लुम्बनी प्रदेशमा राष्ट्रिसभा सदस्यका लागि मतदान सुरु

रुपन्देही जेठ १७ गते । लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा सो मतदान सुरु भएको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो ।

मतदानका लागि तीनवटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउनका लागि प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाइएको छ ।

मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्यहरु, मतदान केन्द्र ‘ख’मा पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र मतदान केन्द्र ‘ग’ मा कोरोना संक्रमण पोजेटिभ देखिएका मतदाताहरूका लागि छुट्याइएको छ । मतदान विहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ ।

निर्वाचनमा नेकपा एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाएको छ । त्यसैगरी विपक्षी गठबन्धनका तर्फबाट कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । खड्कालाई नेकपा एमाले ओली समूहसहित जनता समाजवादीको ठाकुर–महत्तो समूहको समर्थन छ ।

पाण्डेलाई कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ तर एमाले विभाजित भएकाले नेपाल–खनाल समूहको मत विपक्षी उम्मेदवारलाई जान सक्ने सम्भावना छ ।

निर्वाचनमा लुम्बिनी प्रदेशसभाका ७९ जना सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन् । निर्वाचनमा जनता समाजवादी पार्टीका कारबाहीमा परेका चार मन्त्रीको समेत नामावलीमा समेटिएको छ ।


प्रदेशसभामा एमालेका ३, कांग्रेसका १९, माओवादीका १९ जसपाका २ र राजमोका १ जना सांसद छन् । स्थानीय तहतर्फका २१७ मध्ये एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।

तपाईको प्रतिक्रिया