच्चा त्यो कलेज छाडेर जानुभयो । त्यसपछि सन्तोष पनि कलेज छाड्नु भयो । संगितको ध्रुपदमा डिप्लोमा गर्नुभएका सन्तोष दिल्लीमा होम ट्युशन पढाउन थाल्नुभयो । घरघर गएर बच्चाहरुलाई संगित सिकाउन थाल्नुभयो । कहिले कार्यक्रममा गीत गाउने मौका पनि पाउनु हुन्थ्यो । पछि उहाँले त्यही गन्धर्व महाविद्यालयमा भर्ना हुनुभयो । स्कलरसीपबाट आएको पैसा केही बचेको थियो । ट्युशनबाट आएको केही पैसा जम्मा गरेर उहाँ पुनः पढाईलाई निरन्तरता दिनु थाल्नुभयो ।

दिल्लीमा दुखसुख गरी ६ वर्षसम्म महाविद्यलायमा संगित विशारद अध्ययन गर्नुभयो । पछि उहाँले प्राइभेजटबाट इण्डिया कल विश्व विद्यालयमा पनि कला क्षेत्रमा बीए अध्ययन गर्नुभयो । उहाँले त्यहाँ अवसर नखोजेका होइनन् । तर दिल्लीका मान्छे साह्रै टेढो थियो । त्यहाँ आफ्नै खालका मान्छेहरु छन् । त्यहाँको वतावरण सन्तोषको अनुकुल थिएन । त्यसमा पनि दिल्लीमा सगितको त्यति राम्रो वजार थिएन । स्ट्रगल गर्ने ठाउँ पनि थिएन । त्यसका लागि मुम्बई जानुपथ्र्यो ।

पूर्णिमासँग विहे
त्यहि समय सन् २०१८ मा सन्तोषले विहे गर्नुभयो । सन्तोषलाई विहे गर्ने सोच थिएन । केही गर्न थालेपछि, कुनै स्थायी रोजगारी भएपछि मात्र विहे गर्ने सोच सन्तोषको थियो । तर विदामा घर आएको बेला उहाँका आमाबुवाले सप्तरी नर्घोका पूर्णिमा यादवसँग विहे गराई दिनुभयो । बुवा तथा भाइ सञ्जिव यादवको आगाडि सन्तोषको केही चलेन । बाध्य भएर विहे गर्नुभयो । विहे गरेर उहाँ पुनः दिल्ली फर्किनुभयो । उहाँको सोच त मुम्बाई गएर संगितमा केही गर्ने थियो तर विहे गरेको कारण त्यो सोच त्याग्नुभयो ।

केही समय दिल्लीमै बस्नुभयो । एकदुई पटक आफ्नो श्रीमतीलाई पनि लिएर दिल्ली जानुभयो । तर उहाँ त्यसरी दिल्लीमा धेरै समय बस्न सक्नुभएन । फेरि विहे गरेको कारण जिम्मेवारी पनि बढेको थियो । उहाँ घर फर्किनुभयो । घर फर्केको केही दिनमै उहाँ पुनः काठमाडौँ आउनुभयो । काठमाडौमा आएपछि उहाँले स्कुलमा म्युजिक टिचरको रुपमा काम गर्ने भनि विभिन्न स्कुलमा धाउनुभयो । आठ नौ ठाउँमा बायोडाटा छाड्नु भयो तर कहीबाट बोलाहट आएन । त्यसपछि उहाँले विभिन्न म्युजिक इस्टिच्युटमा पढाउन थाल्नुभयो ।

आर्को म्युजिक इस्तिच्युट, आस्था काला केन्द्र र धुन काला केन्द्रमा एकसाथ पार्टटाइम पढाउन थाल्नुभयो । सबै मिलाएर महिनाको २५–३० हजार रुपियाँ कमाई हुन्थ्यो उहाँको । त्यसका साथै विभिन्न गीतहरु गाउनभयो । एल्बम निकाल्नुभयो । विस्तारै विस्तारै उहाँको व्यस्तता बढदै गयो । त्यही समयमा कोरोना सुरु भयो । लकडाउन लगाएपछि सन्तोष काठमाडैँ छाडेर गाउँ फर्किनुभयो । लकडाउनका कारण उहाँ पूर्णरुपमा घरमै बस्न थाल्नुभयो । लकडाउन खुकुलो भएपछि उहाँ पुनः काठमाडौँ फर्किनुभयो ।

तर विद्यार्थी नभएको कारण उहाँलाई इन्स्टिच्युटहरुमा राखिएन । उहाँ घर फर्किनुभयो । एक डेढ महिना घर बस्नुभयो । छठपछि काठमाडौ आएर मध्यवानेश्वरमा आफ्नै संगित इन्स्टिच्युट खोल्नुभयो । माधवी संगित पाठशाला खोल्नुभयो । केही समय सञ्चालन भएपछि पुनः लकडाउन लाग्यो ।

सन्तोष पुनः घर फर्किनुभयो । तर यत्रो लगानी गरेर इन्स्च्यिुट खोली सकेको कारण सन्तोष घरमा बस्न सक्नु भएन । उहाँ फेरि काठमाडौं आउनुभयो । इन्स्टिच्युट सञ्चालन गर्नुभयो । कोरोनाका कारण विद्यार्थी आइरहेको थिएन । १२ जना विद्यार्थी मात्र थिए । इन्स्टिच्युटको भाडा तिर्न गाह्रो थियो । ऋण, सापटी लिएर भाडातिरी जसोतसो टिकाउनुभयो । सन्तोष भन्नुहुन्छ, ‘त्यतिबेला लिएको झण्डै एकलाख रुपियाँ ऋण तिर्न अझै बाँकी नै छ ।’ त्यसपछि उहाँ यही जेठ १५ गते आफ्नो इन्स्टिच्युट पुतलीसडकमा लग्नुभयो । मध्यवानेश्वर भन्दा राम्रो चलिरहेको छ त्यहाँ । सन्तोष सानु अझै स्ट्रगलमै हुनुहुन्छ । नेपालको संगित वजार ठूलो छैन । तर यहाँ ठूलो प्रतिस्पर्धा छ । प्रतिस्पर्धा पनि परादर्शी छैन ।

सन्तोषका गीत तथा एल्बमहरु

फैशन वाली छौडी
जाय माँ सखडेश्वरी
चटपट मशाला
सानु (नेपाली)
मिस पटना (भोजपुरी)

मैथिली फुटकर गीत
सजनी
छठिमैया
सुनु सुनु यै दिलबर जानी
माय तोरा सन नै कोई आन
चुनलों चुनलों एहन कनियाँ

नेपाली
शान्तिको डुंगा
गुरु हाम्रा मार्ग प्रदर्श हौ
नेपाली ठिट्टोसयौं जुनि

हिन्दी
जन्नत यलथि
शिर्डिके राजा मेरे साई बाबा
जुदाई
श्याम मेरा होरिका मतवारा

भोजपुरी
बश्न्तिह
माई के ममता
धड्कन धड्कन

थारु
पघट के पनभोर्नी छौडी
सुनरी बजार मे

 

तपाईको प्रतिक्रिया