मधेश प्रदेशको सरकार फेरि ढल्ने अवस्थामा छ । काँग्रेस र एमालेबिचको गठबन्धन भत्किएपछि मधेश प्रदेशको सरकारदेखि अन्य प्रदेशहरुको सरकार हलिएका छन् । सुदुरपश्चिम प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कर्णाली प्रदेशमा काँग्रेसका मन्त्रीहरुले राजिनामा दिइसकेका छन् । त्यसको प्रभाव अन्य अन्य प्रदेशमा पनि परेको छ । मधेश प्रदेशमा पनि सरकार फेरबदलको खेल सुरु भएको छ ।
यद्यपी यो समाचार तयार पर्दासम्म एमालेले मधेश प्रदेशको सरकार छाडेको छैन । काँग्रेसले पनि निकालेको छैन । अहिलेसम्म एमालेसँग मिलेर नै जाने कुरा रहेको छ । मधेश प्रदेशका काँग्रेस, एमाले र नेकपाका नेताहरु बसेर यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिसक्नुभएको छ । यद्यपी यस विषयमा केन्द्रले के निर्देशन दिन्छन् त्यसमा भर पर्छ । काँग्रेसले हालसम्म यसै गर्नु भनि मधेश प्रदेशलाई भनेको छैन । मधेश प्रदेशमा न एमालेबाट कुनै निर्देशन गएको छ काँग्रेसबाट । तर अन्य प्रदेशमा काँग्रेसले एमालेको साथ छाडि रहेको भने मधेश प्रदेशमा काँग्रेसलाई समर्थन गरेर बस्न सक्ने अवस्था रहदैन । अरु प्रदेशमा एमालेको सरकार काँग्रेसले ढाले भने मधेशमा एमालेले त्यतिकै छाड्दैन भनि धेरैको आँकलन रहेको छ ।
मधेश प्रदेशमा एमाले–काँग्रेस गठबन्धन भत्कियो भने निर्णायक जनता समाजवादी पार्टी नेपाल भएको छ । मधेश प्रदेशमा सबभन्दा ठुलो पार्टी जसपा नेपाल हो । एमाले वा काँग्रेसलाई सरकार बनाउन जसपा नेपालको साथ चाहिन्छ नै । तर ठुलो पार्टीको हैसियताले जसपा नेपालले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको छ । जसपा नेपालका नेता एवं मधेश प्रदेशका प्रदेश सभा सदस्य जितेन्द्र सोनलले हालसम्म सरकारको बारेमा काँग्रेस र एमाले नै स्पष्ट भएको छैन त्यस अवस्थामा जसपा नेपालले केही गर्न नमिल्ने बताउनुभयो । अहिलेको वर्तमान सरकारबाट एमाले वा काँग्रेस निस्किनु पर्ने हुन्छ त्यसपछिको प्रकृयामा के गर्ने भनि जसपा नेपालले निर्णय गर्ने बताउँदै उहाँले अहिले काँग्रेस र एमालेले के गर्दैछन् त्यो हेरिरहेको बताउनुभयो ।
एमाले आफै सरकारबाट निस्किन्छ कि काँग्रेसले निकाल्छ त्यसको प्रतिक्षामा जसपा नेपाल रहेको छ । काँग्रेस सरकार छाड्ने पक्षमा छैन । एमालेले काँग्रेसको साथ छाड्यो भने काँग्रेसले जसपा नेपालको साथ लिनुपर्छ त्यस अवस्थामा जसपा नेपालले पनि त्यतिकै साथ दिँदैन । जसपा नेपालले आफ्नै नेतृत्वमा सरकार बनाउन खोज्छ । तर काँग्रेस त्यस पक्षमा जाँदैन । यता, एमालेले काँग्रेस नेतृत्वको सरकार ढाल्ने तयारी गरिरहेको छ । एमालेसँग सरकार बनाउन कोही तयार भयो भने काँग्रेसको साथ छाड्ने छ । त्यसका लागि एमालेले जसपा नेपालसँग कुराकानी गरिरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानी गरिसक्नुभएको छ ।
उपेन्द्र यादवले अहिले मधेश प्रदेशको सरकार बनाउने हतारमा देखिनुभएको छैन । एमाले र काँग्रेस कहाँ र कति टाढासम्म जान्छन् के के गर्छन् त्यो हेरेर मात्र निर्णय गर्ने पक्षमा देखिनु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई थाह छ । काँग्रेस र एमालेबिच गठबन्धन भत्कियो भने जसपा नेपालबिना त्यहाँ सरकार बन्दैन । सरकार बनाउने कुरा आयो भने जसपा नेपाले ठुलो दलको नाताले दावी गर्छ ।
काँग्रेसले सरकारको दावी छाडेन भने जसपा नेपाल एमालेसँग पनि सरकार बनाउछ त्यसका लागि जसपा नेपालले मनस्थिति बनाइ सकेको छ । हाल मधेश प्रदेशमा १०३ जना प्रदेश सदस्य छन् । त्यसमा जसपा नेपालको २८ जना छन् भने एमालेको २४ र काँग्रेसको २२ जना सांसद छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीको १५ जना प्रदेश सभा सदस्य छन् भने जनमत पार्टीको १२, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक–एक जना प्रदेश सभा सदस्य रहेको छ ।
सरकार बनाउन ५२ जना प्रदेश सभा सदस्य चाहिन्छ । जसपा नेपाल र एमालेको जोड्दा ठिक ५२ पुग्छ । काँग्रेस र जसपा नेपाल मिल्दा दुई जना कम हुन्छ । त्यसमा जनमत पार्टीले साथ दिन्छ । जसपा नेपालका एक नेताका अनुसार मधेशमा जनमत पार्टी र जसपा नेपाल मिलेर नै सरकार बनाउछ । विगतमा पनि सरकार छाड्दा दुवै दल बिच सहकार्य भएको थियो । हुन त जसपा नेपाल, जनमत पार्टी र नेकपा मिलेर पनि मधेशमा सरकार बन्न सक्छ । त्यसका लागि काँग्रेस र एमाले बिच पूर्णरुपमा गठबन्धन भत्किनुपर्छ । जसपा नेपाल काँग्रेस र एमालेको गठबन्धन भत्किने प्रतिक्षमा रहेको छ ।
(साहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया