Khadya Bibhag

मैथिली सँस्कृतिको संरक्षक ग्रामिणभेगका सर्वसाधारण

राजविराज, असार १४ गते । मैथिली भाषा, साहित्य, कला, संस्कृति एवम् साहित्यको संरक्षण ग्रामिण भेगका सर्वसाधारण जनताले जोगाउने काम गर्दै आएको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
जिल्ला विकास समिति सप्तरीको सहयोगमा मैथिली मिडिया प्रा.लि.द्वारा आयोजित मैथिली श्रव्य तथा लेखन सम्बन्धि पाँच दिने पत्रकारिता तालिमको समारोहका वक्ताहरुले यस्तो कुरा बताएका हुन् । मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलले ग्रामिण भेगमा बोलिने मैथिलीको विशिष्ट मौलिकता रहेको तथा यसलाई जोगाउने काम गरेको बताए । मैथिली भाषा, साहित्य, कला, संस्कृति एवम् साहित्य संरक्षणमा सर्वसाधारणले पुर्याएको योगदानका सराहना गर्दै उनले भने– मैथिलीको संरक्षण सम्वद्र्धनका लागि राज्यपक्षले खासै चासो नदिए पनि ग्रामिण जनताले यसको संरक्षण सम्वद्र्धन गर्दैआएको छ । स्थानीय जनताले बोल्ने भाषा उत्कृष्ट रहे पनि सञ्चारमाध्यममा बोलिने तथा लेखिने भाषामा एकरुपता हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झाले भाषिक शुद्धताको नाममा ग्रामिण भेगमा बोलिने भाषाहरुलाई बेवास्ता गर्न नमिल्ने बताईन् । मैथिली भाषा–संस्कृतिलाई राम, डोम, दुसाध, मण्डल, बातर, महतो, शर्मा, कुम्हारसहितका जातीहरुले मूल बीऊलाई जोगाउने काम गरेको छ– यदी उनीहरुले मैथिलीलाई दैनिक जीवनमा प्रयोग नगरिदिएको भए यो भाषा उहिले लोप भइसकेको हुन्थ्यो, ग्रामिण भेगका वासिन्दाहरुले नाच, महराई, पराती, भगैत आदिको रुपमा संरक्षण गरेको छ । भाषा कुनै जाति वा सम्प्रदायको मात्र नभई यो सबैको साझा हुने गरेकोले यसको संरक्षण गर्नु पनि सबैको दायित्य हो ।
कार्यक्रममा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख प्राध्यापक अमरकान्त झाले विश्वकै उत्कृष्ट एवम् मीठो भाषा मैथिली भएको चर्चा गर्दै राज्यपक्षले गरेको बेवास्ताका कारण उल्लेखनीय विकास नभएको बताए । ग्रामिण भेगमा बोलिने भाषाको आफ्नै व्याकरण रहेको भन्दै त्यस विषयमा व्यापक अध्ययन–अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए । मैथिलीको बोलाई र लेखाइमा भिन्नता रहेको प्रष्ट्याउँदै मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका प्रा. झाले भने– सञ्चारमाध्यमहरुमा समाचारको रुपमा तथा कार्यक्रमहरुमा प्रयोग गरिने भाषा स्तरीय र सर्वमान्य हुनु जरुरी छ ।
मैथिली साहित्य परिषद्का पूर्व समेत रहेका तालिमका प्रशिक्षक देवेन्द्र मिश्रले पत्रकारिता तालिम पश्चात सहभागीहरु सञ्चारकर्मीहरुको भाषा शैलीमा व्यापक सुधार आउने विश्वास व्यक्त गरे । मैथिल महिला परिषद् राजविराजकी संस्थापक अध्यक्ष मीना ठाकुरले स्थानीय एफएमहरुले मैथिली भाषाको प्रवद्र्धनमा पुर्याएको योगदानको चर्चा गर्दै सञ्चारकर्मीहरुलाई अझ स–शक्त रुपमा भूमिका निर्वाह गर्न आग्रह गरे । तालिमका प्रशिक्षक समेत रहेका मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले मैथिली पत्रकारिताको विकासका लागि राज्यपक्ष उदासिन रहेका कारण अपेक्षाकृत विकास हुन नसकेको बताए । तालिमकी सहभागी पिंकी झा र रविन्द्र साहले तालिम आफूहरुकालागि प्रभावकारी भएको भन्दै प्रो–एक्टिभ समाचार लेखन तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित तालिम समापन समारोहको सञ्चालन सहभागी दीपा कर्णले गरेकी थिइन् । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३१ ज्ना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा समाचार लेखन तथा वाचन, भाषा अनुवाद, उद्घोषण, शब्दको चयन तथा शुद्धा–शुद्धीबारे प्रशिक्षण दिईएको छ ।

तपाईको प्रतिक्रिया