चाडपर्व नजिकिँदै जाँदा सरसफाइदेखि पूजासामग्रीको किनमेल तीव्र

सहारा टाइम्स
जनकपुर कात्तिक १६ गते

दीपावली तथा छठ पर्व नजिकिएसँगै बजार क्षेत्र र पोखरी तथा तलाउको सरसफाइ सुरुआत गरिएको छ । बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको छ । मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयको सरसफाइ थालिएको हो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायत पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ । विशेषगरी गङ्गासागर, धनुषसागर र अरगज्जासरलगायत जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । यसैगरी, तिहार तथा छठ पर्व नजिकिएसँगै जनकपुरधामका बजारमा पूजासामग्रीको किनमेल बढेको छ । जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजाका लागि आवश्यक बाँसबाट निर्मित सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढेको हो ।

दीपावलीमा प्रयोग हुने माटाका सामग्री तथा छठ पूजामा प्रयोग हुने छिट्टी, डाला, नाङ्लो, सुप, कोनिया र डगरीजस्ता बाँसको सामग्रीको माग बढेको छ । सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा फलफूल तथा प्रसाद राख्न बाँसबाट निर्मित सामग्री प्रयोग गर्ने परम्परा छ । पर्व नजिकिएसँगै माटाका भाँडा, दियो तथा अन्य पूजासामग्रीको बिक्री पनि बढेको पेठिया बजारका व्यापारी सन्तोष साहले बताउनुभयो ।

छठ पर्व नजिकिँदै जाँदा छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेल तिहारअघि नै सुरु भइसकेको जनकपुरधाम उपमहानगरपालिका–४ निवासी सुमित्रादेवी कर्णले बताउनुभयो । पर्वको अन्तिम समयमा हुने भीडभाडबाट बच्न श्रद्धालुहरूले पहिले नै सामग्री खरिद गर्न थालेको उहाँको भनाइ छ । छठ पर्वका लागि बाँसका सामग्रीको माग बढेसँगै पुस्तौँदेखि यस्ता सामग्री निर्माण गर्दै आएका डोम समुदायका कारिगर तथा व्यवसायीलाई आम्दानीको अवसर सिर्जना भएको छ ।

यस समुदायका धेरै परिवारले पुख्र्यौली पेसाका रूपमा बाँसका चोया र कप्टेराबाट विभिन्न पूजासामग्री निर्माण गर्दै आएका छन् । छठ पर्वका अवसरमा परम्परागत सामग्रीको माग बढ्दा स्थानीय कारिगरको उत्पादनले बजार पाउने गरेको छ । यसले एकातिर मिथिलाको मौलिक संस्कृति र परम्पराको संरक्षणमा सहयोग पु¥याएको छ भने अर्कातिर परम्परागत पेसामा आबद्ध समुदायको जीविकोपार्जनमा समेत टेवा पु¥याएको छ ।

तपाईको प्रतिक्रिया