अन्तरसंघर्षले पार्टी विभाजन किन ?

–उमेश यादव
कुनै पनि पार्टीको अन्तरसंघर्ष संगठनको मजवुत जड हो । अन्तरसंघर्षले पार्टीलाई निर्मल, कञ्चन, सफा, अनुशासित र बलियो बनाउँछन् । वैचारिक रुपमा बलियो बनाउँछन् । तर हरेक पार्टीको अन्तरसंघर्ष विचार, कार्यदिशामा हुनुपर्छ । अहिले नेपालका हरेक पार्टीमा अन्तरसंघर्ष चलिरहेको छ । चाहे त्यो काँग्रेस होस् या जसपा । माओवादी होस् या माओवादी केन्द्र । या राप्रपा अथवा जनमोर्चा र विप्लव समूहको नेकपा किन नहोस् सबैमा आन्तरिक संघर्ष चलिरहेको छ । कतिपय पार्टीको अन्तरसंघर्षले पार्टी विभाजनको अवस्थामा पुग्छ भने कतिपय पार्टी झन परिपक्क हुने गर्छन् तर नेपालको राजनीतिमा हेर्ने हो भने पार्टीको अन्तरसंघर्षले विभाजन भएको पाइन्छ ।
हरेक पार्टी अन्तरसंघर्षले विभाजित भएका छन् । सबभन्दा पुरा पार्टी काँग्रेस पनि पटक पटक विभाजित भएको छ । नेपाल सद्भावना पार्टी नेपालदेखि मधेशी जनअधिकार फोरम नेपालसम्मका पार्टीहरु पटक पटक विभाजन भएका छन् । कम्युनिस्ट पार्टी कतिपटक विभाजन भएको छ त्यसको हिसाब किताब पनि छैन । यसको एउटै कारण हो पार्टीमा अन्तरसंघर्ष चलेपनि त्यो स्वच्छ विचारको हुँदैन । व्यक्तिगत स्वार्थ, व्यक्तिगत महत्वकाँक्षाका कारण भइरहेको अन्तरसंघर्षका कारण पार्टीहरु विभाजित भएका हुन्छन् ।
कम्युनिष्ट पार्टी भित्रको अन्तरसंघर्ष विचार, कार्यदिशामा हुनुपर्छ । त्यसलाई लागू गर्ने सङ्गठन निर्माणकार्य महत्वपूर्ण हुन्छ । पार्टीको बिधान अनुसार समस्याहरु हल गर्नुपर्छ । केन्द्रिय समितिले गरेका निर्णयहरु लागू गर्नुपर्छ । तर,आफ्नो स्वार्थ अनुकुल भएन भने पार्टीको केन्द्रिय समिति, स्थायी समिति, सचिवालयको निर्णय केपी नेतृत्वको समुहले न मान्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर ध्वंस मात्रै भएन, बिभाजनको पिडाबाट गुज्रिएको स्थिति प्रष्ट छ । नेकपा (एमाले) भित्र फेरि त्यहीँ समूहले विधान मिच्दा भइरहेको एमालेको अन्तर ध्वंस कहाँ गएर टुङ्गिने हो ? हेर्न बाकी छ ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) मा प्रदेश–२ को केही नेताले ओलीको बाटो समातेर ध्वंसको प्रक्रियालाई अगाडि बढाएका छन् । संगठनलाई सधैं ध्वस्त बनाउन सिपालु, कहिले अध्यक्षलाई चुनाव हराउन कम्मर कसेर लाग्ने त कहिले अध्यक्षको अधिक सामिप्यताको आडमा अध्यक्षलाई साथ दिनेलाई सताउने, आलोचना सहनै न सक्ने, पूर्वाग्रह र प्रतिशोध लिन सम्पूर्ण तागत लगाएर निषेधको राजनीतिकमा कहिल्यै दोश्रो न भएका, शंका र अविश्वासको ग्रन्थी बोकेर आफ्नो कार्यकर्तालाई निषेध गर्ने कामलाई निरन्तरता दिइरहेका छन् । जसको पहिलो शिकार हामीलाई बनाउदै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय, स्थायी समिति, केन्द्रीय समितिको निर्णय न मान्दा पार्टी अध्यक्ष जस्तोलाई कार्यवाही गर्न सक्ने नेतृत्वहरु अर्को ओली प्रवृत्तिलाई मलजल गर्छन् कि फेरि पनि ओली प्रवृत्ति न जन्मियोस भन्ने कदम चाल्छन भन्ने कुरा हेर्न बाँकी छ । बुढी मरी त्यसको डर होइन कि काल पल्केला भन्ने डर उखानतर्फ सचेत हुनुपर्छ । व्यक्तिगत रिसिवी कसैसँग केही छैन । तर आफूले जस्तो व्यबहार आज गरियो भने भोली त्यसको जवाफ फर्काउन सक्नेले त फर्काउछन् भन्ने हेक्का हामी सबैलाई हुनैपर्छ ।
महान जनयुद्धदेखि गोइतजी सँगको अन्तरविरोधको अन्तरसंघर्षको क्रममा भएका घटनालाई समातेर मलाई जिन्दगीभरी लखेटने हो मेरा अग्रज आदरणीय नेताज्यु, गम्भीरतापूर्वक सोच्नुस् । तपाईं किन एकोहोरिनु हुन्छ ? ३ बर्षदेखि भुमिका विहिन, कमिटीविहिन हुँदा एक मिनेट चिन्ता न गर्नेहरू २ महिना पनि जिम्मेवारी पाएको समय भएको छैन, चैत ९ बाट काम प्रारम्भ गर्दा तपाईंको टाउको किन दुख्यो ? प्रत्यक्ष निर्देशन दिएर भाडभैलो किन ? आफै सम्मलित समितिले गरेको निर्णयको विरुद्धमा जानेहरु ओलीको कुन नैतिकताले बिरोध गर्नु भयो ? नेता त तपाईं हुँदै हो तर थपमा मैले अभिवावक सम्झेको मेरो भ्रम रहेछ है ?
कृप्या, सानो गिरोहको घेरालाई तोडनुस, तपाईं सके देशकै न सके मधेसको सम्पूर्ण क्रान्तिकारीहरुको नेता बन्न सफल हुनुहोस् ,हाम्रो यहीँ अपेक्षा छ । बाकी तपाईंको मर्जी, सम्मान र सलाम सहित ।
(लेखक उमेश यादव माओवादी केन्द्रका नेता हुनुहुन्छ)

तपाईको प्रतिक्रिया