Khadya Bibhag

जसपाका युवा नेताहरु भन्नुहुन्छ, ‘हाँसीखुशी हात मिलाएर पार्टी अलग गर्दा राम्रो’

काठमाडौँ जेठ १९–जनता समाजवादी पार्टी विभाजनको अवस्थामा पुगिसकेको छ । हिजो दुईजना अध्यक्षले एक अर्कालाई पार्टीबाट गरेको निष्कासनले एउटा कुरा स्पष्ट भयो कि कुनै चमत्कार भयो भने मात्र यो पार्टी एक रहन सक्छ नत्र विभाजन निश्चित छ ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुँदा मधेशमा राम्रो सन्देश गएको थियो । अलग अलग रहेको यी पार्टी एकभएपछि अब मधेशको माग पुरा हुने भयो भने मधेशमा सन्देश प्रवाह भएको थियो । तर हिजोको घटनाले मधेशलाई निराश बनाएको छ ।

अब त यति भयो, यो दल विभाजन हुँदैमा नै मधेशलाई कल्याण हुन्छ भनि धारणाहरु आउन थालेका छन् । अहिले पनि केही विग्रेको छैन दुवै पक्षका नेताहरुले एक अर्कासँग हात मिलाएर, एक अर्कालाई लड्डु खुवाएर आआफ्नो घर फर्कदा नै राम्रो नत्र यो भन्दा अझै केही भयो भने एक अर्कालाई मुख देखाउने अवस्था रहदैन, जसपाका युवा नेता डा.शरदसिंह यादव भन्नुहुन्छ, एक अर्कालाई कारवाही गर्ने, गाली गलौज गर्ने भन्दा अलग अलग बस्दा नै राम्रो मेरो विचारमा ।’

मधेशको अधिकार र पहिचानका लागि पार्टी एकता भएको भनिएको थियो, त्यो बेला पनि आफूलाई एकीकरण मन नपरेको बताउँदै नेता शरद यादवले पार्टी एकीकरण भएपनि पार्टीमा व्यक्तिवादी सोच हावी भएको टिपप्पणी गर्नुभयो ।

पार्टी त लोकतान्त्रिक विधि प्रकृया र विधान अनुसार चल्नुपर्ने हो, विचार र सिद्धान्तको आधारमा चल्नुपर्ने हो तर जसपालाई शीर्ष नेताहरुले व्यक्तिगत ढंगबाट चलाउन थाल्नुभयो त्यो नै मुख्य समस्या भयो, उहाँले भन्नुभयो, विगतमा प्रधानमन्त्री केपी शर्माले मधेशमाथी दमन गर्नुभयो, मधेशको माग पुरा गर्नुभएन मधेशलाई अपमानित गर्ने काम गर्नुभएको भन्दै त्यसको विरुद्धमा आन्दोलन भएको थियो तर चुनावपछि उपेन्द्र यादवजी उहाँकै नेतृत्वमा रहेको सरकारमा सहभागी हुनुभयो, सरकारमा गएर केही गर्न सक्नु भएन उल्टै अपमानित भएर निस्किनु भयो । अहिले त्यही ओलीले मधेशको माग पुरा गर्न तयार हुनुभएको छ त्यसमा हामी खुशी हुनुपर्ने हो चाहे ओलीले जुनसुकै कारणले मधेशको माग पुरा गरेको होस् त्यो सरोकारको विषय होइन, हामीले हेर्ने हो कि मधेशको माग पुरा भइरहेको छ कि छैन ।’

प्रधानमन्त्री ओली धेरै खराब थिए, धेरै बदमास थिए त्यो भुतकाल भयो वर्तमानमा के भइरहेको छ त्यो हुर्नेपर्ने बताउँदै उहाँले जसपाका महन्थ ठाकुर, राजेन्द्र महतोहरु सरकारमा सहभागी नभइकन मधेशको माग पुरा गराइरहेका छन् त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै उहाँले उपेन्द्र यादव पनि सरकारमा जानकै लागि शेरबहादुर देउवासँग गठबन्धन बनाए त्यो चाहिँ गलत नहुने जो मधेशको माग पुरा गरिरहेका छन् त्यसलाई समर्थन गर्नु कसरी गलत भयो भनि टिप्पणी गर्नुभयो ।

त्यसैले यहाँ विचार, सिद्धान्त, एजेण्डा होइन व्यक्तिवादी सोच र अंहकारका कारण यो पार्टी विभाजन भइरहेको छ, अलग हुनु नै राम्रो हुने उहाँको धारणा छ । उहाँ महन्थ ठाकुर पक्षमा नेता हुनुहुन्छ ।

जसपा नेपालका अर्का युवा नेता एवं प्रदेश २ का सांसद संजय यादवले प्रधानमन्त्री अ‍ोलीले पुस ५ गते चाल्नु भएको कदम गलत थियो भने कुरा पार्टीमा सहमति गरेर त्यसको विरुद्धमा आन्दोलन भएको हो तर दुई चार महिनामै ओली कसरी सुध्रिए जो समर्थन गर्न बाध्य मुख्य प्रश्न यो रहेको बताउनुभयो ।

पुस ५ गते संसद विघटनलाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्यो तर प्रधानमन्त्री अ‍ोलीले त्यसलाई औपचारिक रुपमा स्वीकार गर्नुभएन, उहाँले आफू संसद विघटन गरेर गलत गरेको कुरा कहिले भन्नुभएन, र त्यसैको निरन्तरता दिँदै अहिले पुनः विघटन गर्नुभयो, तैपनि पार्टीका नेताहरु उहाँकै पछि लाग्नुको कारण प्रष्ट रहेको उहाँले बताउनुभयो । पार्टी सिद्धान्त, विचार, विधि र विधानबाट चल्छ कुनै नेताको व्यक्तिगत सोच र निर्णयले पार्टी चल्दैन, उहाँले भन्नुभयो, पार्टीको निर्णय एकातिर क्रियाकलाप अर्कोतिर गर्दा पार्टीको यो अवस्था भएको हो ।’ महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त हस्ताक्षरबाट विज्ञप्ति जारी भएपछि नेता तथा कार्यकर्तामा खुशीयाली छाएको थियो तर त्यही दिन महन्थ ठाकुर त्यसको उल्लघंन गर्दै एकतर्फी बैठक स्थगित गर्नुभयो, यो हो व्यक्तिवादी चिन्तन, संयुक्त हस्ताक्षरले जसरी बैठक बोलाउने काम भयो त्यसरी नै संयुक्त हस्ताक्षरबाट त्यसलाई स्थगित गर्नुपथ्र्यो तर त्यस्तो नगरी पार्टीको विधान उल्लंघ उहाँले गरेको आरोप नेता संजय यादवको रहेको छ ।

उहाँले भन्नुभयो, पार्टी एकजुट रहोस् भने हाम्रो चाहना हो तर कुरा मिल्दैन भने हाँसी खुशी अलग हुँदा नै उचित हुन्छ ।’ नेता संजय यादव उपेन्द्र यादव पक्षका नेता हुनुुहुुन्छ ।

जसपाकै अर्का युवा नेता कृष्णा सिंहले पनि पार्टीलाई एक राख्ने प्रयास गर्नुहुँदैन, अब एक राख्यो भने त्यो मधेशका लागि घातकै नै हुने प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो, जसबाट दुवै पक्ष अलग हुने नै सबैको हितमा हुन्छ नत्र यो घिनमा घिनमीले दीर्घकालिन रुपमा असर गर्छ ।’ एजेण्डा मिलेपनि नेताहरुको बीचमा निकै असमानता रहेको हुनाले यो अवस्थामा भएको हो, सिद्धान्त मिलेर मात्र हुँदैन, विचार मिल्नुपर्छ, एजेण्डा मिलेर हुँदैन नेताहरुको बीचमा मन मिल्नुपर्छ जसपमा त्यसको अभाव रहेको बताउँदै राजपा नेपालमै धेरै कुरा मिलेको थिएन त्यो अवस्थामा समाजवादी पार्टीसँग एकीकरण गर्यो त्यो जवर्जस्ती एकीकरण थियो अहिले कसैले कसैलाई दोष लगाउनु भन्दा आआफ्नो बाटो लाग्दा नै उत्तम हुने बताउनुभयो । नेता सिंह महन्थ ठाकुर पक्षका हुनुहुन्छ ।

जसपा नेपालकै अर्का युवा नेता विष्णु साहले पार्टीमा विचार, सिद्धान्त, विधि र विधान नमानेर त्यसलाई जवर्जस्ती चलाउन खोज्यो भने त्यो टिकाउ हुँदैन र आज जसपाको अवस्था त्यस्तै भएको प्रतिकृया दिनुभयो । पार्टी भनेको व्यक्ति होइन, एउटा संस्था हो, संगठन हो, संस्थाको विधि र विधान हुन्छ त्यो अनुसार चल्नुपर्छ, कसैले व्यक्तिगत रुपमा चलाउन खोज्यो भेन त्यो धेरै दिन चल्न नसक्ने भन्दै उहाँले जसपा नेपालमा महन्थ ठाकुर पक्षले पार्टीमा विचार, सिद्धान्त, विधि र विधानलाई मिचेर व्यक्तिगत सोचले पार्टी चलाउनु खोजेको कारण पार्टी दुर्घटनामा परेको उहाँले बताउनुभयो ।

पार्टीका कुनै पनि निर्णय बैठक बसेर हुनुपर्छ, कुनै व्यक्तिले एउटा विज्ञप्ति निकालेर हुँदैन तर महन्थ ठाकुरले त्यस्तै गर्नुभयो, उहाँले भन्नुभयो, पार्टी अध्यक्ष उपेन्द्र यादवले पटक पटक पार्टीको बैठक बसौं, पार्टीमा रहेको विवाद समाधान गरौं भन्नुहुन्थ्यो तर महन्थ ठाकुरले कुनै नकुनै बहानामा बैठकलाई सार्दै हुनुहुन्थ्यो, पार्टीको बैठक कोरोनाका कारण सार्नुभयो तर भक्तपुरदेखि बबरमहलसम्म गुटगत भेला पटक पटक भयो के त्यसका लागि कोरोना थिएन । पार्टीको बैठक बोलाउँदा कोरोना देखाउने, गुटगत भेला बैठकमा कोरोना नदेख्ने यस्तो कही हुन्छ ।’

ओलीले आफ्नो कुर्सी बचाउनका लागि माग पुरा गरिदिने भन्नुभएको हो, केही मुद्दाहरु फिर्ता पनि गर्नुभयो, जुन स्वतः हुने कुरा थियो, नागरिकताका लागि अध्यादेश ल्याउनुभयो, संविधानमा भएको कुरालाई कपी गरेर अध्यादेशमा पेस्ट गर्नुभएको हो, संविधान संशोधनका लागि कार्यदल बनाउनु भएको छ यस्तो कार्यदल विगतमा पनि थुप्रै पटक बनेको हो अर्थात मधेशका जुन मुख्य माग छ त्यसमा जालझेल गर्ने जुन माग आफै पुरा हुने बाला थियो त्यसलाई आफूले गरेको भनेर मधेशी जनतालाई भ्रममा पार्ने प्रयास ओलीले गरिरहेको नेता साहको दावी छ । त्यो भ्रमको जालमा महन्थ ठाकुर र राजेन्द्र महतो पनि पर्नुभएको छ । विचार मल्दिैन, सोच मिल्दैन, सिद्धान्त मिल्दैन अनि त्यस्तो पार्टीलाई धेरै दिन ठोकठाक गरेर चलाउनु हुँदैन, हाँसी खुशी आआफ्नो बाटो लाग्दा भविष्यका लागि हितकर हुन्छ जस्तो आफूलाई लागेको उहँँले बताउनुभयो । नेता साह उपेन्द्र यादव पक्षका हुनुहुन्छ ।

जसपाकै अर्का  युवा नेता एवं प्रदेश २ प्रदेशसभा सदस्य विक्की यादवले पार्टी एकता मधेशको मुद्दा स्थापित गराउनका लागि भएको थियो र त्यो काम भइरहेको बताउनुभयो । जुन ओलीले मधेशको नाम पनि सुन्न चाहनु भएको थिएन आज उहाँले नै मधेशको सबै माग पुरा गर्छु भन्नु मधेशका लागि ठूलो जित हो, उहाँले भन्नुभयो, १३९ वटा मुद्दा फिर्ता भएको छ, यो कम्ती ठूलो कुरा होइन, यसअघि कतिवटा मुद्दा कसले फिर्ता गराएका थिए, अहिले ठूला ठूला कुुरा गर्ने नेताहरु माग पुरा गराउने भन्दै पटक पटक सरकारमा गएकै हुन् कसैले केही गराउन सकेनन् तर आज जसपा नेपाल सरकारमा नगइकन सबै माग पुरा गराउन लागेका छन् त्यसमा झमेला किन ?’

जसपाका अध्यक्ष उपेन्द्र यादवमा इगो प्रोब्लेम रहेको छ, उहाँले माग पुरा गराउन नसकेको र अरुले गराई रहेको देखेर त्यसर्ला भाँड्न खोज्नु भएको नेता विक्की यादवको दावी छ । सबै जस महन्थ ठाकुर र राजेन्द्र महतोले नै पाउने भए, जुन केपी अ‍ोलीलाई यति गाली गरेको थिए आज उसैले सबै माग पुरा गरिरहेका छन् भनि थाह पाएर उपेन्द्र यादवले व्यक्तिगत पूर्वाग्रही ढंगले त्यसलाई भाँड्न खोज्नु भएको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो, मेरो विचारमा जसपा नेपालले ओली सरकारलाई समर्थन गरेर सरकारमा जानुपर्छ र मधेशको सबै माग पुरा गरेर मधेशी जनताको अधिकार दिलाउनुपर्छ ।’ विभाजनभन्दा पनि बहुमत सिद्ध गरेर ओलीलाई समर्थन गर्नुपर्छ र मधेशको माग पुरा गर्नुपर्छ, यदि अहिले पार्टी विभाजन भयो भने फेरि मधेशको माग कहिले पुरा हुँदैन त्यसैले यही मौका हो, ओलीलाई कसरी हुन्छ समर्थन गरेर मधेशको माग पुराउनुपर्ने उहाँले बताउनुभयो । उपेन्द्र यादवको व्यक्तिगत सोचका कारण पार्टीको यो अवस्था भएका हो, कसैको व्यक्तिगत सोचभन्दा पार्टीको सामूहिक हित, मधेशी जनताको सामूहिक हित केमा हुन्छ त्यसको आधारमा अगाडि बढ्नु नै अहिले उत्तम विकल्प रहेको उहाँले बताउनुभयो । नेता विक्की यादव महन्थ ठाकुर पक्षका हुनुहुन्छ ।

जसपाका अर्का युवा नेता एवं लहान नगरपालिकाका वडा अध्यक्ष राकेश रोशन गुप्ताले दुवैजना अध्यक्षको बीचमा आठ बुँदे सम्झौता भएपछि पार्टीका नेताहरुका खुशीयाली छाएको थियो तर पछिल्लो घटनाक्रमले सबैलाई निराश बनाएको बताउनुभयो । नेताहरुको बीचमा जुन प्रकारको दोहोरी देखिएको छ त्यसको असर तलसम्म गएको छ, तलसम्मका नेता तथा कार्यकर्ताहरु विभाजित भएको बताउँदै नेता गुप्ताले यस्तो अवस्थामा अलग हुनु नै उत्तम हुने बताउनुभयो । यदि दुवै पक्षका नेताहरु आत्मलोचना गर्दै दुईदुई कदम पछाडी हटेर पार्टीलाई मिलाउने प्रयास गर्नुभयो भने एउटा सम्भावना रहनसक्छ तर आआफ्नै अडानमा रहेसम्म यो पार्टी कुनै पनि हालतमा चल्दैन त्यो भन्दा राम्रो अलग हुँदा नै राम्रो हुने उहाँले बताउनुभयो ।

पार्टी नीति र विधिबाट चल्ने चिज तर त्यसलाई कुनै नेताले आफ्नो गोजीबाट चलाउन खोजे भने त्यहाँ समस्या उत्पन्न हुन्छ र जसपामा त्यही भएको उहाँले बताउनुभयो । पार्टी सिद्धान्त, विचार, विधि र सामूहिक निर्णयमा चल्ने हो भने अहिलेको अवस्थामा ओलीलाई समर्थन गर्न मिल्दैन, आलीले चाल्नु भएको कदम र उहाँले मधेशप्रति गरेको व्यवहारबारे पार्टीमा निर्णय भइसकेको छ, तैपनि त्यो निर्णयलाई लत्याउँदै कसैको इच्छा पुरा गर्न पार्टीलाई प्रयोग गर्नुहुँदैन भन्दै उहाँले पार्टीको सिद्धान्तः पनि ओलीको पक्षमा जान नहुने बताउनुभयो ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया